हाम्रा राजा क्या अक्कलदारी...

सय वर्ष पुरानो चुरिया सुरुङको भित्री भागको प्राविधिक अध्ययन र संरक्षणको जिम्मा पुरातत्त्व विभागलाई दिइएको छ
प्रताप विष्ट

हेटौंडा — ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी’मकवानपुर र बाराको सिमाना पर्ने चुरियामाई मन्दिर छेउको सुरुङ दक्षिण एसियाकै पहिलो मान्छेले खनेको सुरुङ भएको भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक ‘नेपाल’ मा उल्लेख गरेका छन् । यो सुरुङ निर्माण भएको करिब सय वर्षभन्दा बढी भएको छ । 

हेटौंडा उपमहानगरपालिका–१५ स्थित मानव निर्मित चुरिया सुरुङको प्रवेशद्वार (माथि) र सुरुङको बाहिरी भागको संरक्षण गर्दै कामदार । तस्बिर : प्रताप/कान्तिपुर

हेटौंडा उपमहानगरपालिकाले सुरुङको बाहिरी भागको संरक्षण गरिरहेको छ । साविक चुरियामाईं गाविस र हाल हेटौंडा उपमहानगरपालिका १५ मा अवस्थित सुरुङ पुरिने अवस्थामा पुगेपछि नगरले बाहिरी भागको संरक्षण गर्न थालेको हो । चुरियामाईं मन्दिर तथा सुरुङ संरक्षण समितिमार्फत संरक्षणको काम भइरहेको छ ।

‘पहिरो गएर ऐतिहासिक सुरुङ पुरिएला भनेर उपमहानगरपालिकाको सहयोगमा संरक्षणको काम गरिरहेका छौं,’ चुरियामाईं मन्दिर तथा सुरुङ संरक्षण समितिका अध्यक्ष प्रेम भोम्जनले भने, ‘सुरुङको भित्री भागको काम पुरातत्त्व विभागले नै गर्ने भएकाले हामीले बाहिरी काम मात्र गरेका हौं ।’ सवारीसाधन आवतजावतका निम्ति दक्षिण एसियामै पहिलो मानव निर्मित चुरिया सुरुङ निर्माण गरिएको थियो । एक दशकभन्दा बढी यो सुरुङ हुँदै साना हलुका सवारीसाधन आवतजावत गरेका थिए ।

सय वर्ष नाघेको सुरुङको संरचना भएकाले भित्री भागको प्राविधिक अध्ययन र संरक्षणको जिम्मा विभागले लिएको छ । उपमहानगरपालिकालाई विभागले पत्र लेखेर सुरुङको भित्री भागको प्राविधीक अध्ययनपश्चात मात्र मर्मतसम्भारको काम गर्ने उल्लेख गरेको छ । जसले सुरुङ निर्माणको डिजाइन गरे उनै इन्जिनियरको चुरियामाई मन्दिर परिसर एवं सुरुङ छेउमा उपमहानगरपालिकाले अर्धकद सालिक राख्ने तयारी गरेको छ ।

नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले सुरुङको डिजाइन गरेका थिए । ‘त्यति बेला सुरुङको डिजाइन गर्ने इन्जिनियरको सम्मानस्वरूप उपमहानगरपालिकाले सालिक राख्न लागेको हो,’ उपमहानगरपालिका मेयर हरिबहादुर महतले भने ।

मानव निर्मित सुरुङको इतिहास हेर्ने हो भने इसापूर्व ३६ मा बनेका इटालीको नेपल्स र पोजोली जोड्ने ४ हजार ८ सय फिट चौडाइ र ३० फिट उचाइको सुरुङलाई लिन सकिन्छ । युरोपमा सुरुङलाई मूलतः खानी उत्खनन् र सामरिक उपयोगमा बढी प्रयोग गरिएको पाइन्छ भने १९ औं शताब्दीको सुरु अवधिमा उपयोग बढी चलेको थियो ।

पथलैया–हेटौंडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छाडेको हो । सडक छेउ सुरुङको मुख माथिबाट माटो झरेर पुरिएको छ । वीरगन्जतर्फबाट आउँदाको सुरुङ प्रवेशद्वार अवस्था भने राम्रै देखिन्छ । १० फिट उचाइ रहेको करिब ७ सय ८५ फिट लामो सुरुङ १ सय २ वर्ष अघि निर्माण गरिएको थियो । सिभिल इन्जिनियर थापाको डिजाइनमा निर्माण गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

सुरुङको निर्माण सन् १९१७ मा गरिएको थियो । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको डिजाइन पनि गरेका थिए । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरण नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएका हुन् ।

सपनामा उनले त्यसै स्थानमा देवी देखेको र पूजाआज गरेर मात्र सुरुङ खन्नु भनेकाले विधिपूर्वक पूजा गरेर सुरुङ खन्ने काम गर्नुको साथै मन्दिर पनि बनाएको भनाइ छ । सुरुङको संरक्षण गर्ने उद्देश्यले उपमहानगरपालिकाले सुरुङको इतिहास, चुरियामाईं मन्दिर स्थापनाको कथा र संरक्षणको डिजाइन तयार पारेको छ ।

दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ भएकाले यसको संरक्षण गरेर विश्वसामु चिनाउन चालू आवदेखि संरक्षण कार्यको सुरुवात गरेको मेयर महतले बताए । बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक निर्माण गर्ने बेला यो सुरुङ निर्माण गरिएको हो । त्यतिबेला यस क्षेत्रका बासिन्दाले गीतै बनाएका थिए । ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी’ भनेर गीत गाउँथे । भीमफेदीबाट काठमाडौं आवतजावत गर्न निर्मित सुरुङले नेपालीको जनजीवनलाई निकै सहज बनाएको थियो ।

‘त्यतिबेला यो सुरुङ नभएको भए भीमफेदीसम्म साना र हलुका सवारीसाधन आवतजावत नै गर्न सक्ने थिएनन्,’ उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भीम तिम्सिनाले भने, ‘यही सुरुङ भएर विश्वविख्यात भूगर्भविद् टोनी हेगनले आफ्नो साना गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौं लगिएको थियो ।’

टोनी हेगनले प्रकाशित गरेको ‘नेपाल’ नामक पुस्तकमा चुरियाको सुरुङबारेमा पनि उल्लेख गरेका छन् । उनी २४ अक्टोबर १९५० का दिन रक्सौल नाका हुँदै वीरगन्ज अमलेखगन्जसम्म सानो रेलमा आएका थिए । अमलेखगन्जबाट सानो जिपमा भीमफेदी आउने क्रममा देखेको मानव निर्मित सुरुङले आफू आठौं आश्चर्यमा परेको उनले पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा उनले लेखेका छन्, ‘भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’

तत्कालीन सडक विभागका चिफ इन्जिनियर दीप्तिजंग थापाद्वारा लिखित पुस्तकका अनुसार चिफ इन्जिनियर डिल्लीजंगले मुलुकमा १२ वटा महत्त्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराएका थिए । चुरिया सुरुङ, हेटौंडा–काठमाडौं रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाजीको दरबार, नेपालको प्रथम कार्यालय डिल्लीबजार चारखाल अड्डा, जनकपुर–जयनगररेलवे निर्माण गुर्नको साथै भूकम्पबाट भत्केको शीतल निवासको पुनर्निर्माणगरेका थिए ।

पूर्व–पश्चिम राजमार्गको पथलैया–हेटौंडा सडक खण्डमा पर्ने चुरिया डाँडामा सडक बनाएपछि सुरुङको प्रयोग बन्द भएको हो । चुरिया डाँडा भएर मालवाहक सवारीसाधन आवतजावत गर्न समस्या भएपछि पछिल्लो चरणमा चुरिया डाँडालाई बक्स कटिङ गरिएको हो । अमलेखगन्जतर्फको सुरुङबाट छिरेपछि रातामाटेतर्फको सुरुङको मुख पुरिएकाले बाहिर निस्कन सकिँदैन । सुरुङ जोखिमयुक्त बन्दै गएकाले हाल पस्न दिइएको छैन ।

सुरुङसँगै निर्माण गरेका चुरियामाईँ मन्दिर विशेषगरी सवारीधनी, चालक, सहचालक र यात्रुको आस्थाको केन्द्रबिन्दु बनेको छ । नयाँ सवारीसाधन चुरियामाईं मन्दिरमा पूजाआज गरेपछि मात्र सञ्चालनमा ल्याउने गरिन्छ । सुरुङनजिक रहेको चुरिया मन्दिरलाई शक्तिपीठकारूपमा लिने गरिन्छ । विशेषगरी विजयादशमीको अष्ठमीका दिन पूजाआज गर्नेको भीड लाग्छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

बालिकालाई बलात्कार गर्ने बालकलाई ७ वर्ष कैद

प्रताप विष्ट

(हेटौंडा) — बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १६ वर्षीय बालकलाई ७ वर्ष कैदको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप उपलब्ध गराउन अदालतले आदेश गरेको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको शुक्रबार बसेको बालइजलाशले मकवानपुरको वकैया गाउँपालिका-१० का १६ वर्षीय बालकलाई १४ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । ‘उमेर पुगेको अर्थात् १८ वर्ष पार गरेको भए दोषीलाई १४ वर्ष कैद हुने थियो’श्रेस्तेदार केशवराज कौशिकले भने, ‘नाबालक भएकाले ७ वर्षमात्र कैद गरेको हो ।’
बालक अहिले बालसुधार गृह हेटौंडामा छन् । उनको उमेर १८ वर्ष पूरा भएपछि बाँकी कैद भुक्तानीका लागि अदालतले कारागार पठाउने छ । उक्त बालकले २०७६ वैशाख ७ गते बालिकालाई बलात्कार गरेका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्