कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाली अनुसन्धान जानकारी मेला

रमेशकुमार पौडेल

चितवन — नियमित वर्षा भइरहे अब रोपाइँ थाल्ने बेला हुँदै छ । धानको बीउ छरेर बेर्ना तयार भइरहेका छन् । छरेको बीउ नउम्रे हानि बेहोर्नुपर्ने हुन्छ । बीउ उम्रन्छ/उम्रँदैन भनेर पहिल्यै जान्न पाए किसानलाई लाभ हुन्छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा यसबारेमा अनुसन्धान भएको पनि छ । विश्वविद्यालय परिसर रामपुरमा शनिबारदेखि सुरु भएको कृषि प्रदर्शनीमा यसका बारेमा जान्न–बुझ्न पाइन्छ ।

विश्वविद्यालयको बाली विज्ञान विभागले गरेको अध्ययनले नुनको घोलमा धान डुबाएर बीउ उम्रन सक्ने वा नसक्ने पत्ता लाग्ने देखाएको छ । ‘पाँच लिटर पानी बराबर एक चम्चा नुन राखेर घोल तयार गर्ने । त्यो घोलामा छर्न खोजेको धानको बीउ राख्ने । घोलमा जुन बीउ उत्रन्छ,’ बाली विज्ञान विभागका प्रमुख सन्तोष मरहट्ठाले भने, ‘त्यसलाई फाल्ने र सर्लक्क डुबेको बीउ मात्र छर्ने गरे उम्रने दर ज्यादै राम्रो हुन्छ ।’ नुनको घोलमा डुबेको धानको बीउ ९५ प्रतिशत उम्रेको पाइएको उनले बताए ।


डुबेको/नडुबेको दुवैखाले बीउ राख्दा ५६ प्रतिशत मात्रै उम्रने गर्दछ । त्यसैले यसरी परीक्षण गरेर बीउ राख्दा किसानलाई धेरै फाइदा हुने उनले बताए । कृषि मेलामा आउने किसानहरूलाई यो कुरा बुझाउन स्टल नै राखिएको छ । पूर्वप्रधानमन्त्री तथा चितवन–३ का सांसद पुष्पकमल दाहालले उद्घाटन गरेको मेला आगामी मंगलबारसम्म चल्ने छ ।


मेलाको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले कृषि विश्वविद्यालय स्थापना भएको लामो समय भए पनि कृषि विकासको क्षेत्रमा सोचेअनुरूप काम हुन नसकेको बताए । ‘देशको अर्थतन्त्रमा राम्रो प्रभाव पार्न कृषिमा फरक ढंगले काम गर्नुपर्ने हुन्छ । त्यसैका लागि यो विश्वविद्यालय बनेको हो,’ उनले भने, ‘तर, यो विश्वविद्यालय र अरूमा केही फरक देखिएन । कर्मचारीले काम गरेर बस्ने मात्रै भयो ।’


कृषि विश्वविद्यालय स्थापना भएको १० वर्ष पुगेको छ । यसैलाई अवसर मानेर मेला आयोजना भएको हो । २०४३ सालसम्म रामपुरमा यस्तो प्रदर्शनी र मेला हुने गरेको थियो । ‘कृषिमा नयाँ प्रविधि र विधि के छ, विश्वविद्यालयले कस्तो अनुसन्धान गरेको छ भन्ने बताउन मेला आयोजना भएको हो,’ विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले भने । मेलामा ५२ वटा स्टल छन् ।


त्यहीमध्येको एउटा स्टलमा सोलार प्यानल मात्रैले चल्ने ‘वाटर पम्प’ राखिएको छ । ९६ हजार रुपैयाँ पर्ने पम्पले घाम लागेका बेलामा मात्रै पानी तान्ने प्रविधि प्रदर्शनीमा छ । १० मिटरसम्म तलबाट तानेको पानीले सामान्य तरिकाले सिँचाइ गर्दा दिनमा ५ कठ्ठा र थोपा सिँचाइ गर्दा एक बिघा जमिन भिजाउँछ । मेलामा किसानलाई उपयोग हुने यस्ता अनेकौं यन्त्र औजार उपकरणहरू छन् ।


‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न के सकिन्छ भन्ने विधि बुझाउन मद्दत गर्ने औजार उपकरणहरू प्रदर्शनीमा छन्,’ विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक नवराज देवकोटाले भने, ‘कृषि कर्जादेखि बाली बिमाका विषयहरू बुझाउन खोजेका छौं । रैथाने बालीको बीउ र परिकारहरू पनि छन् ।’ माटो र बाली बिरुवाको निःशुल्क परीक्षण गर्ने व्यवस्था पनि मेला अवधिभर छ ।


प्रदर्शनीसँगै दिनदिनै कृषिका विभिन्न विषयमा गोष्ठीहरू पनि राखिएका छन् । कृषि वैज्ञानिक, विज्ञ र किसानहरू मेलामा सहभागी छन् । विश्वविद्यालय स्थापनाको दशक हुँदै गर्दा किसानका लागि उपयोगी १० वटा अनुसन्धान पनि पूरा भएका छन् । यी अनुसन्धानका बारेमा पनि किसानलाई जानकारी गराउने विश्वविद्यालयले जनाएको छ ।


विज्ञान प्रदर्शनी

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा नगरस्तरीय शैक्षिक समन्वय समितिले विज्ञान प्रदर्शनी गरेको छ । विद्यार्थीको अगुवाइमा हेटौंडा–२ को सिद्धार्थ मावि परिसरमा प्रदर्शनी गरिएको हो ।


अवलोकनका लागि आएका उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले विद्यार्थीहरूलाई प्रविधिमा दक्ष बनाउनका लागि नगरपालिका सधैँ तत्पर रहेको बताए । माध्यमिक तहका विद्यार्थीहरूले बनाएका शैक्षिक सामग्री प्रदर्शनीमा राखिएको थियो । हेटौंडालाई कसरी स्मार्ट सिटीका रूपमा विकास गर्न सकिन्छ भन्ने विषयमा धेरै विद्यालयका विद्यार्थीले शैक्षिक सामग्रीमा देखाएका थिए ।


प्रदर्शनीमा हेटौंडाका १५ वटा विद्यालयका छात्रछात्राले स्मार्ट सिटी, वायु ऊर्जा र विज्ञानका विभिन्न वस्तु प्रदर्शनीमा राखेका थिए । सिद्धार्थसँगै, प्रगति र आधुनिक राष्ट्रिय मावि लगायतका विद्यार्थीहरूले आफूले बनाएका वस्तुको प्रयोग गरेर देखाएका थिए ।

प्रकाशित : असार १, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?