बोधिचित्त जोगाउन पालो पहरा

डेढ दशकयता बर्सेनि मूल्य बढेको बोधिचित्तले धेरै किसानलाई राम्रो आम्दानी दिएको छ
टीकाप्रसाद भट्ट

सुकाजोर, रामेछाप — बोधिचित्तको एउटा छ्याकर्‍याक्क परेको रूख । रूखभरि स–साना बयरका जस्तै चिचिला दाना । रूखमुनि पाल टाँगेर त्यही दानाको सुरक्षाका लागि युवाहरूको चौबिसै घण्टा पालोपहरा । रामेछाप नगरपालिका–७ सुकाजोरको पालेवन पुग्ने जो कोहीलाई दृश्य नौलो लाग्न सक्छ ।

बोधिचित्त जोगाउन पालो पहरा

यसअघि रूखको सुरक्षामा मान्छे बसेको नदेखेका सुकाजोरकै बासिन्दालाई पनि यो नौलो छ । रूखमा फलेको त्यही चिचिला दाना लाखौंमा खरिद गरेका युवाहरू त्यसलाई अरूले टिप्लान् भनेर सतर्क छन् । चिचिला दाना छिप्पिन अझै एक महिनाभन्दा बढी लाग्छ । त्यतिन्जेलसम्म उनीहरूको सुरक्षा घेरा यस्तै रहन्छ ।


रूखको वरिपरि नौलो कोही पुग्नेबित्तिकै उनीहरू चनाखो हुन्छन् । काभ्रे जिल्लाका ती युवाहरूले फूल खेल्नु अघि नै लाखौं हालेर बोटका दाना किनेका थिए । आफूले किनेका दाना अरूले चोरेर लैजाला भनेर सुरक्षाका लागि उनीहरू सुकाजोर आइपुगेका हुन् । उनीहरूको बास अब दाना टिपेर बोरामा हालुन्जेलसम्म त्यही बोटमुनि नै हुने छ । पालो गरेर खाने–सुत्ने अनि बजार घुम्ने उनीहरूको दिनचर्या छ ।


कति मोलमा दानाको किनबेच भएको हो ? भन्ने प्रश्नमा किन्ने र बिक्री गर्ने दुवै पक्षबाट उत्तर आउँदैन । ‘भन्न मिल्दैन’ दुवै पक्षको तयारी उत्तर हुन्छ । बिक्री गर्नेले यसअघि मूल्यको कुरा सार्वजनिक गर्दा असुरक्षाको महसुस गर्नुपरेकाले केही नखुलाउने बताए । ‘हामीले बेच्यौं, उनीहरूले रूखै किने,’ रूखधनी आफ्नो नाम समेत नछाप्न आग्रह गर्दै भन्छन्, ‘अरूलाई केको खसखस ?’ स्रोतका अनुसार रूखमा रहेका करिब ३० केजी दाना झन्डै ४० लाखमा किनबेच भएको हो । बौद्धमार्गीहरूले मन्त्र जप्दा गन्ने दाना बोधिचित्तको हो ।


बौद्ध ग्रन्थमा बोधिचित्तको दानाबारे उल्लेख भएकाले त्यसको महत्त्व उक्त धर्मावलम्बीहरूलाई अत्यधिक छ । बौद्ध धर्मावलम्बीको बाहुल्य भएको चीनको तिब्बतमा उक्त दानाको बजार भएकाले बर्सेनि व्यापार बढ्दो छ । ‘दाना यति नै मोलमा जान्छ भन्ने टुंगो हुँदैन,’ मझुवाका व्यवसायी हीरा तामाङ भन्छन्, ‘कुनै वर्ष राम्रो मोल आउँछ । कुनै वर्ष बजार खोज्दाखोज्दै थोरैमा पनि बेच्नुपर्छ ।’


सुकाजोरमा मात्र होइन, रामेछापको मझुवा, खनियाँपानी, राकाथुम र बेथान लगायतमा बोधिचित्तको रूख कुर्ने गरिएको छ । कुनैमा युवाहरूको दस्ता छ भने कुनैले रूखवरिपरि तारबार लगाएर नजिकै भोटे कुकुर राखेका छन् । चोर लाग्लान् भनेर रूखधनी राति राम्ररी निदाउँदैनन् । मझुवाका रामबहादुर लामा भन्छन्, ‘पैसा दिने रूखले भोक निद्रा सबै गुमेको छ ।’ मझुवामा धेरैले बोधिचित्तको बोट लगाएका छन् । एउटै रूखबाट १०/२० हजारदेखि ७० लाखसम्म कमाइ गर्ने किसान मझुवामा रहेको नर्सरी व्यवसायी प्रकाश प्रधानले बताए । बोधिचित्तकै नर्सरीबाट उनले आफैं करोडभन्दा बढी कमाइसके ।


रामेछापमा बोधिचित्त लगाउने धेरै किसान छन् । एउटै रूखको दानाबाट वर्षमा लाखौं कमाइ हुन थालेपछि यसको व्यावसायिक खेती विस्तार भएको छ । फाइदा हुने बुझेपछि १० वर्षयता बोधिचित्त लगाउनेहरू सयौंको संख्यामा छन् । बोधिचित्तका बिरुवा रोपेको ४ वर्षदेखि फल दिन सुरु हुन्छ । सुरुका वर्षहरूमा बोधिचित्तका दानाको आकार ठूलो हुन्छ । ठूलो दानाको मोल आउँदैन । जति मसिनो भयो त्यति धेरै मोल आउने व्यवसायी तामाङले बताए ।


एक मुठ्ठीमा १ सय ८ दाना भएको माला अटाउने दाना भयो भने त्यसको मोल झन्डै ५ लाखभन्दा बढी पर्छ । मसिनो दाना फल्नका लागि भने बोट पुरानो र बूढो हुनुपर्छ । ३५ वर्षअघिका बोटहरूले अहिले बहुमूल्य दाना दिइरहेका छन् । केही व्यवसायीले यसैबाट काठमाडौंमा घर बनाउनेदेखि व्यवहार धानेका छन् ।


मझुवाका एक किसानले एउटै रूखको कमाइ ३ करोडभन्दा बढी लिइसकेका छन् । पहिले पहिले बजार थाहा नहुँदा किसानहरूले दाना फालेका, अरूलाई दिएका र हजार/दुई हजारमा बिक्री गर्ने गरेका थिए । १५ वर्षयता बर्सेनि भाउ उकालो लागिरहेको छ ।


हजार मिटरको हाराहारीका सुक्खा पाखामा हुने बोधिचित्तलाई स्याहारसुसार गर्नुपर्दैन । भीरपाखामा हुने उक्त रूख जोगाउन सक्दा मात्रै पनि सजिलै कमाइ हुन्छ । व्यापार राम्रो हुन थालेपछि जिल्ला वन कार्यालय, कृषि विकास र स्थानीय तहले समेत बिरुवामा अनुदान दिएर किसानलाई बोधिचित्त रोप्नका लागि प्रोत्साहित गरिरहेका छन् ।

प्रकाशित : असार १, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?