खानेपानी लिन राति

महांकालकी दुधीमाया चेपाङ ससाना छोराछोरीलाई ओछ्यानमै छाडेर बिहान सबेरै पानी लिन जाने गरेकी छन् ।
प्रताप विष्ट

हेटौडा — बिहान ३ बजे उठेर उनी आँखा मिच्दै गाग्रो बोकेर पानी लिन खोल्सीमा जान्छिन् । त्यतिबेला उठेर जाँदा उनीभन्दा अघि नै पानी लिन खोल्सीमा अरू पनि पुगिसकेका हुन्छन् । 

मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका—८ टोड्केकी महिला कुवाबाट गाग्रीमा पानी बोकेर ल्याउँदै । राक्सिराङ गापा—८ को टोड्के र महांकालमा पानीको समस्या छ । तस्बिर : प्रताप/कान्तिपुर

मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका—८ महांकालकी दुधीमाया चेपाङ ससाना छोराछोरीलाई ओछ्यानमै छाडेर बिहान सबेरै पानी लिन जाने गरेकी छन् । अबेर गयो भने पानी नै सुकिसकेको हुन्छ । एक गाग्री पानी जम्मा हुन कुवामा भन्डै आधा घन्टाभन्दा बढी समय लाग्छ ।

‘रातभरि जम्मा भएको पानी उभाएर ल्याउनका लागि राति नै महिला र पुरुष दुवै गाग्री बोकेर पानी लिन जाने गर्छन्,’ स्थानीयवासी जयबहादुर तितुङले भने, ‘यहाँ त पानीकै समस्या छ ।’ खोल्सीमा रहेको कुवाको पानी ३०, ४० गाग्री पानी उभाएपछि सुकिहाल्छ । ‘कुवामा पानी सुकेपछि विस्तार जम्मा हुँदै आउँछ, त्यही पानी भरेर ल्याउने गरेका छौं,’ दुधीमायाले भनिन्, ‘गाउँमा पानीको समस्या छ ।’ महांकालको खोल्सीमा सानो एउटा कुवा छ, त्यही कुवाको पानीले महाकांल र टोड्केका बासिन्दाले तिर्खा मेट्ने गरेका छन् । वर्षायाममा बलेसीको पानी थापेर खाने गरेका छन् ।

‘वर्षायाम सुरु भएपछि कुवाको पानी लिन जाँदैनौं,’ टोड्केकी सानीमाया थिङले भनिन्, ‘छानाबाट झरेको पानी थाप्छौं ।’ थिङको घरको छानामा जस्तापाता लगाएको छ । उक्त गाउँका अधिकांश घर खरले छाएको छ । त्यही छानाबाट झरेको बलेसीको पानी उनीहरूले प्रयोग गर्छन् ।

टोड्के र महांकालका बासिन्दा एक गाग्री पानी ल्याउन २ घन्टा हिंड्नपर्छ । ‘घरायसी काममा पानी फारो गरेर खर्चिंदा पनि २ गाग्री लाग्छ । स्थानीयवासी तितुङले भने, ‘पानी अभावले गर्दा गर्मीयाममा ‘ड्यु’ खाएर पनि तिर्खा मेट्ने गरेका छौं ।’ गाउँमा आयोजना गरिएका सार्वजनिक कार्यक्रममा पानी छैन, बरु ड्यु पिउनोस् भन्ने गरेका छन् । उक्त बस्तीमा चिसो पेय पदार्थमा ड्यु मात्र पाइन्छ । टोड्के र महाकांलस्थित बस्तीको जमिनको भाग समथर छ तर पानीको हाहाकार छ । ‘महांकाल र टोड्केमा सानो बजेटले पानी ल्याउन सकिंदैन,’ वडाध्यक्ष रामकृष्ण चेपाङले भने, ‘वडा र गाउँपालिकाको बजेटले पनि पानी ल्याउन कठिनाइ छ ।’

पानीको मुहान टाढा छ । ‘संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरिदिएमा पानीको समस्या हल हुने थियो,’ वडाध्यक्ष चेपाङले भने । राक्सिराङ गाउँपालिकाभरिमा पानीको अति समस्या भएको टोड्के र महांकालको बस्ती हो । चेपाङ र तामाङ समुदायको बसोबास रहेका यी दुई बस्तीमा झन्डै ७५ घरधुरी छन् ।

चर्पी पनि 'सिजनल’
उक्त बस्तीका अधिकांश घरमा चर्पी बनाएको छ । यी चर्पी पनि ‘सिजनल’ छन् । सुक्खायाममा पानीको अभावले गर्दा प्रयोगमा आउँदैनन्, वर्षायाममा भने प्रयोगमा आउने गरेका छन् । ‘पानी अभावले गर्दा सुक्खायाममा चर्पी पनि प्रयोगमा आउँदैन,’ स्थानीयवासी धर्म वाइबाले भने, ‘बस्ती समथर भएर के गर्ने पानीकै समस्या छ ।’
पानी अभावले गर्दा यस क्षेत्रका बासिन्दाले पशुपालन पनि गर्न सकेका छैनन् भने अर्कातिर करेसाबारीमा समेत तरकारी लगाएका छैनन् । चितवन भण्डाराको चेपाङ मार्ग हुँदै थाकलटारबाट सिलिङे सिलाधुनी भएर महांकाल र टोड्केसम्म मोटरबाटो भर्खरै पुगेको छ । प्रदेश—३ को सरकारले उक्त गाउँमा पुग्न कृषि सडक बनाएको छ । अहिले जोखिम मोलेर साना सवारीसाधन टोड्केसम्म पुग्न थालेका छन् ।

प्रकाशित : असार २, २०७६ ०७:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाङसाङमा भ्यु टावर प्रस्ताव

कान्तिपुर संवाददाता

धादिङ — पर्वतीय पर्यटन प्रवर्द्धन गर्न धादिङको रुवीभ्यालीस्थित पाङसाङमा भ्यु टावर निर्माण गरिने भएको छ । हिमाल दृश्यावलोकनका ४२ सय मिटर उचाइमा निर्माण हुने भ्यु टावरवाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, गणेश, लाङटाङ र गौरीशंकरलगायत हिमशृंखला नजिकैबाट हेर्न सकिनेछ । 

काठमाडौंबाट धादिङबेंसी हुँदै दुई दिनमा पुग्न सकिने उक्त स्थानमा रसुवाको स्याफ्रुबेसी हुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टरमा काठमाडौंबाट १८ मिनेटमै पुगिने उक्त स्थान पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरूङले बताए । ‘पहिलो चरणको अध्ययनपछि फेरि पनि वस्तुगत अवस्थाको अध्ययन भइरहेको छ,’ उनले भने, ‘तीनै तहको सरकार मिलेर योजना अघि बढाउँदा छिट्टै टावर बनाउन सकिन्छ ।’

भ्यु टावर निर्माण गर्ने योजनाका लागि प्रदेश ३ सरकारले चालु वर्ष ६० लाख विनियोजन गरेको थियो । पर्यटन बोर्ड वा प्रदेश सरकारबीच कसले काम गर्ने भन्ने निर्णय हुनै बाँकी रहेकाले उक्त बजेट कार्यान्वयन हुन पाएको छैन । पाङसाङबाट प्याल्दोर पिक जाने पर्यटकीय पदमार्गमा लागि पनि ५० लाख विनियोजन गरिएको छ । ‘स्थानीय तहसँग मिलेर हामी आफैं निर्माण गर्ने पक्षमा छौं,’ पर्यटन बोर्डका सदस्य दीपक महतले भने ।

नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकाले पर्वतीय पर्यटनको विकासलाई संघीय सरकारले प्राथमिकतामा राखेर थप अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार निर्माण र प्रवर्द्धनको काम एकसाथ अगाडि बढाउन अध्ययनको तयारी गरेको हो ।

पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ति उत्पादनदेखि विदेशी विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने ‘माउन्टेन हब’ निर्माण गर्दा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थान छनोट गर्न लागिएको सम्भाव्यता अध्ययन गर्न पाङसाङ पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताए । ‘सरकारले चाहेजस्तो पर्याप्त पूर्वाधार निर्माण गर्न उपयुक्त ठाउँ काठमाडौंबाट सबैभन्दा नजिक दूरीको रुवीभ्याली हो,’ उनले भने, ‘यहाँको गणेश हिमशृंखलाअन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासमा अधिक सम्भावना छ ।’

पाल्दोर आधार शिविर र पाङसाङ पासमा राष्ट्रिय योजना आयोगका पदाधिकारीले स्थलगत अवलोकन गरेका हुन् । आयोग उपाध्यक्ष कँडेल नेतृत्व टोलीले स्थलगत अवलोकन गरेको हो । अध्ययन भ्रमणमा आयोग सदस्य रामकुमार फुयाल, धादिङ क्षेत्र २ का सांसद खेमप्रसाद लोहनी र पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङलगायत थिए ।

पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालले यसअघि पाल्दोर पिकमा विभिन्न दातृ निकायसँग मिलेर प्रारम्भिक अध्ययन गरिसकेका छन् । उक्त अध्ययनपछि नै सांसद लोहनी र संघको मागमा सरकारले बजेट विनियोजन गरेको छ ।

प्रकाशित : असार २, २०७६ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT