२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गर्मी बढेपछि चितवनका ६ स्थानीय तहमा तीन दिन स्कुल बिदा

रमेशकुमार पौडेल

चितवन — गर्मी बढेसँगै चितवनका सातमध्ये ६ वटा स्थानीय तहले तीन दिन स्कुल विदा गरेका छन् । भरतपुर महानगरपालिकासहित राप्ती, खैरहनी, कालिका, रत्ननगर र माडी नगरपालिकामा सोमबारदेखि बुधबारसम्म सबै स्कुलहरु बन्द हुने छन् । 

गर्मी बढेपछि चितवनका ६ स्थानीय तहमा तीन दिन स्कुल बिदा

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना पहाडी क्षेत्रमा पर्ने भएका कारण गर्मी विदा भएको छैन ।


गाउँपालिका अध्यक्ष गीता गुरुङ पहाडी क्षेत्र भएका कारण गर्मीको चर्को समस्या नभएको हुँदा इच्छाकामाना गाउँपालिकाले विद्यालय बन्द नगरेको बताउँछिन् । जिल्लाको मैदानी क्षेत्रमा भने जेठको अन्तिमदेखि चर्को गर्मी सुरु भएको थियो । गर्मी अत्याधिक बढेका कारण वर्षे विदाबाट कटौती हुने गरेर महानगरभित्रका विद्यालयमा तीन दिन विदा दिएको भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताए ।


स्कुल विदाको घोषणा भएसँगै आइतबार दिउँसो चितवनमा पानी परेको थियो । ‘पानी पर्दा शितल भए पनि पानी रोकिएपछि गर्मी हुने नै गरेको छ । यस्तो बेलामा स्कुल चलाउँदा बालबालिकालाई असर पर्न सक्छ । विदा घोषणा भएपछि पानी त आयो तर गर्मी उस्तै छ । त्यसैले विदा कायमै छ’ रत्ननगर नगरपालिकाका मेयर नारायण वनले भने ।


गर्मी नघटेमा तीन दिनपछि पनि विदा बढ्न सक्ने मेयर वनले बताए । गर्मीले सवैभन्दा बढी माडी क्षेत्र प्रताडित हुने गरेको छ । माडीमा पनि सोमबारदेखि तीन दिन विद्यालय बिदा भएको उमपेयर ताराकाजी महतोले बताइन् । गर्मी विदाका कारण माडीमा असार १२ गतेबाट हुने पहिलो त्रमासिक परीक्षा १५ गतेबाट सुरु हुने नगरस्तरीय परीक्षा समितिका सचिव रामप्रसाद भण्डारीले बताए ।


राप्ती र कालिका नगरपालिकाकका केही वडा पहाडी क्षेत्रहरुमा पनि पर्दछन् । तर नगरपालिकाको सवै क्षेत्रमा गर्मी विदा दिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताइन् । चितवनमा पछिल्ला दिनहरुमा तापक्रम ३८ डिग्रीको हाराहारीमा पुग्ने गरेका कारण विद्यार्थीलाई असर गरेको थियो । अचेल चितवनका अधिकांश विद्यालयमा दिउँसो नै पढाइ हुने गरेको छ ।

प्रकाशित : असार २, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?