नागरिकता बनाउँदै, उपचार गराउँदै

टीकाप्रसाद भट्ट

रामेछाप — छोरीको नागरिकता बनाउन आएका मन्थली नगरपालिका–२, कठजोरका लालबहादुर जोगी सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयको बैठक कोठामा राखिएको उपचार शैय्यामा लमतन्न सुते ।

नागरिकता बनाउँदै, उपचार गराउँदै

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहिलाई निःशूल्क स्वास्थ्योपचार सेवा सुरु गरेपछि जोगीले अस्पतालमा धाएर पाउने सेवा त्यही पाए । उनी उच्चरक्तचापको बिरामी हुन् । नियमित औषधि खाँदै आएपनि उनको व्यथा कम भएको थिएन । चिकित्सकले औषधि फेर्न सल्लाह दिए ।

‘एकातिर नागरिकता बन्दै थियो, अर्को तिर स्वास्थ्य उपचार हुँदै थियो,’ जोगी भन्छन्, ‘पहिले सिडियो कार्यालयमा पुग्दा डरले आङ ढक्क फुल्थ्यो । हुदाँ हुदाँ यस्तो सुविधा पनि पाइन थालियो । उनले सिडियो कार्यालयमा भएका अन्य सेवाले पनि आनन्द मिलेको प्रतिक्रिया दिए । उक्त कार्यालयमा सेवाग्राहिको लागि फिल्टरको पानी, मनोरञ्जनका लागि टेलिभिजन, सित्तल छहारीमा प्रतिक्षालय, स्तनपान कक्ष, महिलालाई स्यानेटरी प्याडसहितको शौचालय, अपांगमैत्रि शौचालय लगाएतका सुविधा छ ।


संविधानमा नागरिकलाई निशूल्क स्वास्थ्य सेवाको प्रत्याभुति गरेपनि धेरैले निशूल्क स्वास्थ्य सुविधा लिन पाएका छैनन । ‘कतै निशूल्क स्वास्थ्य सेवाको बारेमा जानकारी छैन भने कयौंले जानकारी भएर पनि सेवा लिन पाइरहेका छैनन्,’ प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले भनिन्, ‘कम्तिमा हाम्रोमा सेवा लिन आउनेले स्वास्थ्य सेवाको उपयोग गर्न पाउन भनेर अभियान संचालन गरिएको हो ।’

अब हरेक सोमबार जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई निःशूल्क स्वास्थ्य परिक्षण गरी औषधि वितरण हुने केसीले बताइन् । तामााकोशी अस्पतालले उक्त शिविरमा चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउने छ भने मन्थली नगरपालिकाले औषधि उपलब्ध गराउने छ । नागरिकता, राहदानी र अन्य कामको लागि उक्त कार्यालयमा दैनिक सरदर २ सय सेवाग्राहि आउने गर्छन् । महिनामा ४ दिन सेवा संचालन गर्दा ८ सय र वर्षमा करिव १ लाख नागरिकले जिल्ला प्रशासन कार्यालयबाटै स्वास्थ्य सुविधा पाउने लक्ष्य राखिएको छ ।

नेपालका ७७ जिल्ला मध्ये रामेछाप प्रशासनले आफ्नै कार्यालयमा स्वास्थ्य शिविर राखेर रचनात्मक सेवाको सुरुवात गरेकोमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमवहादुर खड्काले प्रशंसा गरे । शिविरको शुभारम्भ गर्दै खड्काले भने– ‘नागरिकता बनुन्जेल रोग परिक्षण र औषधि समेत मिल्ने कुराले सर्वसाधारणलाई अस्पताल धाउने झन्झटबाट मुक्ति मिल्ने छ ।’


मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले नागरिकको स्वास्थ्य सुविधा पाउने संवैधानिक हक सहज ढंगले प्रदान गर्न स्थानीय सरकार निरन्तर क्रियासिल भएको बताए । उनले प्रशासनमै सेवा पाउने भएपछि जिल्लाका सबै नागरिकले लाभ पाउने भएकोले औषधि लगाएतको व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने वचन दिए ।


तामाकोशी सहकारी अस्पतालका निर्देशक गोविन्दप्रसाद घिमिरेले प्रशासनको स्वास्थ्य शिविरमा अस्पतालले चिकित्सक लगाएका स्वास्थ्यकर्मी उपलव्ध गराउने बताए । तामाकोशी अस्पताल मन्थलीका चिकित्सक सज्जन केसीको नेतृत्वमा पुगेको स्वास्थ्यकर्मीको टोलीबाट सोमबार जिल्लाका विभिन्न भागबाट नागरिकता र पासपोर्ट बनाउनका लागि पुगेका सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका थिए ।


प्रकाशित : असार २, २०७६ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?