१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नगर प्रमुखमाथि आक्रमण

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकमा भुक्तानीसम्बन्धी विवादमा कार्यपालिकाका केही सदस्यले नगर प्रमुख रमेशकुमार बस्नेतमाथि आक्रमण गरेका छन् । 

कार्यपालिकाका ४ सदस्यले चिया गिलास, टेबल नेमप्लेट र पानीको बोतलले प्रहार गर्दा नगर प्रमुख बस्नेतको निधार नजिक चोट लागेको छ । कार्यपालिकाकै केही सदस्यले आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिएपछि झडपले उग्र रूप लिन पाएन ।


बस्नेतका अनुसार बैठकमा रहेका कार्यपालिकाका सदस्य उद्धव रम्तेल र श्रीबहादुर माझी, वडा अध्यक्षहरु रामबहादुर कार्की र कृष्णहरि अधिकारीले आक्रमण गरेका थिए । ‘उनीहरुले को प्रति प्रहार गरेका हुन् र योजना के थियो थाहा भएन,’ बस्नेतले भने, ‘एक्कासि जे भेट्यो त्यसले हान्न थालेपछि स्थिति तनावग्रस्त भयो ।’


गत वर्ष वडा नम्बर ५ सुनारपानीमा भएको निर्माण कार्यको पैसा भुक्तानी नभएको भन्दै केही महिनाअघिदेखि कार्यपालिकाको बैठकमा विवाद हुँदै आएको थियो । सुनारपानीका वडा अध्यक्ष कार्कीले नगरपालिकाले तोकेको समयमा उपभोक्ता समिति गठन नगरेको, उपभोक्ता समितिका पदाधिकारीले योजना सञ्चालनका लागि नगरकार्यपालिकासँग सम्झौता नगरेकोले कामको भुक्तानी गर्न कठिनाइ भएको प्रमुख प्रशासकीय अधिकारी टेककुमार रेग्मीले जनाएका थिए ।


विवाद बढेपछि नगरपालिकाले गठन गरेको अनुगमन टोलीले विभिन्न ७ वटा योजना सञ्चालन भएकाले विधि र प्रक्रिया पूरा गरेको अवस्थामा भुक्तानी दिनुपर्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो । तर गत वर्षको कामको चालू आर्थिक वर्षमा भुक्तानी दिन विधि र प्रक्रिया दुवै बाधक भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतले त्यस्तो काम आफूले नगर्ने बताएपछि कार्यपालिकाका बैठकमा विवाद चुलिएको हो ।


कार्यपालिकाको २२ औं बैठकले नियमअनुसार अनुगमन टोलीले दिएको प्रतिवेदनका आधारमा भुक्तानी गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको बैठकले निर्णय गरे पनि भुक्तानी नभएको भन्दै रम्तेल रेग्मीमाथि खनिएका थिए । रम्तेल र रेग्मीबिच बैठकमा चर्काचर्की भएको बेला रेग्मीले कार्यपालिकाका सदस्यलाई तिमीहरुले जस्तो निर्णय गरे पनि कानुनअनुसार भएन भने म कार्यान्वयन गर्न सक्दिनँ भन्दै टेबल ठोकेपछि सदस्यहरु बढी उत्तेजित भएका हुन् । आक्रमण रेग्मीमाथि भएको तर नजिकै रहेका नगर प्रमुखलाई लागेको केही सदस्यले जनाएका छन् ।


घटनापछि नगरप्रमुख बस्नेत र प्रमुख प्रशासकीय अधिकृत रेग्मीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा घटनाप्रति भर्त्सना गरिएको छ । नगर प्रमुख बस्नेतले मन्थली नगरपालिकामा विधिको शासन कायम गराउनका लागि संघर्ष चलिरहेको बताउँदै विधि नमान्नेहरुको आक्रमणमा परेको गुनासो गरेका थिए ।



प्रकाशित : असार ३, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?