१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेशले घटायो विशेष अनुदान

काममा खासै प्रगति नदेखिएपछि विशेष अनुदान घटाएको मन्त्रालयले जनाएको छ
सुवास बिडारी

(मकवानपुर) — प्रदेश ३ सरकारले विभिन्न स्थानीय तहलाई उपलब्ध गराउँदै आएको विशेष अनुदानको रकम घटाएको छ  । चालू आर्थिक वर्षमा ६५ करोड रुपैयाँ विशेष अनुदानको व्यवस्था गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा २५ करोड रुपैयाँ विशेष अनुदान घटाएर ४० करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको हो  ।

प्रदेश सरकारले स्थानीय तहलाई चालू आर्थिक वर्षमा उपलब्ध गराएको विशेष अनुदानको काममा खासै प्रगति नदेखिएपछि घटाएको मन्त्रालयले जनाएको छ । प्रदेश ३ सरकारले चालू आर्थिक वर्षमा १३ वटा स्थानीय तहलाई विशेष अनुदान उपलब्ध गराएको थियो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले अन्तरस्थानीय तहको सन्तुलित विकास गर्ने उद्देश्यले आर्थिक एवं सामाजिक रूपले पछाडी परेका एवं मानव विकास सूचकांकमा कमजोर स्थानीय तहलाई प्रतिजिल्ला एक स्थानीय तहका हिसाबले प्रदेश सरकारले विशेष अनुदान रकम उपलब्ध गराएको हो ।


प्रदेश सरकारले चालू आर्थिक वर्षमा ६५ करोड रुपैयाँ रकम उपलब्ध गराएको छ । ‘प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको रकम किस्ताबन्दी रूपमा पठाइरहेका छौं । योजना छनोट गरेर काम गरेसँगै कार्यप्रगतिका आधारमा रकम पठाइरहेका छौं,’ आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव घनश्याम पन्थीले बताए । उनका अनुसार विशेष अनुदान वितरणका लागि प्रदेश सरकारले कार्यविधि नै निर्माण गरेको छ । चालू आर्थिक वर्षमा दोलखाको कालिञ्चोक गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल, रसुवाको नौकुण्ठ गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाउँपालिका, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले विशेष अनुदान पाउने छन् ।


रामेछापको दोरम्बा गाउँपालिका, सिन्धुलीको घ्याङलेख गाउँपालिका, धादिङको रुबी भ्याली गाउँपालिका, नुवाकोटको दुप्चेश्वर गाउँपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका र मकवानपुरको राक्सिराङ गाउँपालिकाले विशेष अनुदान स्वरूप ५ करोड पाउने छन् ।हालसम्म सबै गाउँपालिकाले २ करोड ५० लाख रुपैयाँ बराबरको रकम निकासा भइसकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरि उपाध्यायले जनाए । उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको आग्रहमा पहिलो किस्ताबापतको रकम करिब ३२ करोड ५० लाख रुपैयाँ अनुदान गाउँपालिकालाई पठाइसकिएको छ । ‘आर्थिक मामिला मन्त्रालयको आग्रहअनुसार हामीले सम्बन्धित गाउँपालिकाको खातामा रकम जम्मा गरेका छौं,’ उनले भने ।

प्रकाशित : असार ४, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?