चिनोको खीर र फापरको मःम

(चितवन) — फापरको रोटीको स्वादसँग धेरै परिचित छन् । रोटी मात्रै हैन फापरको पिठोबाट बनेको केक र मःम पनि मिठै हुने रहेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेला हेर्न जानेहरूले यो नौलो स्वादसँग परिचित हुने अवसर पाए ।

चिनोको खीर र फापरको मःम

मंगलबार सकिएको चारदिने मेलामा फापरको मःम बनाउनेहरूलाई भ्याईनभ्याई थियो । भरतपुरमा रहेको कृषि ज्ञान केन्द्र चितवन रैथाने बालीको प्रवर्द्धनमा लागेको छ । मेलामा ज्ञान केन्द्रले राखेका स्टलमा यस्ता परिकार बिक्री भए । ‘हामीले फापरको केक र मःमका साथै चिनोको खिर पनि राम्रै बिक्री गर्‍यौं,’ ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले भने । फापरको ढिडो र रोटी खाने चलन छ । बजारमा मःम र केक बढी खपत हुन्छ । फापरबाट यी परिकार पनि बन्छन् भन्ने सन्देश दिन खोजेको पौडेलले बताए । ‘नौलो परिकार बनाउँदा खपत बढ्न सक्छ । रैथाने बालीको प्रवर्द्धन हुन्छ भनेर यस्तो सोच बनाएका हौं,’ पौडेलले भने । चिनो भन्ने अन्नको कोदोको जस्तो दाना हुन्छ तर रंग सेतो हुन्छ । यसलाई पनि पिसेर रोटी खाने चलन छ ।


‘तर हामीले खिर बनाएर मेला हेर्न आएकाहरूलाई चखायौं । सबैको प्रतिक्रिया सकारात्मक रह्यो,’ पौडेलले भने । ज्ञान केन्द्रले परिकार बनाउन १५ जनालाई तालिम दिएको थियो । होटल र होमस्टे सञ्चालकहरू, रैथाने बाली उत्पादनमा लागेका कृषक तथा समूहका सदस्यले तालिम लिएका थिए । ‘तीन दिन तालिम लिएर मःमलगायतका परिकार बनाउन सिकेका हौं,’ माडीकी नम्रता भण्डारीले भनिन् । फापरको मोमो धेरैले रुचाए । महोत्सवको सुरुको दिन आठ किलो पिठोको मोमो बनाएको भण्डारीले बताइन् । अन्तिम दिन १० किलो पिठोको मोमो बनाउनुपर्‍यो । फापरको केक, चिनोको र कागुनोको खिर पनि मेला हेर्न आउनेहरूले मन पराएको उनले बताइन् । जौको सातु सेवन गर्ने पनि प्रशस्तै थिए । जौलाई अचेल पूजा आजामा तिलमा मिसाउनबाहेक अरू उद्देश्यले प्रयोग गर्ने चलन हराउँदै गएको छ । चितवन र मकपानपुर क्षेत्रमा कोदो फापर जस्ता रैथाने बालीको उत्पादन राम्रो छ । ‘जुनेलो, चिनो, कागुनो, लट्टे पनि उत्पादन हुन्छ । तर फापर र कोदोको ढिडो र रोटीबाहेक अरू परिकार नबन्दा खाने चलन हराउँदै गएको छ,’ ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले सुनाए ।


‘परिकार बनाएर प्रवर्द्धन गर्नुका साथै उन्नत बिउविजन वितरण गर्न, उत्पादनका लागि हाते ट्र्याक्टर दिन, चुट्ने बेला हुने अप्ठ्यारो हटाउन औजार दिने तयारी ज्ञान केन्द्रको छ,’ माधव पौडेलले भने । कोदो चुट्न गाह्रो हुने गरेको छ । यसलाई सजिलो बनाउन सकिने उनले बताए । चितवन र मकवानपुरमा १२ थरी रैथाने प्रजाति पहिचान गरेर त्यसको संरक्षण र प्रवर्द्धन सुरु गरेको अधिकृत पौडेलको भनाइ छ । ‘यी रैथाने बालीहरू पोषणका हिसाबले पनि राम्रा छन् । यी बालीमा आइरन, प्रोटिन, कार्बोहाइड्रेडको मात्रा राम्रो पाइन्छ । तर यी बालीहरू लोप हुने अवस्थामा छन्,’ पौडेलले भने । चितवनमा फापर र मकवानपुरमा कोदोको राम्रो उत्पादन हुने गरेको उनले बताए । विविध खाले परिकार बनाउन सके अरू रैथाने बालीको उत्पादन पनि फस्टाउने अवस्था रहेको अधिकृत पौडेलले भने ।

रमेशकुमार पौडेल

प्रकाशित : असार ४, २०७६ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?