कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिन्धुलीमा पहिलो स्तनपान कक्ष

सुजता लामा

सिन्धुलीमाढी — यहाँको जिल्ला प्रशासन कार्यालयमा मरिण गाउँपालिका १ की सुकमाया तामाङ आफ्नी डेड वर्षीया छोरीलाई दुध चुसाउँदै थिइन् । उनी नागरिकता बनाउन प्रशासन कार्यालयमा आइपुगेकी थिइन् ।

छोरीलाई लिएर जिल्ला प्रशासन आइपुगेकी उनलाई स्तनपान कक्षले भने सजिलो बनायो । स्तनपान कक्षमा उनले आफ्नी छोरीलाई दुध चुसाइन् । ‘लाइन बसिरहेका थियौं । मसँगै बहिनी पनि आएकी थिई ।


छोरीलाई मैले र बहिनीले पालैपालो बोकिरहेका थियौं,’ उनले भनिन्, ‘नानी रुन थाली । लाइन बसेको ठाउँमा त्यही पनि यस्तो मान्छेहरूको भीडमा कसरी नानीलाई दुध खुवाऔंजस्तो लागेको थियो । बहिनीले दिदी यहाँ स्तनपान कक्ष पनि रहेछ नि भनी । त्यसपछि यहाँ आएँ ।’


स्तनपान कक्षमा बसेर दुध खुवाउन सहज भएको उनले बताइन् । मरिण गाउँपालिका १ कै रोश्नी मगर भने आफ्नो छोरीलाई सुताइरहेकी थिइन् । दुध चुसाएर छोरी निदाएपछि उनी पनि पंखाको शीतलमा बसेर आराम गर्दै थिइन् । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा आइपुगेकी उनलाई पनि स्तनपान कक्षले सजिलो बनायो । पहिलो पटक जिल्ला प्रशासन कार्यालयमा आएको बताउने उनले महिला र बालबालिकालाई लक्षित गरी स्तनपान कक्षको व्यवस्था गरेकोमा आफूलाई राम्रो लागेको प्रतिक्रिया दिइन् ।


जिल्लामै पहिलो पटक जिल्ला प्रशासन कार्यालयले जेठ ५ गतेबाट स्तनपान कक्षको व्यवस्था गरेको हो । भाडाको घरबाट सेवा प्रवाह गरिरहेको जिल्ला प्रशासन कार्यालय आफ्नै नयाँ भवनमा सरेसँगै स्तनपान कक्ष सञ्चालन गरेको हो । बच्चा लिएर आउने आमालाई सहज होस् भनेर स्तनपान कक्षको स्थापना गरिएको सहायक प्रजिअ विजया प्रसाईंले बताइन् ।


सेवा प्रवाह गर्ने संस्थाहरू सेवाग्राहीमैत्री हुनुपर्ने नेपाल सरकारको नीति नै भएकाले सोहीअनुसार बच्चा लिएर आउने सेवाग्राही आमाका समस्यालाई मध्यनजर गरेर स्तनपान कक्ष स्थापना गरेको उनले भनिन् । स्तनपान कक्षमा कार्पेट, म्याट्रिक्स, सोफा र पंखा छन् ।


स्तनपान कक्षलाई बालमैत्री बनाउन जिल्लास्थित विभिन्न सरोकारवाला संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको उनले बताइन् । प्रशासनले बालबालिकालाई बसौँ बसौँ लाग्ने कक्ष बनाउनका लागि खेलौना, आरामदायी म्याट्रिक्स, चित्रहरूलगायतका न्यूनतम पूर्वाधारको व्यवस्था गर्ने बताएको छ । स्तनपान कक्षमा दैनिक ५/६ जना आमा र बच्चाले सेवा लिएको उनले बताइन् ।

प्रकाशित : असार ५, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?