३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विषाक्त खानाले २ सय बिरामी

अनिश तिवारी

सिन्धुपाल्चोक — बलेफी गाउँपालिका वडा ५ मुलाबारी गाउँको बिहेको विषाक्त खानाबाट सुरु भएको झाडापखाला महामारीका रूपमा फैलिएको छ । सरकारी र निजी क्लिनिक गरी रिंगटा र वान्ताको लक्षण देखिने झाडापखालाका बिरामीको संख्या अहिलेसम्म झन्डै दुई सय पुगिसकेको छ । 

स्थानीय गोपी भुजेलकी छोरीको विवाह भोज खाएपछि एक्कासि गाउँभरका ६० भन्दा बढी बिरामी भएका थिए । बलेफी–५ को मुलाबारी, खड्का टोल, तल्लो गाउँसम्मका प्रभावितलाई गाउँमै उपचार गर्न जलविरे र खाडीचौर, चौताराबाट ७ चिकित्सक पुगेपछि महामारी केही नियन्त्रणमा आएको थियो ।


‘झाडापखालाका बिरामी दिनहुँ आइरहेका छन्, सबैमा लक्षण एउटै देखिएको छ,’ बलेफीको खाडीचौर बजारस्थित सञ्जीवनी पोली क्लिनिकका स्वास्थ्यकर्मी रेसम कार्कीले भने । हालसम्म ७० जना झाडापखालाको बिरामी आइसकेका र सबैमा बिरामीको कारण विषाक्त खानपान देखिएको उनले सुनाए ।


एउटै बेडमा दुई जनासम्म राखेर उपचार गराइरहेको बताउँदै उनले सबै बलेफी क्षेत्रका बिरामी रहेको जनाए । ‘केही उपचारपछि फर्किसकेका छन्, ’ उनले भने ।


जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाका अनुसार बिरामीको संख्या बढेको पाइएपछि यसमाथि अनुसन्धान थालिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, खानेपानी तथा सरसरफाइसहित जिल्ला स्वास्थ्य, प्रहरीको टिमले यसबारे बैठक बसेको उनले बताइन् ।


‘सुरुवाती र पछिल्ला क्रमिक बिरामीले खाएको पानी, खानपानको परीक्षणमा ‘फुड प्वाइजन’ देखिँदै आएको छ, त्यहाँका दूषित पानीदेखि अन्य नमुना संकलन पदार्थ परीक्षणका लागि राजधानी पठाइएको छ,’ उनले भनिन् । सुरुवातीमा तीन गम्भीर बिरामी भए पनि पछिल्लो दिनमा झाडापखालाका सामान्य बिरामी आएको उनको कथन छ ।


जिल्लाभर यस्तो समस्या आउन सक्ने भएकाले स्वास्थ्यकर्मीलाई जनचेतना फैलाउन सूचना दिइएको उनको भनाइ छ । ग्रामीण भेगमा महामारी फैलिने डर भएकाले यसबारे सूचना दिन जरुरी भएको उनले प्रस्ट्याइन् । ‘प्रायः सबै उपचार फर्किसकेको सूचना देखिएको छ,’ उनले भने ।


दूषित पानीले बिरामी

खानेपानी तथा सरसफाइको विशेषज्ञ टोलीको स्थलगत अध्ययनले दूषित कुवाको पानी खाएका कारण महामारी फैलिएको निर्क्यौल निकालेको छ । ‘वर्षात्पछिको भेल सिधै कुवामा पसेको छ , त्यही पानीको सेवनले यस्तो महामारी फैलिएको प्रारम्भिक अध्ययनले देखाएको छ,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लोक चौलागाईंले भने । बलेफीका वडाध्यक्षसहित जनप्रतिनिधि, प्राविधिक, विशेषज्ञको समूहले स्थलगत अनुगमन गरेको थियो ।


दूषित पानीका कारण प्रस्ट देखिएपछि पानी शुद्धीकरणको जनचेतना जगाउँदै खानेपानी प्रयोग गर्नुअघि विभिन्न चेतनामूलक अभियान गर्न थालिएको उनले सुनाए । ‘खास के कारण हो, त्यो नमुना संकलनको विशेष परीक्षणको ‘रिजल्ट’ आएपछि थाहा हुने छ,’ उनले भने ।

प्रकाशित : असार ५, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?