कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अंग्रेजी माध्यम भन्दै रकम असुल्दै

काभ्रे — जिल्लाका सामुदायिक विद्यालयले अंग्रेजी माध्ययबाट पठनपाठन गर्ने भन्दै विद्यार्थीबाट रकम असुल्ने गरेका छन् । पर्याप्त दरबन्दी र सरकारी अनुदान भएका विद्यालयले पनि निम्न आय भएका विद्यार्थीबाट भर्ना र मासिक शुल्क लिने थालेका हुन् । 

जिल्लाको विकट मानिने खानीखोला–५ मा रहेको जनविकास माविले विद्यार्थीबाट सहयोगको नाममा भर्ना शुल्क र अंग्रेजी माध्यममा पढाउने भन्दै ५ कक्षासम्मका विद्यार्थीबाट मासिक शुल्क लिने गरेको छ । करिब ६ सय ५० विद्यार्थी अध्ययनरत विद्यालयले कक्षा १ बाट १ सय, २ बाट १ सय ५०, ३ बाट २ सय, ४ बाट २ सय ५० र कक्षा ५ बाट ३ सय ५० रुपैयाँ मासिक शुल्क लिने गरेका हुन् ।


१२ कक्षासम्म चलेको विद्यालयमा १६ जना दरबन्दीमा नै शिक्षक कार्यरत छन् तर निजी स्रोत र परिचरको तलबका लागि भन्दै विद्यालयले अभिभावकलाई भार पारेको हो । खानीखोला गाउँपालिकाले पनि शिक्षक तलबका लागि वार्षिक २ लाख रकम उपलब्ध गराउँदै आएको छ । प्रधानाध्यापक देशबहादुर वाइबाले अभिभावककै अनुरोधमा अंग्रेजी माध्ययम सुरु गरिएको दाबी गरे ।


‘निजी विद्यालयमा पढाउँदा झन् महँगो पर्छ, अभिभावककै चाहनाअनुसार मासिक शुल्क लिएर सुरु गरेका हौं,’ वाइबाले भने, ‘लगानी नगरी अभिभावकलाई पनि अपनत्व नहुने रहेछ, तिर्न नसक्नेलाई छुट दिने गरेका छौं ।’ विद्यार्थीबाट उठेको रकम शिक्षकलाई थपिदिने गरेको छ । दरबन्दी पर्याप्त रहेको र पछिल्लो समय गाउँपालिकाबाट अनुदान पनि आउन थालेकोले अर्को वर्षबाट मासिक शुल्क नउठाउने उनले बताए ।


‘अंग्रेजी माध्यमको पठनपाठन र शुल्क लिन पनि बन्द गर्ने सोच बनाएका छौं,’ वाइबाले भने । बनेपा–४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले पनि विद्यार्थीसँग मासिक शुल्क लिने गरेको छ । विद्यालयले सञ्चालनमा ल्याएको बस, कर्मचारी, कुचिकार र मसलन्द खर्च व्यवस्थापनका लागि मासिक शुल्क लिने गरेको प्रधानाध्यापक राजेन्द्र बज्राचार्यले स्विकारे ।


‘दरबन्दी त छ तर मल्टिमिडिया कक्षा, कम्प्युटर ल्याब, गाडी र अन्य कर्मचारीको व्यवस्थापन गर्नुपर्छ,’ बज्राचार्यले भने, ‘मासिक शुल्क लिनु हाम्रो रहर हैन, सरकारले सबै व्यवस्थापन गरिदिन्छ भने हामी शुल्क लिँदैनौं ।’ बज्राचार्यका अनुसार, माविमा ७, निमाविमा ४ र प्राविमा ७ शिक्षक दरबन्दीमा कार्यरत छन् । सहयोगी कार्यकर्तासहित २ जना निजी स्रोतमा कार्यरत छन् ।


जिल्ला शिक्षा समितिका सभापतिसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले कुनै पनि बहानामा शुल्क लिन नमिल्ने बताए । ‘विभिन्न शीर्षकमा लिने गरेका रहेछन् तर त्यो मिल्दैन,’ केसीले भने, ‘विषय जानकारीमा आएकाले आवश्यक कारबाही अघि बढाउँछौं ।’


विकास बजेट कटाएर शिक्षकलाई तलब

जिल्लाको विकट मानिने खानीखोला गाउँपालिकाले विकास बजेट कटाएर शिक्षकलाई तलब खुवाउने गरेको छ । विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी कम भएको कारण देखाउँदै गाउँपालिकाले शिक्षक तलबका लागि ६४ लाख खर्च गरेको हो । महालेखा परीक्षकको प्रतिवेदनमा उक्त खर्च बेरुजु देखिएको छ ।


‘दरबन्दी कम छ, निजी स्रोतमा रहेका शिक्षकलाई तलब नखुवाए विद्यालय चल्ने अवस्था छैन,’ गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले भने, ‘ससर्त अनुदानबाट आएको बजेटबाट तलब खुवायौं, महालेखाले बेरुजु देखायो ।’ चालू आर्थिक वर्षमा पनि शिक्षकलाई तलब खुवाउन विद्यालय अनुदान शीर्षकमा ७९ लाख विनियोजन गरेको गोलेले जानकारी दिए ।


निजी स्रोतमा कार्यरत प्रावि तहका शिक्षकलाई ६ हजार, निमावि तहलाई ९ हजार र माध्यमिक तहका शिक्षकलाई १३ हजार तलब उपलब्ध गराउँदै आएको छ । दरबन्दी मिलान भएका कारण दुगर्म भेगमा शिक्षकको समस्या छ ।

प्रकाशित : असार ६, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?