कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखा लैजाँदै गरेका ४१ चेपाङ बालबालिकाकाे उद्धार

रमेशकुमार पौडेल

चितवन — विकट पहाडी क्षेत्र राप्ती नगरपालिका–१३ का ४१ जना चेपाङ बालबालिकाहरुलाई बिहीबार दिउँसो चितवन प्रहरीले भरतपुरबाट उद्धार गरेको छ । 

उनीहरुलाई दुईवटा गाडीमा राखेर गोरखा लैजाँदै गरेको अवस्थामा उद्धार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले बताए । स्कुल पढाउन भनेर गाउँबाट ल्याए पनि कुनै प्रक्रिया नपुर्‍याएको मल्लले जानकारी दिए ।


‘गाउँबाट निःशुल्क पढाइ दिन्छौं भनेर केटाकेटी बटुलेर ल्याएको रहेछ । गोरखा लैजाने कुरा रहेछ । तर त्यसरी लैजाँदा जिल्ला बालकल्याण समन्वय समितिको अनुमति चाहिन्छ । त्यस्तो केही देखिएन’ एसपी मल्लले भने । ग २ च ३६५७ र ग २ च १३९६ नम्बरको दुईवटा बोलेरो जीपमा राखेर ल्याउँदै गर्दा उनीहरुलाई भरतपुर गोन्द्राङमा रहेको प्रहरीको चेकपोष्टबाट उद्धार गरिएको थियो ।


उनीहरुलाई गोरखा जिल्लाको सिरानचोकमा रहेको भद्रशिला आधारभुत विद्यालयमा पढाउनका लागि भनेर लैजान लागेको एसपी मल्लले बताए । ‘पढाउन लैजाने भने पनि आधारहरु केही थिइन । यसरी बालबालिका लैजान मिल्दैन’ उनले भने । प्रहरीले बलेरोका चालक र सहचालक चारजना तथा स्कुलका शिक्षक र एकजना स्थानीय कृष्णबहादुर चेपाङलाई नियन्त्रणमा लिएको छ ।


उद्धार गरेका बालबालिकाहरु चारदेखि १४ वर्षसम्मका रहेको एसपी मल्लले बताए । उनीहरुलाई चितवन प्रहरीले राप्ती–१३ का वडाध्यक्ष सुर्यबहादुर चेपाङको रोहबरमा हिजो बिहीबार नै सम्बन्धित अभिभावकहरुको जिम्मा लगाएको छ ।


नियन्त्रणमा लिएका व्यक्तिहरुको बारेमा थप अनुसन्धान भइरहेको एसपी मल्लले बताए । ती बालबालिकाहरु लोथर कालिकाटारका थिए । बालबालिकालाई गोरखा लैजाने विषयमा वडालाई केही जानकारी नभएको वडाध्यक्ष सूर्यबहादुर चेपाङले बताए ।

प्रकाशित : असार ६, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?