कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टहराबाट विद्यार्थी पक्की भवनमा

प्रताप विष्ट

(हेटौंडा) — टहरामा बसेर घाम, पानी र चिसो खेपेका विद्यार्थीले चार वर्षपछि पक्की भवनमा पढ्न पाएका छन् । हेटौंडा उपमहानगरपालिका—१९ गणेश आधारभूत विद्यालयका ७६ विद्यार्थी गत सातादेखि पक्की भवनमा अध्ययन गर्न पाएका हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले उक्त विद्यालयको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । त्यही जोखिमयुक्त भवन र टहरामा विद्यार्थी पढ्दै आएका थिए । कोठाको अभावले गर्दा एउटै कोठामा २ वटा कक्षा राखेर पढाउने गरिएको थियो । 

जाइकाको १ करोड ७६ लाख २६ हजारको सहयोगमा २ तले, ८ कोठे भवन निर्माण भएको हो । उक्त विद्यालय भवन भूकम्पप्रतिरोधी र अपांगमैत्री छ । उक्त सुविधायुक्त भवन निर्माण भएपछि टहरा र जोखिमयुक्त भवनमा बसेर पढ्नुपर्ने बाध्यताबाट उनीहरू मुक्त भएको शिक्षक इन्द्र लामाले बताए । जाइकाले पहिलो चरणमा निर्माण गरेको ७ वटा विद्यालय भवनमध्ये ४ वटा निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । थप ३४ वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहा नगरपालिकामा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी, वाग्मती, मनहरी र राक्सिराङ गाउँपालिकाका गरी ३४ विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिसकेको छ । मकवानपुरमा पहिलो चरणमा ११० वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिएको थियो । पुनर्निर्माण प्राधिकरणको शिक्षासम्बन्धी जिल्ला आयोजना कार्यान्वयन एकाई आव ०७३/०७४ र ०७४/०७५ मा १ सय ३६ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । चालु आवमा शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन आयोजना एकाईले ६५ वटा विद्यालय भवन निर्माण गर्दै छ । मकवानपुरमा हालसम्म सरकारी, गैरसरकारी गरेर २ सय ५५ वटा विद्यालय निर्माण भइसकेका छन् । ती निर्माण भएका विद्यालयमा करिब १ हजारवटा कक्षाकोठा तयार छन् । अहिले सरकारी तथा गैरसरकारीतर्फबाट ५ सयवटा कक्षा तयार भइरहेको जिल्ला कार्यान्वयन एकाई शिक्षाका प्रमुख बद्री पाठकले बताए ।


जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन एकाईमार्फत मकवानपुरमा ४१ विद्यालयको भवन निर्माण गरिरहेको छ । तीमध्ये सात विद्यालय भवनको निर्माण सम्पन्न गरिसकेको छ । ३ वटा हस्तान्तरण गर्न बाँकी छ । प्लान नेपालले ५ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । एस्थर वेन्जामिन्स नामक गैरसरकारी संस्थाले भूकम्पले भत्केका १० वटा विद्यालयको भवन बनाउने जिम्मा लिएको थियो । त्यसमध्ये ८ वटा भवनको पुनर्निर्माण गरिसकेको छ । २ वटा निर्माणाधीन छन् । यूएसआईडीले ६ वटा विद्यालय भवन निर्माण गर्दै छ । जिल्ला आयोजना कार्यान्वयन एकाईसँग अनुमति लिएर उनीहरूले विद्यालय भवनको पुनर्निर्माण गरेका हुन् । भूकम्पपछि मकवानपुरमा ४ सय ९ वटा विद्यालयका ७ सय ४७ वटा भवनमा रातो स्टिकर लगाइएको थियो ।


रातो स्टिकर लगाइएका सबै भवन पुनर्निर्माण गर्नुपर्ने बताइए पनि पुन: निरीक्षण गरी मर्मतबाट पनि केही भवन सञ्चालनमा आइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाईले जनाएको छ । ‘सुरुमा हामीले ७ सय ४७ वटा भवनको २ हजार ३ सय ९० वटा कोठामा रातो स्टिकर लगाएका हौं, पुन: निरीक्षण गर्दा केही भवन मर्मतबाट पनि चल्ने अवस्था भएकाले मर्मत गरेर सञ्चालनमा आइसकेको छ,’ इन्जिनियर सञ्जीव पुडासैनीले बताए । मकवानपुरमा करिब २ हजार १ सय ५ कक्षाकोठा भूकम्पबाट क्षतिग्रस्त भएका हुन् । यही गतिमा निर्माण कार्य भयो भने मकवानपुको विद्यालयको पुनर्निर्माण कार्य आगामी २०७७ सम्म सम्पन्न हुने अनुमान छ ।


भूकम्प आउनुअघि मकवानपुरका अधिकांश विद्यालय जीर्ण थिए । छात्रा एवं अपांगतामैत्री थिएनन् । कैयौं स्कुलमा शौचालय थिएन । जर्जर र जीर्ण जोखिमयुक्त भवनमा पढ्दै आएका थिए ।


‘भूकम्पले त्यस्ता जीर्ण र जर्जर विद्यालय भवन सबै भत्काइदियो, अहिले सुविधायुक्त नयाँ भवन बनेका छन् र बन्ने क्रममा छन्,’ जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भने । ‘केही समय विद्यार्थी र शिक्षकले समस्या भोग्नुपरे पनि त्यसको परिणाम राम्रै देखिएको छ ।’ मकवानपुरका ५ सय १६ विद्यालय मध्ये भूकम्पबाट ५४ वटा मात्र पूर्ण रूपमा सुरक्षित थिए ।

प्रकाशित : असार ७, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?