२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अभ्यास गर्ने मैदान पनि भएन

काभ्रे — जिल्लाको विकट मानिने खानीखोला गाउँपालिकाको भलिबल टिमले दुई वर्ष लगातार जिल्लास्तरीय प्रतियोगिता जित्यो । खानीखोला र बेथानचोक गाउँपालिकाले आयोजना गरेका जिल्लास्तरीय प्रतियोगिताको उपाधि पनि दुवैपटक खानीखोलाको टिमले नै उचाल्यो । 

अभ्यास गर्ने मैदान पनि भएन

हालै सम्पन्न बेथानचोक कप भलिबल प्रतियोगितामा त उपविजेता पनि खानीखोलाको ‘बी’ टिम नमुना प्रगति युवा क्लब नै भयो । तर जिल्लामा नै पहिचान बनाएको टोली खेल मैदानको अभावमा विद्यालयको चौरमा अभ्यास र प्रतियोगिता गर्न बाध्य छ ।


‘खहरे खोलालाई माटोले पुरेर खेल मैदान बनाउँदै छौं, त्यो पनि पर्याप्त बजेट नहुँदा पूरा हुन सकेको छैन,’ टिमका क्याप्टेन सुमन थोकर भन्छन्, ‘स्कुल सुरु हुनुअघि र छुट्टी भएपछि स्थानीय विद्यालयको चौरमा खेल्छौं, व्यक्तिका खेत खाली भएपछि त्यहाँ पनि अभ्यास गर्दै आएका छौं ।’


थोकरका अनुसार, जिल्ला खेलकुद विकास समितिले खेल मैदान निर्माणका लागि ४ लाख बजेट छुट्याए पनि मैदानले पूर्णता पाएको छैन । खानीखोला गाउँपालिकाले २ लाख बजेट विनियोजन गरे पनि खर्च हुन सकेन । ‘४०/५० टिप माटो ल्याएर हालेका छौं, खहरे भएकाले बेलाबेलामा पुर्छ,’ उनले भने, ‘गाउँपालिकालाई एकै पटकमा पूरा हुनेगरी पर्याप्त बजेट दिन अनुरोध गरेका छौं तर त्यसो हुन सकेको छैन ।’


खानीखोला भलिबल खेलका लागि चर्चित छ । यही टिमले काभ्रे र छिमेकी जिल्ला मकवानपुर, ललितपुरलगायत जिल्लामा हुने प्रतियोगितामा सहभागिता जनाएर उपाधि जित्दै आएको छ । जिल्लाको प्रतिनिधित्व गर्दै क्षेत्रीय र राष्ट्रियस्तरका प्रतियोगितामा पनि खानीखोला गाउँपालिकाको टिमका सदस्य नै सहभागी हुने गरेका छन् ।


‘पूर्वाधार र प्रशिक्षण हुने हो भने अझै राम्रो गर्न सकिन्थ्यो,’ स्थानीय खेलाडीलाई प्रशिक्षणसमेत दिँदै आएका थोकर भन्छन्, ‘८ वर्षअघि सामान्य प्रशिक्षण लिएर म खेल्न थालेको थिएँ, अभ्यासकै आधारमा यो उपलब्धि हो ।’ उनले खेलाडीलाई नै प्रशिक्षण दिन नसकिएको भन्दै यसले नतिजामा असर परिरहेको बताए ।

प्रकाशित : असार ८, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?