२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गर्भवती र सुत्केरीलाई भत्ता

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीका स्थानीय तहले महिलालाई सुरक्षित प्रसूति गराउन विभिन्न कार्यक्रम गरेका छन् । गर्भवती भएदेखि नै नियमित गर्भ जाँच गर्न र सुत्केरी गराउन अस्पताल आउनका लागि प्रोत्साहन गर्ने भन्दै विभिन्न भत्ता र उपहार कार्यक्रम सञ्चालन गरेका हुन् । 

जिल्लाको फिक्कल गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ३ हजार ८ सय रुपैयाँ भत्ता दिने गरेको छ । सरकारले उपलब्ध गराएको २ हजार ८ सय रुपैयाँमा गाउँपालिकाले थप १ हजार रुपैयाँ थपेर ३ हजार ८ सय रुपैयाँ भत्ता दिन थालेको हो ।


पालिकाका अधिकांश महिला घरमा नै सुत्केरी हुने गरेकाले सुरक्षित सुत्केरी गराउन उनीहरूलाई स्वास्थ्य संस्थासम्म ल्याउनका लागि थप १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरिएको पालिका उपाध्यक्ष पार्वती सुनवारले बताइन् ।


चालू आर्थिक वर्ष २०७५/०७६ बाट पालिकाले प्रोत्साहन कार्यक्रम लागू गरेको हो । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने भएकाले यसबाट बचाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको गापाले जनाएको छ ।


सुरक्षित मातृत्व तथा पोषणसम्बन्धी कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि स्वास्थ्य चौकी जान आउन गाउँपालिका भरी निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिरहेको उनले सुनाइन् । गाउँपालिकाबाहिर उपचार गर्न जानुपरेमा पालिकाद्वारा सञ्चालित एम्बुलेन्स प्रयोग गरेमा ५० प्रतिशत छुटको दिने गाउँपालिकाले गरेको छ ।


सुनकोसी गाउँपालिकाले भने गर्भवती महिलाको घरमा नीलो रङको झण्डा झुन्ड्याउने कार्यक्रम सञ्चालन गरेको छ । गर्भवती उपहार कार्यक्रम पनि चलाएको छ। ‘सुरक्षित मातृत्व, सुनकोसी गाउँपालिकाको दायित्व’ भन्ने नारासहित गाउँपालिकाले सबै गर्भवतीको घरघरमा सुरक्षित मातृत्व अंकित झण्डा झुन्ड्याउने काम गर्दै आएको गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् । ‘गर्भवती उपहार कार्यक्रमले भने नियमित रूपमा स्वास्थ्य संस्थामा

गर्भ जाँच गर्न प्रोत्साहन गरेको छ,’ उनले भनिन् ।


गर्भवती उपहार कार्यक्रमअन्तर्गत स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउने गर्भवतीलाई निःशुल्क खाने तेल र आयोडिन नुन उपहार दिने गरेको छ । गर्भवती महिलाले चार पटकसम्म स्वास्थ चौकीबाट यो सेवा पाउँदै आएका छन् ।


गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गर्भ जाँच गर्न आउँदा प्रत्येकपटक नुन, तेल उपहार दिने गरेको सुनकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले बताए ।

प्रकाशित : असार ८, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?