नारायणगढ बजार बन्दले ग्राहकलाई द्विविधा

रमेशकुमार पौडेल

चितवन — नारायणगढ बजार साताको एक दिन सोमबार बन्द हुँदै आएको थियो । अहिले शनिबार पनि बन्द गर्ने क्रम हृवात्तै बढेको छ । केही पसल शनिबार र केही सोमबार बन्द हुँदा उपभोक्ता द्विविधामा पर्न थालेका छन् ।

नारायणगढ बजार बन्दले ग्राहकलाई द्विविधा

कपडा र फेन्सी पसल सोमबार बन्द हुने गर्छन् । अरू पसलहरूले शनिबार बन्द गर्न थालेका छन् । भाँडावर्तनका पसल पनि यो साताबाट शनिबार बन्द हुन सुरु भए । नारायणगढ चितवनको मुख्य व्यापारिक केन्द्र हो ।


‘सोमबार बन्द हुने पुरानो चलन हो । तर अहिले शनिबार बन्द गर्दा ठिक हुने देखेर हाम्रो समितिले आजबाट शनिबार बन्द गर्न सुरु गर्‍यो,’ भाँडावर्तन व्यवसायी समितिका सदस्य रहेका विष्णु लम्सालले भने । बैंकहरू शनिबार बन्द हुने भएका कारण पसल खुले पनि कारोबार नहुने उनले बताए । ‘मान्छेहरू बिदाको मुडमा हुन्छन् । घुम्न, डुल्न त निस्कन्छन् तर शनिबार किनमेल गरेको अनुभव भएन,’ लम्सालले भने ।


नारायणगढ बजार २०४३ सालदेखि प्रत्येक सोमबार बन्द हुन थालेको हो । ‘बिचमा ०६८ सालतिर शनिबार बन्द गर्ने भन्ने निर्णय भयो । तर राम्रोसँग कार्यान्वयनमा आउन सकेन । त्यसपछि हामीले आफ्नो अनुकूलता हेरेर कारोबार बन्द गर्ने चलन बसाउन भनेका थियौं,’ चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले भने । संघमा अहिले ३१ वटा वस्तुगत समिति छन् ।


संघमा आबद्ध होटल, औषधि पसल लगायतका पाँचवटा वस्तुगत समितिले साताको सातै दिन व्यवसाय सञ्चालन गर्छन् । त्यसैगरी कपडा, फेन्सी, सुनचाँदी, सिलाइकटाइ र साइकल पसलहरू सोमबार बन्द हुने गरेका छन् । यी व्यवसायीहरू अहिले पनि सोमबार व्यवसाय बन्द गर्ने पक्षमा उभिएका छन् ।


बाँकी २१ वस्तुगत समिति शनिबार बन्दको पक्षमा छन् । तीमध्ये केहीले शनिबार बन्द गर्न सुरु गरेका छन् केहीले सोमबार नै गर्दछन् । ‘शनिबार स्कुल, कलेज र कार्यालयहरू बिदा हुन्छ । सर्वसाधारणले यसै दिन किनमेल गर्दछन् । त्यसैले हामीले शनिबार पसल बन्द किन गर्ने भन्ने लाग्छ,’ कपडा व्यवसायी समितिका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठले भने । नारायणगढका व्यवसायीहरूले काठमाडौंबाट सामान मगाउने गर्दछन् ।


‘सामान लिन व्यवसायी नै जाने चलन छ । शनिबार काठमाडौंमा पनि बन्द हुन्छ । यहाँ पनि शनिबार बन्द गर्दा हामीलाई असर पर्ने भो । सोमबार बन्द गर्दा आइतबार साँझ काठमाडौं गएर सोमबार फर्केर मंगलबार कारोबार गर्न सकिन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।


तर अटोमोबाइल जस्ता ठूलो कारोबार हुने व्यवसाय शनिबार नै बन्द गर्नु प्रभावकारी हुने गरेको व्यवासायीको मत छ । ‘हाम्रो कारोबार चेकमा हुने गरेको छ । कारोबारको रकम ठूलो हुन्छ । त्यसैले हामीले बैंकहरू खुल्ने दिनमा कारोबार गर्नुपरेको छ । शनिबार बैंक पनि बन्द हुने भएका कारण हामीले पनि त्यसै दिन कारोबार बन्द गर्न थालेका हौं,’ चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईश्वर श्रेष्ठले भने ।


भरतपुर नारायणगढ क्षेत्रमा आठ सयको हाराहारीमा कपडा पसल र फेन्सी छन् । तीबाहेकका पसल पनि लगभग ६ सयको हाराहारीमा छन् । दुई दिन बजार बन्द हुँदा उपभोक्तालाई अलमल हुने र खुलेका पसलमा पनि कारोबार नहुने खतरा रहन्छ । त्यसैले बजार दुई दिन बन्द भएकोझै भान पर्न गएको उपभोक्ताको अनुभव छ ।


कारोबार बन्द हुने दिनलाई एकरूपता दिन चितवन उद्योग वाणिज्य संघले समन्वय गरी रहेको छ । ‘तर हामीले यसै दिन बन्द गर्नुहोला अरू बार हुँदैन भनेर दबाब दिन सकिँदैन । आफ्नो अनुकूलता विचार गरेर सबै व्यवसायीहरू कारोबार बन्द गर्ने दिनलाई एकरूपता दिन सहमत होलान् भन्ने लाग्छ,’ चितवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रधानले भने ।

प्रकाशित : असार ८, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?