कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खुर्कोट–मन्थली सडक जीर्ण

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको जिल्ला सदरमुकाम जोड्ने खुर्कोट–मन्थली सडक जीर्ण बनेको छ । साँघुरो सडक जीर्ण हुँदा सवारी आवागमनमा कठिनाइ झेल्नुपरेको छ । 

खुर्कोटदेखि मन्थलीसम्मको १६ किलोमिटर सडक पार गर्न १ घण्टा समय लाग्छ । सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छ । जताततै खाल्डा छन् । कालोपत्रे भएको ६ वर्ष पुग्न थालेको सडक दुई वर्षअघि मर्मत गरिएको थियो । मर्मत गरिएको सडक १ वर्ष नबित्दै खाल्डा पर्न थालेको थियो ।


यो सडक साह्रै जोखिमयुक्त छ सवारी चालक प्रताप कार्कीले भने, ‘अधिकांश स्थानमा एकतर्फी भएकाले सवारी आवागमनमा कठिनाइ झेल्नुपरेको छ, साना सवारी साधनलाई खाडलबाट जोगाएर गन्तव्यमा पुर्‍याउन धौधौ पर्छर्,’ कार्कीले भने ।


उक्त सडक मार्गमा साँघुरा मोडहरूको सुधार गर्ने कार्यका लागि माटो काट्दा अधिकांश स्थानमा सडक कच्ची बनेको हो । त्यसमाथि सडकको क्षमताभन्दा माथिको भार बोकेर सवारी साधन गुड्दा हरेक दिन सडक क्षति हुने क्रम बढेको छ । व्यापारिक सामग्री बोकेर ठूला मालवाहक ढुवानीका साधन गुड्न नपाए पनि विभिन्न आयोजनाका गह्रौं उपकरण र सामग्री बोकेका साधन उक्त मार्गमा बढी गुड्ने गरेका छन् ।


तराईका जिल्लाबाट दोलखासम्मका लागि आउने खाद्यान्न र निर्माण सामग्री बोकेका सवारी साधनको चाप अत्यधिक रहेको उक्त सडक तामाकोसी किनारमा पर्छ । नदीजन्य निर्माण सामग्रीको ओसारपसार पनि सडकमा त्यतिकै छ । माथिल्लो तामाकोसी, माथिल्लो खिम्ती, खिम्ती २, लिखु नदीमा निर्माणाधीन विभिन्न ५ वटा विद्युत् आयोजनाका सामग्री ढुवानी हुने प्रमुख मार्गका रूपमा रहेको उक्त सडक मर्मतसम्भारमा सम्बन्धित निकायले उल्लेख्य चासो दिएको छैन ।


सडकको रेखदेख र मर्मत सुधारको काम गर्दै आएको डिभिजन सडक कार्यालय खुर्कोट सिन्धुलीका इन्जिनियर रामबहादुर विश्वकर्माका अनुसार उक्त सडकको मर्मतका लागि प्राप्त सबै बजेट मन्थली बजार नजिकको मदन आश्रित चोकदेखि रणजोर खोलासम्मको सडकमा हालेर काम भइरहेको छ । ‘यस वर्षको सबै बजेट त्यही खण्डमा लगाएर सडक राम्रो बनाउँछौं,’ विश्वकर्माले भने, ‘मर्मत सबै स्थानमा जरुरी छ तर अत्यावश्यक स्थानमा मर्मत थालेका छौं ।’

प्रकाशित : असार ९, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?