कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई गढी जोड्न पदमार्ग

राजकुमार कार्की

सिन्धुली — यहाँको ऐतिहासिक दुई गढीलाई जोड्न १५ किमि पदमार्ग निर्माण गरिएको छ । हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने करिब ७५ किमि पदमार्गमध्ये पहिलो चरणमा १५ किमि निर्माण भएको हो । 

दुई गढी जोड्न पदमार्ग

तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले घण्टे भन्ने ठाँउमा स्थापना गरेको घण्टे महादेव रहेको स्थानबाट पदमार्ग सुरु गरिएको छ । मदन भण्डारी मार्गको घण्टेबाट ऐतिहासिक हरिहरपुरगढी एक घण्टा पैदल दूरीमा छ । समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग पर्यटकीय पदमार्गका रुपमा विकास गर्न पदमार्ग निर्माणको थालनी गरेको हो ।

घण्टेबाट हरिहरपुरगढी, जितपुर भीमगढ, सेपाहा, मरिणगाउँपालिकाको खलंगा, मधुवनी, घ्याङलेख गाउँपालिकाको चन्दनपुर, फापरचुली, सुनकोसी गाउँपालिकाको बन्दीपुर, मतानवास, नागी हुँदै सिन्धुलीगढीसम्मको पदमार्ग रुट तय गरिएको छ । यो पदमार्ग पार गर्न ७ दिनको पैदलयात्रा हुने आकलन छ । अभियानले पदयात्रीको सहजताको लागि होमस्टे सञ्चालनका लागि स्थानीय स्तरमा छलफल चलाएको छ ।

तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढी सदरमुकाम सिन्धुलीबाट २० किमि दूरीमा छ । यो पदमार्गले दुवै गढीलाई जोड्नेछ । नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थललाई पर्यटकीय पदमार्गले जोड्ने योजनाअनुसार अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि हात्तीढुंगासम्म पदमार्ग निर्माण सम्पन्न गरेको हो ।

पदमार्ग निर्माणमा दैनिक १ सय जनाभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएको पदमार्ग निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तथा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । पदमार्गको सुरुवात स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ ।

त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । खोरभञ्ज्याङको प्रतीक्षालय घन्टे र पीपलमाढीबाट जाने पदयात्रीलाई सुविधा हुने गरी दोबाटामा बनाइएको छ ।

जितपुरको डाँडामा निर्माण गरिएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पर्वत शृंखलासमेत देखिन्छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेबाट पदमार्ग सुरु हुन्छ ।

चौधौं शताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताए । हरिहरपुरगढी किल्ला हरिसिंहदेवले विक्रम संवत १३८१ मा बनाएका थिए ।

बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालीन राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालिएको इतिहासमा पाइन्छ । झन्डै ७ सय वर्षअघि बनेको यो किल्ला पुरानै स्वरुपमा जस्ताको तस्तै छ ।

सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको ऐतिहासिक स्थल हो ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक वर्ष सिन्धुलीगढीमा विजयोत्सव मनाइन्छ ।

पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेलले पदमार्गको घन्टेमा शनिबार शुभारम्भ गरे । सांसद गजुरेलले नेपालको इतिहासमा महत्त्वपूर्ण अर्थ राख्ने दुई गढीलाई जोडेर पदमार्ग निर्माण गर्दा यसले सिन्धुलीको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने जनाए ।

उनले पदमार्ग निर्माणले स्थानीयको जनजीवनमा परिवर्तन आउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश सदस्यहरू विनोदकुमार खड्का, बुद्धिमान माझीले पदमार्ग सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिने जनाए । हालको प्रदेश राजधानी हेटौंडासँग जोडिएकाले पनि पदमार्ग महत्त्व रहेको उनीहरूको भनाइ थियो । पदमार्गका लागि जग्गा दिएर सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसद गजुरेलले ४० लाख पदमार्गका लागि विनियोजन गरेका थिए । अभियानले पदमार्गको प्रवर्द्धन गर्न डकुमेन्ट्री बनाएको छ । श्रव्यदृश्य सामग्री समेटिएको वेबसाइट हरिहरपुरगढी डटकम सुरु गरिएको छ ।

प्रकाशित : असार ९, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?