कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी सुरक्षा माग्दै प्रशासनमा

नुवाकोट — मुआब्जाको विषयलाई लिएर कर्मचारीमाथि दुर्व्यवहार हुने क्रम बढेपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढीसडक आयोजनाका कर्मचारी स्थानीय प्रशासन गुहार्न पुगेका छन् ।

विदुर नगरपालिका ९ बागटारस्थित कोलनीका स्थानीय प्रकाश अधिकारीले हात हालाहाल गरेको भन्दै सुरक्षा मागिएको आयोजनाले जनाएको छ ।


सुरक्षा र काम गर्ने वातावरण नभएको भन्दै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई लिखित उजुरी दिएका छन् । ‘सुरक्षा र काम गर्ने वातावरण भएन,’ योजना प्रमुख नारायणदत्त भण्डारीले भने, कार्यालयभित्र कर्मचारीमाथि हातपात हुन थालेपछि कसरी काम गर्ने ?’ आयोजनाले गल्छी–त्रिशूली सडक खण्डको रातोमाटेमा जग्गा अधिग्रहण गरिरहेको छ । अर्को व्यक्तिको नामबाट आफूले जग्गा लिएको र उक्त जग्गा फुकुवा गर्नुपर्ने दबाब अधिकारीले आयोजनाका कर्मचारीमाथि दिँदै आएका थिए ।


‘जग्गा धनी नआए पनि उनले किनेको भनेको आधारमा उनकै काम गर्दै थियौँ,’ योजना प्रमुख भण्डारीले भने, ‘एक्कासि आएर गालीगलौज गर्दै हातहाल्ने खोजे । हामी जिल्लावासीका लागि काम गर्न आएका कर्मचारी हौं ।’ उनको नाममा कित्ताकाँट भएको जग्गा भने नभएको आयोजनाले जनाएको छ । कित्ता नम्बर ३०८८ र ७७४ मा गरी ३ रोपनी जग्गा छ । उक्त जग्गामा मोहीसमेत गरी ५ जनाको भाग लाग्छ ।


उक्त जग्गा सडक अधिग्रहण डेढ आना परेको छ । सोही जग्गाको मुआब्जा लिनलाई अधिकारीले दबाब दिएका थिए । ‘त्यही अधिग्रहणमा परेको जग्गाको मुआब्जा फुकुवा गरेर रोटेसनमा दिनुस् भनेको हो,’ अधिकारीले भने, ‘खास्सै त्यस्तो होइन ।’


गल्छीदेखि देवीघाटसम्मको साढे ५ सय स्थानीयको जग्गाको मुआब्जा दिइसकेको आयोजनाले जनाएको छ । लिखित रूपमा निवेदन आएपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले कर्मचारीमाथि दुर्व्यवहार र गालीगलौज गर्नेलाई कारबाही गरिने बताए । प्रजिअ पोखरेल भने, ‘गलत प्रवृत्ति र अराजकता रोक्छु । त्यसरी कार्यालयभित्र कर्मचारीमाथि हुने दुर्व्यवहार सह्य हुँदैन ।’

प्रकाशित : असार १०, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?