१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१५ वर्षदेखि उत्कृष्ट सामुदायिक

‘हामीले तोकिएको समयमा परीक्षा लिने र नतिजा प्रकाशन गर्छौं । एसईईमा सहभागी हुने विद्यार्थीलाई उनीहरुको कमजोरी पत्ता लगाएर सोहीअनुसार अध्यापन गराउँछौं ।’ 
सुवास बिडारी

मकवानपुर — हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले १५ वर्षदेखि जिल्लामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ । यस वर्षको एसईई परीक्षामा समेत सामुदायिक विद्यालयतर्फ आधुनिक सर्वोत्कृष्ट भएको हो । यस वर्षको एसईई परीक्षामा यहाँबाट २ सय ३० विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएका थिए ।

१५ वर्षदेखि उत्कृष्ट सामुदायिक

जसमध्ये ए प्लस १२ जना, ए ५३ जना, बी प्लस ६१, बी ६७ र सी प्लस ३६ जना र सी १ जना नतिजा ल्याउँदै जिल्लामा अब्बल ठहरिएको हो ।


‘विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिलगायत सबै क्षेत्रको मिहिनेतबाट यो सम्भव भएको हो । हामीले तोकिएको समयमा परीक्षा लिने र नतिजा प्रकाशन गर्छौं । एसईईमा सहभागी हुने विद्यार्थीलाई उनीहरूको कमजोरी पत्ता लगाएर सोहीअनुसार अध्यापन गराउँछौं,’ विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाले भने । विद्यालयबाट सहभागी हुने विद्यार्थीहरूले नेपाली र अंग्रेजी दुवै माध्यमबाट परीक्षा दिएका थिए ।


लगातार १५ औं पटक जिल्लामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यालयले शुक्रबार हेटौंडामा खुसियाली र्‍यालीसमेत निकालेको थियो । विद्यालयले हेटौंडा बजार पूरा परिक्रमा गरेर उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानसमेत गरेको थियो । यस वर्ष सामुदायिक विद्यालयतर्फ यसै विद्यालयका विद्यार्थी सुधीर सर्राफले ३ दशमलव ९५ जीपीए ल्याउँदै सामुदायिकतर्फ उत्कृष्ट घोषित भएका छन् । विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।


विद्यालयको भवन भूकम्पको कारण क्षति पुगेसँगै हाल विद्यालय दुई सिफ्टमा सञ्चालन भइरहेको छ । विद्यालयमा भर्ना हुनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधानसमेत रहेको छ ।


राम्रो नतिजाको कारण देशभरमा ख्याति कमाउन सफल भएकाले विद्यालयमा भर्ना हुन चाहनेको संख्या बढी हुन्छ । ५२ वर्ष अघि स्थापना भएको उक्त स्कुलमा ठिक १० बजे प्रवेशद्वारबाट शिक्षक र विद्यार्थी छिरिसक्नुपर्ने छ । एक मिनेट ढिला भए पनि १० बजेपछि स्कुलभित्र छिर्न जोकोही पनि पाउँदैनन् ।


उक्त विद्यालयमा तीन/तीन महिनामा परीक्षा लिने गरिन्छ । शुक्रबार पनि पूरा कक्षा पढाइ हुन्छ । शनिबार कक्षागत विद्यार्थीका अभिभावकलाई बोलाएर आफ्ना छोराछोरीका विषयमा विद्यालयले परामर्श दिने गरेको शिक्षक कृष्णगोपाल श्रेष्ठले बताए ।


उक्त विद्यालय जिल्लाको रोल मोडेल स्कुलको स्थान ओगट्न सफल भएको छ । विद्यालयको शैक्षिक वातावरण र गुणस्तयुक्त शिक्षाका कारण यस क्षेत्रका सामुदायिक मात्र सस्थागत विद्यालय उक्त विद्यालयसँग स्वस्थ्य प्रतिस्पर्धामा उत्रेका छन् । २०६१ सालदेखिको एसएलसी परीक्षामा सामुदायिक विद्यालयतर्फ जिल्लामा पहिलो स्थान ओगट्न सफल भएको छ ।


विद्यालयले २०६१ सालदेखि कम्तीमा ८० देखि ३ सय ३७ विद्यार्थी एसएलसी र एसर्ईई परीक्षा सम्मिलित गराउँदै आएको छ । २०२४ सालमा स्थापना भएको उक्त विद्यालयले प्रवेश परीक्षा लिएर मात्र स्कुलमा भर्ना लिने पद्धति ६ वर्षदेखि सञ्चालन गर्दै आएको छ । उक्त विद्यालयले १ र २ कक्षाका विद्यार्थीको पढाइलाई बढी ध्यान दिने गरेको छ । ‘१ र २ कक्षाका विद्यार्थीको मनोभावना बुझेर पठनपाठन गराउन सकियो भने माथिल्लो कक्षा स्वतः राम्रो हुन्छ,’ प्रअ बैठाले भने, ‘जगको ख्याल नगर्ने धुरी मात्र हेर्ने प्रवृत्तिले शिक्षाको गुणस्तर वृद्धि हुँदैन ।’


मर्यादित तथा जागरुक विद्यार्थी र अनुशासित तथा इमानदार शिक्षक, शैक्षिक गुणस्तरको जग भएको बैठाको ठम्याइ छ । ‘अनुशासनबिना शिक्षाको गुणस्तर वृद्धि नहुने भएकाले अनुशासनमा सम्झौता गर्न हुन्न,’ प्रअ बैठाले भने, ‘विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षकहरू कठोर र इमानदार बन्नुपर्छ ।’


स्कुलले आन्तरिक परीक्षा र लिखित अभ्यासलाई बढी जोड दिने गरिएको छ । आन्तरिक परीक्षामा कमजोर देखिएका विद्यार्थीलाई थप मिहिनेत गर्न उत्साह भर्ने कार्य गरिन्छ भने अभिभावकलाई पनि स्कुलमा डाकेर छोराछोरीका बारे जानकारी पनि दिने गरेको छ । २० मिनेटको प्रार्थनाको समय हुन्छ ।


१० मिनेट पीटी र राष्ट्रिय गान गरिन्छ भने १० मिनेट ज्ञानवर्धक समाचार शिक्षक र विद्यार्थीले सुनाउने गर्छन् । माध्यमिक तहमा सबैभन्दा पहिला मुलुकमा नै पत्रकारिता विषयको पढाइ सुरुवात गर्ने यो नै पहिलो माध्यमिक विद्यालय हो । हेटौंडा बजारको मध्यभागमा रहेको उक्त विद्यालय मकवानपुरको शैक्षिक ‘रोल मोडेल’ का रूपमा स्थापित भएको छ । जिल्लाको शैक्षिक नेतृत्व नै आधुनिकले लिएको छ ।


आधुनिक माविको अनुशासन र शैक्षिक अवस्थामा मात्र होइन, विद्यालयभित्रको वातावरण पनि रमणीय छ । विद्यालयको भित्रको चौर सबै हरिया रुखले ढाकेको छ । विद्यालयभित्र पस्नेबित्तिकै प्राकृतिक वातावरण नै लोभलाग्दो छ । खेलकुदलगायत अन्य अतिरिक्त क्षेत्रमा पनि स्कुल अग्रस्थानमा छ । विद्यार्थी र शिक्षकहरूको प्राथमिक उपचार गर्न र स्वास्थ्य चेतना दिनका लागि प्रदेश–३ सरकारले उक्त विद्यालयमा औषधिसहित नर्सको व्यवस्था गरेको छ ।

प्रकाशित : असार १४, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?