कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच दिनदेखि सिसडोलवासी आन्दोलित, फोहोर फाल्न अवरोध

कृष्ण थापा

नुवाकोट — सिसडोलका स्थानीय बासिन्दाले माग पूरा नगरेको भन्दै ५ दिनदेखि काठमाडौं उपत्यकाबाट संकलित फोहोर फाल्न दिएका छैनन् । ककनी गाउँपालिका २ ओखरपौवाको सिसडोल र धादिङ धुनीबेंसी नगरपालिका ३ को बीचमा पर्ने सिसडोलमा स्थानीयले राखेका माग सम्बन्धित निकायले पूरा नगरेको भन्दै फोहोर फाल्न नदिएका हुन् ।

पाँच दिनदेखि सिसडोलवासी आन्दोलित, फोहोर फाल्न अवरोध

शनिबार बिहानदेखि अपराह्नसम्म स्थानीयवासीले नाराजुलुससहित सडकमै सुतेर सिसडोलमा फोहोर फाल्न दिएका छैनन् । उनीहरुले प्रहरी हस्तक्षेप बढेको, फोहोरमाथि राजनीति गरेको, जनतालाई मार्न खोजिएको, शान्तिपूर्ण आन्दोलन गर्न दिनुपर्ने र फोहोर फाल्न पाइँदैन जस्ता नारा लगाएका छन् । फोहोर फाल्न आएका सयौं फोहोरका गाडीहरु पासाङ ल्हामु सडक खण्डको तीन पिप्लेदेखि बालाजुसम्म सडक किनारमा लाइन लागेर रोकिएका छन् । शुक्रबार स्थानीयवासीले सिसडोल व्यवस्थापन संघर्ष समिति गठन गरेर काठमाडौंमा फोहोरले पारेको असरका विषयमा जानकारी गराएका थिए ।


सरकारले उपत्यकाको फोहोर व्यवस्थापनबारे उठाएका माग सम्बोधन नगरेकाले कडा संघर्षका कार्यक्रमसहित उत्रिने चेतावनी संघर्ष समितिले दिएको थियो । सिसडोलमा अस्तव्यस्त रहेको फोहोर दीगो व्यवस्थापन गरी डम्पिङ साइडका समस्याहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन जोड दिएको छ । उक्त समस्यालाई लिएर काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग धेरै पटक वार्ता गर्दा पनि समस्या समाधान नगरेको समिति अध्यक्ष चक्र बलामीले बताए ।


‘दुई वर्षलाई भनेर फोहोर फाल्न दिइयो,’ उनले भने, '१४ वर्ष बितिसक्दा पनि हामीलाई फोहोरको दुर्गन्धभित्र राखे । हामीले राखेको माग पूरा गरेनन् ।’ आफूहरुले औंल्याएका समस्यालाई बेवास्ता गरिएको भन्दै समितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न नदिने र सधैंको लागि बन्द गर्ने पनि घोषणा गरेका छन् ।


काठमाडौं महानगरले ०६२ सालमा ओखरपौवाको सिसडोलमा फोहोर फाल्न थालेको हो । महानगरपालिकाले ओखरपौवा र धादिङको धुनीबेंसीवासीसँग दुई वर्ष अवधिका लागि मात्र सिसडोल क्षेत्रलाई फोहोर फाल्न भनेको थियो । महानगरले सिसडोलभन्दा २ किमि पर बन्चरेडाँडामा दक्षिण एसियाको आधुनिक फोहोर फाल्ने ठाउँ निर्माणको तयारी गरेको छ ।

प्रकाशित : असार १४, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?