२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रिय धान दिवस : नौ प्रतिशत मात्र रोपाइँ

सुवास विडारी

मकवानपुर — असार १५, राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने दिनको रूपमा समेत चित्रण गरिन्छ । दहीचिउरा खाँदै हिलो खेलेर रोपाइँ गर्ने योजना बनाउँदै गर्दा प्रदेश ३ को १३ जिल्लामा हालसम्म नौ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।

‘यस वर्ष मनसुन नै सुरु भएको छैन । जहाँ सिँचाइको व्यवस्था भएको छ । उक्त स्थानमा रोपाइँ सुरु भएको छ । आकासेपानीको भरमा रोपाइँ गरिने स्थानमा भने सुरु भएको छैन,’ प्रदेश ३ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हेटौंडाका प्रवक्ता निर्मलकुमार गदालले भने ।


उनका अनुसार प्रदेशको धान रोपाइँ हुने कुल क्षेत्रफल एक लाख ३४ हजार सात सय २२ हेक्टरमध्ये हालसम्म दस हजार आठ सय १२ हेक्टरमा मात्रै रोपाइँ भएको छ । सबैभन्दा बढी रोपाइँ काभ्रेपलाञ्चोकमा भएको छ । मन्त्रालयको तथ्यांकअनुसार काभ्रेपलाञ्चोकको धान उत्पादनको कुल क्षेत्रफल दस हजार एक सय रहेकोमा हालसम्म दुई हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।


सबैभन्दा कम सिन्धुलीमा भएको छ । सिन्धुलीको धान उत्पादनको कुल क्षेत्रफल १६ हजार आठ सय ८२ हेक्टर रहेकोमा हालसम्म तीन सय २५ हेक्टरमा मात्रै रोपाइँ भएको छ । ललितपुरमा चार हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये सात सय ८२ हेक्टरमा रोपाइँ भइसकेको छ । काठमाडौंको सात हजार आठ सय ८० मध्ये एक हजार २४ हेक्टरमा, भक्तपुरको चार हजार तीन सयमध्ये पाँच सय १६ हेक्टरमा, सिन्धुपाल्चोकको १२ हजार दुई सय ३५ मध्ये एक हजार आठ सय ३५ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।


यसैगरी, मकवानपुर जिल्लाको कुल एघार हजार क्षेत्रफलमध्ये हालसम्म एक हजार एक सय, रामेछापको आठ हजार आठ सय दस हेक्टरमध्ये चार सय ४१ हेक्टरमा, दोलखाको दुई हजार नौ सय २० मध्ये एक सय ४६ हेक्टरमा, नुवाकोटको १४ हजार पाँच सय ५० मध्ये एक हजार १९ हेक्टरमा, रसुवाको एक हजार दुई सय ४५ मध्ये पचास हेक्टरमा र धादिङको १२ हजार हेक्टर क्षेत्रफलमध्ये आठ सय ४० हेक्टर क्षेत्रफमा मात्रै रोपाइँ भएको छ ।


‘मनसुन सक्रिय हुँदै गएपछि धान रोपाइँ हुने दर पनि बढ्छ । मन्त्रालयले धान खेतीलाई प्रवर्द्धन गर्न अनुदानमा आधुनिक औजारहरू वितरण गरेका छौं । धान खेतीलााई नै भनेर भन्दा पनि कृषि क्षेत्रमा प्रयोग हुने औजार हामीले वितरण गर्ने गरेका छौं,’ उनले भने । नेपालीहरूले भात बढी रुचाउने भएका कारण चामलको माग पूर्ति गर्न सक्ने अवस्था नेपालमा नरहेको बताए ।


उनका अनुसार नेपालमा नेपालले ०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । प्रदेश सरकारले खाद्यान्नमा आगामी पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्य लिएका कारण कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर उत्पादन बढाउनका लागि आवश्यक सहयोग किसानहरूलाई गर्न तयार रहेको प्रवक्ता गदालले बताए । 

प्रकाशित : असार १५, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?