कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चीनसँग जोडिने सडकको स्तरोन्नति

कृष्ण थापा

नुवाकोट — राष्ट्रिय गौरवको आयोजनामा परेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकअन्तर्गत धादिङ र नुवाकोटमा गरी ११ किलोमिटर सडक स्तरोन्नति भएको छ । आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार धादिङको गल्छी, नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, देवीघाट, पीपलटार र माझीटार गरी ११ किमि सडक स्तरोन्ति गरिएको हो ।

चीनसँग जोडिने सडकको स्तरोन्नति

‘जहाँ समस्या छैन,’ उनले भने, ‘त्यहाँ पिचको काम भएको छ । उनले मुआब्जाको काम छिटो भए अझै कामले तीव्रता पाउने बताए । आयोजनाले अहिलेसम्म ४८ प्रतिशत काम सकेको जनाएको छ । अहिले धादिङको गल्छीदेखि नुवाकोट कोल्पुटार–देवीघाट, महादेवफाँट, रातोमाटे ४६ किलोमिटर क्षेत्रमा काम भइरहेको छ ।


भण्डारीले भने, ‘विद्युत् पोल, सडक किनारमा रहेका कटिङ कार्यले सडक निर्माणमा केही ढिलाइ हुन गएको छ ।’ यो सडक उत्तरी चीनको केरुङ र दक्षिण वीरगन्ज नाका हुँदै भारतसँग जोडिने सडक आयोजना हो । रसुवाको मैलुङ–स्याफ्रुबेंसी १९ किमि ट्र्याक सेनाले आयोजनालाई बुझाए पनि अहिले काम रोकिएको छ ।


उक्त सडक खण्ड संघीय बजेटमा बेत्रावती–स्याफ्रुबेंसी सुरुङ निर्माण गर्ने भनिएपछि काम रोकिएको आयोजनाले जनाएको छ । हालै रसुवागढीमा एकीकृत भन्सार भवन शिलान्यास गर्न आएका अर्थमन्त्री युवराज खतिवडाले सुरुङ निर्माण प्रक्रिया अलि लामो हुने भएकाले उक्त खण्डको सडक निर्माण नरोक्न भनेका थिए ।


अर्थमन्त्री खतिवडाले वैकल्पिक बाटो चाहिने भएकाले सुरुङ निर्माण हुने भनेर पर्खेर नबस्न भनिएको योजना प्रमुख भण्डारीले जनाए । त्यसैगरी, नुवाकोटको गेर्खु खोलादेखि बेत्रावती सडक खण्डको काम रोकिएको छ ।


स्थानीयवासीले आयोजनाले जग्गा अधिग्रहण यकिन गरी जग्गाको मुआब्जा निर्धारण छिटो गर्न माग गर्दै आएका छन् । स्थानीयवासीले राखेका मागलाई सम्बोधन गर्ने गरी अघि बढेको आयोजनाले जनाएको छ ।

प्रकाशित : असार १७, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?