कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गर्मी बिसाउन नारायणी किनार

पछिल्लो समय भरतपुर महानगरले नदी किनारलाई ॅसी—विच’ मोडेलमा विकास गर्न योजना अघि सारेको छ
प्रमिता ढकाल

भरतपुर — मार्केटिङ गर्ने भरतपुर १० की सृष्टि चौधरी दिनभर गर्मीमा फिल्डमा हिँडिरहेकी हुन्छिन् । अफिसको काम सकेर फुर्सद हुनासाथ उनी नारायणी नदी किनार पुग्छिन् । साँझ अफिसको काम सकेपछि साथी बटुलेर नदी किनार जानु उनको दैनिकी नै बनेको छ । ‘चर्को गर्मी छ दिनभर कामको तनाव उस्तै’ सृष्टिले भनिन्, ‘साँझमा यहाँ आउँदा मन नै चंगा हुन्छ ।’ 

गर्मी बिसाउन नारायणी किनार

चितवनको नारायणगढको नारायणी नदी किनार गर्मी बिर्साउने थलो नै बनेको छ । अत्यधिक गर्मीले आतिएकाहरू सांँझपख नदी किनारमा चिसो मौसममा रमाउन जान्छन् । चितवनको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासमा खुला ठाउँ तथा पार्क नभएपछि खुल्ला ठाउँमा सुस्ताउन चाहनेहरूको वर्षभरि नै चहलपहल हुने नदी किनारमा गर्मी याममा भिड थेगिनसक्नु हुन्छ । आसपासका स्थानीय मात्र नभई टाढा घर भएकाहरू पनि केहीबेर नदी किनारमा रमाउन पुग्छन् ।


नदी किनारमा बहने चिसो हावाको आनन्द लिएर साथीहरूसँग घुम्दा दिनभरको कामको तनाव र थकान बिर्सिन सहज हुने भरतपुर १५ की श्वेता शर्माले बताइन् । ‘अफिस सकेर एकछिन यहाँ नबसी घर जानै मन लाग्दैन,’ उनले भनिन्, ‘गर्मी भगाउन नसके पनि बिर्सन सजिलो हुन्छ ।’


उनको घर नदी किनारबाट करिब १६ किलोमिटर टाढा छ । नदी किनारमा उनी आफ्नो समूहसँग रुचिअनुसार चिसो पेय पदार्थ, चिया, चटपटे खान रुचाउँछिन् । व्यावसाियक स्ट्रिट फुड स्टल, आइसक्रिम, पानीपुरी तथा चटपटे स्टल, पोलेको मकै, फुल्कीको व्यापार यहाँ निकै फस्टाएको छ ।


बालबच्चा लिएर आउने तथा युवायुवतीहरूका कारण व्यापार राम्रो हुने ठेलामा मकै पोलेर व्यापार गर्दै आएकी सानु श्रेष्ठले बताइन् । दैनिक एक सय घोगा मकै एकै ठाउँमा बसेर बिक्री हुने उनले भनिन् । दुई वर्षयता नदी किनारमै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएकी उनले पछिल्लो समय नदी किनारमा आउनेको संख्या निकै बढेको अनुभव सुनाइन् । नदी किनारको करिब एक किलोमिटरको खुला क्षेत्रको छेउछाउमा दुई–दुई जना बस्न मिल्ने सिमेन्टका बेन्च बनाइएका छन् । नदी किनारमा शिवमूर्ति, बुद्धमूर्ति निर्माण गरिएका छन् ।


आसपासका टोल विकास समिति मिलेर सार्वजनिक शौचालय निर्माण गरेका छन् । हरेक उमेर समूहलाई रमाउने थलो बनेको नदी किनारमा विकास गरिएका पूर्वाधारले यहाँको रौनकलाई बढाएको छ । पर्यटकीय स्थलकै रूपमा विकास भएपछि नारायणगढ र आसपासका युवायुवतीहरू फुर्सदको समयमा घुम्न र साथीभाइ भेट्न नारायणी नदी किनार नै रोज्ने गरेका छन् ।


सौर्य बत्तीको उज्यालोका कारण गर्मीको समयमा नदी किनारको चिसोमा राति अबेरसम्म पनि टहलिनेहरू थुप्रै हुन्छन् । नयाँ वर्ष २०७६ को सुरुवात अर्थात् वैशाख १ गतेदेखि यहाँ गण्डक आरतीसमेत सुरु भएको छ । गण्डक नारायणी नदी संरक्षण समितिले नदी किनारको संरक्षणका लागि सुरु गरेको दैनिक आरती कारण साँझमा नदी किनार आउनेको चाप बढाएको छ ।


भजन किर्तनसहितको आरतीले धार्मिक पर्यटनको सम्भाव्यतालाई उजागर गरेको स्थानीय मणि भट्टराईले बताए । आरती सुरु भएयता धार्मिक आस्था हुने मात्र नभई आरती गरेको फोटो खिचेर रमाउनेहरू पनि बढेको उनको भनाइ छ ।


दुई–दुई वर्षमा चितवन महोत्सव हुने नारायणी किनारको प्रदर्शनी मैदानलाई ०५७ देखि नै पर्यटकीय थलोको रूपमा विकास गर्न सुरु गरिएको हो । उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सवको आम्दानीको ६० प्रतिशत रकम नदी किनारको व्यवस्थापनका लागि छुट्याउने गरेको छ । पछिल्लो समय भरतपुर महानगरले नदी किनारलाई ‘सी—विच’ मोडेलमा विकास गर्न योजना अघि सारेको छ ।


नारायणी नदीमा तटबन्धसहितको रिङ रोड, सडक पुललगायतको भौतिक पूर्वाधारका कामहरू केन्द्र एवं प्रदेश सरकारको समन्वयमा अघि बढाइने महानगरका मेयर रेणु दाहालले बताइन् । नदी किनारको व्यवस्थापन तथा सौन्दर्य प्रवर्द्धन, घाट विकास, स्नान स्थल निर्माण, विभिन्न वाटर स्पोर्टस प्रवर्द्धन लगायतका कार्यका लागि निजी क्षेत्रसँग सहकार्य गरिने उनले बताइन् । ‘नदी किनारलाई चितवनकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,’ उनले भनिन्, ‘हामी सी विच मोडेलबाट अघि बढ्दै छौं ।’

प्रकाशित : असार १७, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?