तस्करी रोक्न सहयोग गर्छौं : चीन

बलराम घिमिरे

(रसुवा) — सुनलगायतका वस्तुहरूको चोरी तस्करी नियन्त्रण गर्न सहयोग गर्ने चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएका छन् । स्याफ्रुबेंसीमा नेपाल र चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच बुधबार भएको छलफल कार्यक्रममा चोरीतस्करी नियन्त्रण गर्न चिनियाँ अधिकारी सहमत भएका हुन् । 

तस्करी रोक्न सहयोग गर्छौं : चीन

पछिल्लो समय तस्करले रसुवागढी नाकाको प्रयोग गर्न थालेपछि नियन्त्रण गर्न बुधबारको बैठकमा नेपाली पक्षले चिनियाँ अधिकारीलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । नाकाबाट हुन सक्ने सुनलगायत सबै मालवस्तुको चोरीतस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गर्ने प्रतिबद्धता जनाएको भण्डारीले जानकारी दिए । नाकामा संयुक्त कमान्ड सेन्टर स्थापना गर्ने विषयमा पनि छलफल भएको छ । एक महिनाभित्रमा संयुक्त कमान्ड सेन्टर स्थापना गर्न सहमति पत्रको ड्राफ्ट तयार भइसकेको छ । गृह मन्त्रालयबाट अनुमति लिएर सहमति पत्रमा हस्ताक्षर हुने प्रजिअ भण्डारीले जानकारी दिए ।


नाकामा सेन्टर स्थापना भएपछि गैरकानुनी क्रियाकलाप मानव बेचबिखन, लागूपदार्थ ओसारपसार, वन्यजन्तुका अंग निकासी, बहमूल्य जडिबुटी, अवैध सुन लगायतका सामग्रीको ओसारपसार नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । केरुङसम्म जानका लागि जिल्ला बाहिरका बासिन्दालाई एकदिने पास र व्यवसायीलाई बिजनेस पासको व्यवस्था लागू गर्न नेपाली पक्षले बैठकमा पुनः चिनियाँ अधिकारीलाई अनुरोध गरेको छ ।


एकदिने पास लागु गर्ने विषयमा आफूहरूले माथिल्लो निकायमा जानकारी गराउने चिनियाँ पक्षले बैठकमा बताएको भण्डारीले सुनाए । नेपाली पक्षले ‘वान–डे पास’ नहुँदा व्यापार सहजीकरणमा असहज भएको बैठकमा बताएका थिए । पासको व्यवस्था नहुँंदा रसुवा जिल्लाभन्दा बाहिरका व्यापारीलाई केरुङ पुगेर व्यापार व्यवसाय गर्न असहज भएको छ । कन्टेनर चालकलाई १५ दिनको पास दिने प्रतिबद्धता जनाएका छन् । जिल्लाभन्दा बाहिरका व्यापारीले एकदिने पासको व्यवस्था नहुँदा केरुङसम्म जान नसकेको गुनासो गर्दै आएका छन् । रसुवा जिल्लाभन्दा बाहिरकालाई केरुङसम्म जाने पहुँच छैन । केरुङसम्म जान खुकुलो व्यवस्था भए व्यापार–व्यवसायले गति लिने व्यापारी बताउँछन् । चेलीबेटी बेचबिखनको विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकमा नेपालका तर्फबाट रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलगायत सुरक्षा अधिकारी र चिनियाँ पक्षबाट केरुङस्थित फ्रन्टायर इन्स्पेक्सन स्टेसनका मेजर केर्नेल गाओ हुइहाईसहित सुरक्षा अधिकारीको सहभागिता थियो ।

प्रकाशित : असार १९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?