कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाढीले बेहाल

भोटेकोसीको बाढीले तटीय क्षेत्रमा रहेका सीमा क्षेत्र लिपिङ, तातोपानी, कोदारी, दसकिलो हुादै चाकु जम्बुससम्म क्षति पुर्‍याएको छ । 
अनिश तिवारी

सिन्धुपाल्चोक — शनिबार बेलुकी अविरल वर्षाले उर्लिएको ह्याङले खोलाले ह्याङले गाउँस्थित स्थानीयको घर र चाकु बजार वारपार गर्ने पुल बगाएको छ । जलविद्युत् आयोजना भत्काएर आएको कोसीले चाकु बजारमा एकै रातमा ठूलो कटान गरेको छ । 

बाढीले बेहाल

श्रेष्ठ घर र पुल बगेपछि चाकु बजारका शिवबहादुर पिरोलिएका छन् । उनले बस्ती जोगाउन जनप्रतिनिधिलाई गुहारेका छन् । ‘कहिले भोटेकोसी बाढीले लैजाला भन्ने पीरले चिन्ता थपिएको छ, तल्लो छेउसम्म कोसीले हात्तै कटान गरेको छ,’ उनले भने, ‘बर्खापिच्छै पहिरो, भोटेकोसी बाढीले त्राहिमाम बनाएपछि तटीय क्षेत्रका परिवार चिन्तामा परेका छन् ।’


उनले बलियो बाँध नबनाइएकाले बर्खैपिच्छै यो कोसीको त्रास खेप्नुपर्ने दुखेसो पोखे । ‘कहिले पाइएला सुरक्षित बास ?,’ उनले प्रश्न गरे । सधैंजसो वर्षात हुन थालेपछि बजार एकै पटक बग्ने डरले रातदिन पीर लाग्ने गरेको चाकु बजारकी बिना श्रेष्ठको बताइन् ।


भोटेकोसी बाढीले तटीय क्षेत्रमा रहेका सीमाक्षेत्र लिपिङ, तातोपानी, कोदारी, दसकिलो हुँदै चाकु जम्बुसम्म क्षति पुर्‍याएको छ । १०२ मेगावाट लक्ष्यको मध्यभोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थलको बीच भाग पूरा बगाएको छ । माथिल्लो भोटेकोसी जलविद्युतको बाँधस्थल, टावर, एक्साभेटरदेखि शिवश्री, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त बनाएको छ । ‘चाकु, दसकिलोदेखि सीमावर्ती क्षेत्रसम्म बाढीको डरले त्रास छ, बर्खाले गर्दा कतिपय राजधानी फर्किने मनस्थितिमा समेत पुगिसकेका छन्,’ स्थानीय होमनाथ ढकालले भने ।


उनका अनुसार अघिल्लो बर्खामा भोटेकोसीको वितण्डा सम्झेर स्थानीयवासी थप त्रसित छन् । ०७१ जुरेपहिरो, ०७२ भूकम्प, ०७३ असार २१ भोटेकोसी बाढीदेखि अघिल्लो बर्खैपिच्छै पहिरो तटीय क्षेत्रका बासिन्दाले बेहोरिसकेका छन् । बाह्रबिसेदेखि तातोपानीसम्मको तटीय क्षेत्र जोखिममा परेकाले सुरक्षा सतर्कताका लागि सूचना दिइएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताए । ‘विभिन्न स्थानमा हुन सक्ने दुर्घटनाका लागि सुरक्षाकर्मी तयारी अवस्थामा छन्,’ उनले भने । पहिरोले सडक अवरुद्ध नुवाकोट– गर्जुेभन्ज्याङ–छहरे सडक खण्डको गुर्जेमा पहिरोले टिपर पुरिएर सडक अवरुद्ध भएको छ ।


उक्त सडक खण्डमा शनिबार राति १ बजे गएको पहिरोले नुवाकोटबाट काठमाडौं बालुवा लिएर जाँदै गरेको बा५ख १६७० नं. को टिपर परेको हो । सडक माथिबाट पहिरो आएपछि दुईवटा टिपर र एउटा सुमो अलपत्र परेका छन् । त्यस्तै, निजी गाडी र सुमोमा आएका यात्रु गुर्जेमा र नुवाकोट हुँदै काठमाडौं जान लागेका यात्रु गुरुङगाउँमा अलपत्र परेका छन् ।


यसैगरी सोही सडक खण्डको झोरमहांकाल–जगत–गुर्जेभन्ज्याङ सडकको झोर खोल्सामा आएको भेलले सडक अवरुद्ध बनाएको छ । उक्त सडकको शिवपुरी गाउँपालिका ६ र ७ वडाका विभिन्न ठाउँमा आधा दर्जन सानाठूला पहिरो गएका छन् । पासाङ ल्हामु मार्ग त्रिशूली–बालाजु र त्रिशूली–गल्छी सडक खण्ड भने सुचारु रहेको ट्राफिक कार्यालय विदुरका इन्चार्ज विकल भट्टराईले बताए ।

प्रकाशित : असार २३, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?