गाउँपालिकामा कानुनी सहजकर्ता

प्रताप विष्ट

(हेटौंडा) — ‘मादक पदार्थ सेवन गरेर राति पतिले घरबाट निकालिदिए । मलाई बस्ने ठाउँको व्यवस्था गरिदिनुपर्‍यो,’ भनेर पीडित महिला कानुनी सहजकर्तासँग पीडा पोख्छन् । पीडित महिलालाई केही दिन सुरक्षितसाथ राख्न गाउँपालिकामा आश्रयस्थल चाहिएको काभ्रेस्थित महाभारत गाउँपालिकाकी कानुनी सहजकर्ता कमला थापाले अनुरोध गरिन् ।

‘गाउँपालिकामा हिंसापीडित महिला न्यायका निम्ति आउने गर्छन्,’ उनले भनिन्, ‘परिवारको हिंसाका कारण तत्काल घर फर्कन चाहँदैनन् । तर गाउँपालिकामा राख्ने ठाउँ छैन ।’

दोलखा मैलुङ गाउँपालिकाकी कानुनी सहजकर्ता मीरा घिमिरेका अनुसार सहजकर्ताका कारणले हिंसामा परेका महिलालाई न्याय पाउन सहज भएको छ । उनीहरूबाट गाउँपालिकाको न्यायिक समितिलाई समेत टेवा पुगेको उनले बताइन् । सहजकर्ताले जनप्रतिनिधिलाई बजेट बनाउन सहयोग गर्ने, कानुनको अवस्था र सीमाका बारेमा पनि जानकारी दिन्छन् ।

यसैगरी, रसुवा उत्तरगया गाउँपालिकाकी कानुनी सहजकर्ता निर्मला पन्थीले उनीहरूका निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार नभएको गुनासो गरिन् । चौतारामा नै बसेर सेवाग्राहीलाई सहजीकरण गर्दै आएको पीडा सुनाइन् । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुनी सहजकर्ताको सोमबार हेटौंडामा समीक्षा कार्यक्रम राखेको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल प्रमुख अतिथि रहेको कार्यक्रममा प्रदेशका ७४ गाउँपाालिकामा खटिएका कानुनी सहजकर्ताको उपस्थिति थियो । अधिकांश सहजकर्ताले गाउँपालिकामा आएका मुद्दाहरू न्यायिक समितिमार्फत मेलमिलाप गरेर पठाउने गरेको जानकारी गराएका थिए ।

‘सामान्य झैझगडा सहजकर्ताले नै मिलाएर पठाउने गरेको छन्,’ मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले भने, ‘गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीलाई पनि सहज भएको छ ।’ कार्यालयमा आउने सेवाग्राहीलाई कागज पत्र मिलाइदिनेदेखि प्रक्रिया बुझाउने गरेका छन् ।

‘सहजकर्ताका कारण सेवाग्राही र जनप्रतिनिधिलाई मात्र होइन कार्यालयका कर्मचारीलाई पनि सहज भएको छ,’ जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले भनिन्, ‘गाउँपालिकाका सेवाग्राही र जनप्रतिनिधिलाई कानुनको बाटो हिँडाउने र प्रक्रिया देखाउने कानुनी सहजकर्ता हुन् ।’ समीक्षा कार्यक्रममा प्रदेश ३ का १३ जिल्लामध्ये भक्तपुर र काठमाडौंबाहेकका जिल्ला समन्वय समितिका उपप्रमुखको उपस्थिति रहेको थियो ।

ग्रामीण भेगमा रहेका अधिकांश अशिक्षित महिला सेवा लिन गाउँपालिका कार्यालयमा आउने गर्छर्न् । तर उनीहरूलाई प्रक्रिया नै थाहा हुँदैन । कार्यालयमा आउने सेवाग्राहीलाई बुझाउने काम सहजकर्ताले गर्ने गरेका छन् । विशेषगरी सहजकर्ता पनि महिला भएको र कानुनी पृष्ठभूमि पनि भएकाले सहज भएको गाँउपालिकाका जनप्रतिनिधिको बुझाइ छ ।

अधिकांश जनप्रतिनिधिका साथै गाउँपालिकाका उपाध्यक्ष जो न्यायिक समितिको संयोजक हुन्छ, उसलाई पनि कानुनी ज्ञान कम भएकाले सहजकर्ताबाट सहयोग पुगेको छ । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले भनिन्, ‘गाउँपालिकामा रहेका सहजकर्ताका कारणले न्यायिक समितिबाट मुद्दाहरू निरुपण र मेलमिलाप गराउन सहज भएको छ ।’

गाउँपालिकाको न्यायिक समितिको मेरुदण्डको रूपमा उनीहरू रहेको उनले बताइन् । प्रदेश ३ सरकारको आन्तरिक मामिला तथा कानुनी मन्त्रालयले प्रदेशअन्तर्गत रहेका गाउँपालिकामा एक/एक जना कानुनी सहजकर्ता गत माघदेखि नियुक्ति गरेर पठाएको छ ।

कार्यक्रममा मन्त्री जमरकट्टेलले गाउँपालिकामा कानुनी सहजकर्ताको भूमिका अत्यन्त प्रभावकारी रहेकाले यो कार्यक्रमलाई आगामी आवमा पनि निरन्तरता दिने बताए । ‘गाउँपालिकामा मात्र होइन, पहाडी भागमा रहेका नगरपालिकामा पनि कानुनी सहजकर्ता पठाउने तयारी गरिरहेका छौँ,’ उनले भने । कानुनी सहजकर्तामा ५१ जना महिला छन् । मन्त्रालयले कानुनी सहजकर्ता गाउँपालिकामा मात्र पठाएको हो । प्रदेश ३ मा १ सय १९ स्थानीय तह छन् । तीमध्ये ७४ वटा गाउँपालिका छन् ।

प्रकाशित : असार २६, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

परम्परागत प्रतिद्वन्द्वी भिड्दै

(एएफपी)

म्यानचेस्टर — लगातार चार वर्षको योजना र कठिन मिहिनेतको वास्तविक परीक्षा हुने बेला भएको छ, जति बेला इंग्ल्यान्डले विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाको सामना गर्नेछ ।

सन् २०१५ को विश्वकपमा इंग्ल्यान्डको खराब प्रदर्शनपछि टिमको एकदिवसीय क्रिकेटप्रतिको सोचमै पुनर्विचार गरिएको थियो र त्यसैअनुसार काम पनि भयो । त्यस क्रममा इंग्ल्यान्डले एकदिवसीयलाई पनि टेस्ट क्रिकेटजत्तिकै महत्त्व दिएको थियो ।

अस्ट्रेलियाली प्रशिक्षक ट्रेभर बेयलिसले इंग्ल्यान्डलाई एकदिवसीय विश्वकपको उपाधि दिन सबैखाले योजना बुनेका हुन् । त्यसको नतिजा आखिरमा राम्रो पनिरह्यो, इंग्ल्यान्ड नम्बर एक टिम बन्यो नै । इयान मोर्गनको नेतृत्वलाई सबैले प्रशंसा पनि गरे । इंग्ल्यान्डको यो उत्थानका प्रमुख विशेषता रहेको छ, आक्रामक रूपमा रन बटुल्ने । इंग्ल्यान्डका लागि अहिले प्रारम्भिक ब्याट्सम्यान जोडी जोनी बेरिस्टो र जेसन रोयले यस्तै प्रदर्शन गरिरहेका छन् ।

इंग्ल्यान्डले आफ्नो सबैभन्दा पुरानो प्रतिद्वन्द्वीलाई हराउने हो भने त्यो जितमै मात्र पनि सीमित हुने छैन, त्यसको धेरै फरक अर्थ हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार पाएको स्काईले इंग्ल्यान्ड फाइनलमा पुग्छ भने त्यसको प्रसारण बेलायतमा निःशुल्क गर्ने घोषणा गरेको छ ।

क्रिकेटको जन्मथलो इंग्ल्यान्डमै पैसा तिरेर क्रिकेट हेर्नेको संख्या घटेपछि स्काईले यस्तो प्रस्ताव राखेको हो । तय छ इंग्ल्यान्ड फाइनल पुग्यो भने जित इंग्लिस क्रिकेटकै हुनेछ । तर यो काम सजिलो भने हुने छैन । अस्ट्रेलियालाई लिएर एउटा तथ्य के भने यो टिम जति पटक सेमिफाइनल पुगेको छ, सबै अवसरमा विजयी रहेको छ, त्यसो भनेको सात पल्ट ।

त्यसमध्ये एक अवसरमा भने अस्ट्रेलियाले २० वर्षअगाडि एजबास्टनमै भएको खेलमा दक्षिण अफ्रिकासँग टाइ खेलेको थियो । त्यति बेला राम्रो नेट रनरेटका कारण अस्ट्रेलिया फाइनल पुगेको थियो । यसपल्ट समूह चरणमै पनि अस्ट्रेलियाले इंग्ल्यान्डलाई लर्डसमा गत महिना ४६ रनले हराएको थियो ।

त्यस खेलमा जेसन बिहरेन्डफ र माइकल स्टार्कले मिलेर एकापसमा ९ विकेट लिए । कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले अनि इंग्ल्यान्डका बलर अस्ट्रेलियाली ब्याटिङ आक्रमणसामु फिक्का देखिए । त्यस खेलमा खेल्न नपाएका रोय भने संयोगले फेरि इंग्ल्यान्ड टिममा फर्केका छन् । उनले भारत र न्युजिल्यान्डविरुद्ध राम्रो पनि गरेका छन् । अस्ट्रेलियाविरुद्ध एउटा तथ्य खराब पनि छ । यो हो एजबास्टन मैदानमा सन् २००१ यता अस्ट्रेलियाले केही पनि जितेको छैन । टेस्टदेखिट्वान्टी–२० क्रिकेटसम्म नै ।

यही मैदानमा अस्ट्रेलिया पछिल्लोपल्ट दक्षिण अफ्रिकासँग पनि लिग चरणको खेलमा १० रनले पराजित रहेको थियो । इंग्ल्यान्डलाई एकातर्फ बलिङमा स्टार्कलाई रोक्नुपर्नेछ भने अर्कोतर्फ अस्ट्रेलियाको माथिल्लो क्रमका आक्रामक ब्याटिङ क्रम पनि निस्तेज पार्ने चुनौती हुनेछ । इंग्लिस पेसम्यान लिएम प्लुन्केट भन्छन्, आफ्नो टिम सेमिफाइनल जस्तो ठूलो अवसरमा आफूलाई सिद्ध गर्न तयार छ । उनी दाबी गर्छन्, ‘हामी पहिले इंग्लिस टिम जस्तो होइनौं, हामी वास्तवमै फरक छौं ।’

प्रकाशित : असार २६, २०७६ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्