कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एउटासँग सम्झौता अर्काकोमा टावर

रमेशकुमार पौडेल

(चितवन) — नेपाल टेलिकम भरतपुर कार्यालयले चौकी गाउँको ढोडेनीमा राखेको मोबाइल फोनको टावर सम्झौता गरेको भन्दा फरक व्यक्तिको जग्गामा परेको भन्दै उजुरी दर्ता भएको छ । उजुरी परेको लामो समय भए पनि सुनुवाइ नभएको जग्गाधनीले गुनासो गरेका छन् । 

एउटासँग सम्झौता अर्काकोमा टावर

गत माघमा टेलिकमले टावर राखेको थियो । ‘हाम्रो जग्गामा टाबर बन्दै रहेछ तर हामीले केही जानकारी नै पाएका थिएनौं,’ जग्गाधनी माधवप्रसाद उप्रेती र राजेन्द्रकुमार पियाले भने । ढोडेनीमा उनीहरूले संयुक्त रूपमा साविक कविलास ६ ख को कित्ता १६७ मा पर्ने पाँच कठ्ठा जग्गा लिएका थिए । उप्रेती भरतपुरमा र पिया नारायणगढमा बस्दै आएका छन् । हाल भरतपुर महानगरपालिका–२९ मा पर्ने ढोडेनी नारायणगढ मुग्लिन सडकको भोर्लेबाट दक्षिणमा पर्ने पहाडी गाउँ हो ।


महानगरको पहाडी क्षेत्रमा र इच्छाकामना गाउँपालिकामा मोबाइल फोन सेवाको गुणस्तर बढाउन टेलिकमको भरतपुर कार्यालयले टावर निर्माण गरेको प्रमुख दीपककुमारले बताए । कार्यालयले कित्ता १५८ मा टाबर राख्न जग्गाधनीसँग सम्झौता गरेर काम अगाडि बढाएको उनले सुनाए । तर त्यसैको आडमा रहेको कित्ता १६७ का जग्गाधनी उप्रेती र पियाले टावर आफ्नो जग्गामा बनेको भनेर गएको मागमा कार्यालयमा निवेदन दर्ता गराएका थिए ।


‘हाम्रो सँधियारसँग सम्झौता गरेर टाबर बन्दै रहेछ । त्यति ठूलो काम गर्दा सँधियारको स्वीकृति हुनुपर्ने हो,’ जग्गाधनी पियाले भने । कार्यालयले जग्गा कसको हो भनेर छिनोफानो गर्नुपर्नेमा उजुरी दर्ता गराएको लामो समयसम्म पनि चुपचाप रहेको उनले गुनासो गरे ।


‘उजुरी परेपछि हामीले सम्झौता गरेको व्यक्तिलाई जग्गाको भाडा दिएका छैनौं । नापी कार्यालयलाई पत्र लेखेर कित्ता छुट्याउन भनेका छौं,’ नेपाल टेलिकम भरतपुर कार्यालयका प्रमुख दीपककुमारले भने । टेलिकमले नापी कार्यालयलाई फागुन २७ मा पत्र लेखेको थियो । नापी कार्यालयको आफ्नै प्रक्रिया हुने भएका कारण काम पूरा हुन समय लाग्ने टेलिकम प्रमुख दीपककुमारले बताए ।


टेलिकमले स्थानीय जगत लामासँग सम्झौता गरेको थियो । ‘उप्रेती, पिया र मैले खड्कबहादुर लामाको जग्गा लिएको हो । टावर बनेको जग्गा मेरो नै हो । तर उनीहरूले खै किन हो मेरो भनेर दाबी गर्नुभएको छ,’ जगतले भने । उनीहरूले उजुरी गरेपछि आफूले जग्गा भाडा पनि नपाएको लामाले बताए । उनले महिनाको ४५ सय रुपैयाँ भाडा पाउने सम्झौतामा उल्लेख छ ।


प्रकाशित : असार २६, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?