गापा अध्यक्ष र उपाध्यक्षको विवाद

अनिश तिवारी

(सिन्धुपाल्चोक) — जिल्लाका अरु स्थानीय तहभन्दा १४ दिन ढिलो आठौ गाउँसभा गरिरहेको सुनकोसी गाउँपालिकाका जनप्रतिनिधि खुबै हतारिएका देखिन्थे । गाउँसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम सुन्ने जनता माझ उपप्रमुख लक्ष्मी पौडेलले अनभिज्ञता देखाएपछि कार्यक्रमले अर्को मोड लियो ।

‘सबैमा नमस्कारसँगै म माफी माग्न चाहान्छु। मलाई झुक्याएर बनाइएको नीति तथा कार्यक्रमबारे म पूर्ण अनभिज्ञ छु। यसप्रति म जिम्मेवार हुने छैन्,’ गाउँसभाबीच ‘थोरै कुरा राख्छु ’ भन्दै पौडेलले भावविह्वल स्वरमा गुनासो गरिन्।

गाउँपालिका अध्यक्षलाई आफ्नो परीक्षाबारे जानकारी दिँदादिँदै पनि अनुपस्थित भएको मौका छोपेर नीति तथा कार्यक्रम तयार पारेको उनले आरोप लगाइन्।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्नुअघि राजस्व परामर्श तथा स्थानीय राजस्व परामर्श समितिको बैठक बस्नुपर्ने ऐनमा उल्लेख छ। स्थानीय माझ हुनुपर्ने भेला,छलफल केही पनि नगरिएको उनको भनाइ छ। ‘प्रमुखले यस्ता कुनै कानुनी प्रक्रियाबिना सबैकुरा आफ्नै तरिकाले गर्नुभयो, म आफै गाउँसभा भन्ने फेसबुकबाट थाहा पाएर आए म के गरु तपाईहरु भन्नुस्?’ उनले प्रश्न गरिन्।

एकैछिनको मौनता चिर्दै सुनकोसी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसीले उपप्रमुखलाई झर्पार्दै आक्रमक रुपमा उत्रिए। ‘यसको जिम्मा सबै म लिन्छु। उपप्रमुखलाई वास्ता नगरेकै हो। म नै प्रमुख हो। तपाईं पढ्नुस मात्रै,’ उनले आक्रमक स्वरमा यही शब्द दोहोर्‍याए। प्रमुख–उपप्रमुखको असन्तुष्टीपूर्ण जुहारी चलेपछि गाउँसभा एकदमै स्तब्ध बन्यो।
उपस्थितले कार्यक्रम अगाडि बढाउन अनुरोध गरेपछि भावुक उपप्रमुखले नीति तथा कार्यक्रम रुन्चे स्वरमा वाचन गरिन्। प्रमुख जिसीले त्यसको बदलामा कार्यक्रममै उपाध्यक्षलाई विभिन्न आरोप लगाउँदै गालीगलौजसम्म पुगे। उपप्रमुख हुँदाहुँदै कार्यपालिका सदस्यलाई कार्यभार दिएर विवादित बनेका प्रमुख जिसीले ‘सुनकोसीमा नदी उत्खनन’ र ‘वडाध्यक्षलाई कार्यवाहक’ समाचारको विषयलाई लिएर कान्तिपुरकर्मीमाथि हातपात प्रयास गरेका थिए।

‘नोट अफ डिसेन्ट’ लेख्दा कुट्न आए
यसअघि धेरै पटक सुनकोसी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसीले आफुलाई कुट्न समेत् आएको उपाध्यक्ष लक्ष्मी पौडेलले कान्तिपुरलाई बताइन्।

‘यो त सामान्य हो, मैले उहाँको धेरै थर्काइ,धम्की दुर्व्यवहार सहिसकेको छु, सबै कुरामा उहाँको मनमौजी चलाउनु हुन्छ, हामी केवल मुकदर्शक बनेर बस्नुबाहेक विकल्प छैन्,’ उनले भावुक हुँदै भनिन्। स्थानीय ऐनअनुसार आफ्नो संयोजकत्वमा हुनुपर्ने अनुगमन नै नगरी जिसीले सबै योजना र बजेटको फर्छ्यौट गर्ने गरेको उनले सुनाइन्।

२०७६ जेठ २१ गते सुनकोसी गाउँपालिकाको नियमित बैठकमा गाउँपालिकाको केन्द्र विषयलाई लिएर विवाद मच्चिएको थियो। २०७३ सर्वदलिय भेलाले पायक स्थानमा गाउँपालिकाको केन्द्र सिँयाले निर्धारण गरेको हुँदाहुँदै प्रमुखले आफ्नो अनुकुल कालिकाको शेराबेसी लैजाने भन्दै माइन्युट हस्ताक्षरमा आफै जुटेका थिए।

उपाध्यक्ष पौडेलले असहमती जनाउँदै माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेख्दा ‘तलाई टिपेर पछार्छु ’भन्दै झम्टिएर प्रमुखले हातपात गर्न खोजेका थिए। ‘त्यसपछि उहाँले सिधै माइन्युट च्यातेर फाल्नुभयो,मलाई खुब थर्काउनुभयो,’उनले भनिन्।

प्रकाशित : असार २६, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्

गजुरीमा २२० केजि गाँजा बरामद

हरिहरसिंह राठौर

गजुरी(धादिङ) — गजुरी इलाका प्रहरीले मलेखुबाट चितवनको भण्डारा जाने चेपाङमार्गबाट बिहीबार बिहानै २ सय २० केजी गाँजा को धुलो बरामद गरेको छ । 

चेपाङ मार्गको गजुरी २ डुङेठाटीमा कारोबारीहरुले गाँजा किनेर लैजान लागेको सूचना पाए लगत्तै प्रहरी उक्त बाटोमा गाडी कुरेर बसेको थियो । गाँजाको धुलोसहित बेनिघाट रोराङ १ खामभन्ज्याङ बस्ने ४१ वर्षका काइला भन्ने डिलबहादुर तामाङ पक्राउ परेका छन् । उनको साथबाट ८ वटा बोरा मा २५ /२५ केजीका प्लास्टिकको प्याकेज गराएर राखेको अवस्थामा गाँजाको धुलो बरामद गरिएको गजुरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए ।

तामाङ यसअघि पनि लागू पदार्थ ओसारपसार मुद्दामा १ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।
बरामद लागु पदार्थसहित तामाङलाई थप छानबिनका लागि जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ ।

प्रकाशित : असार २६, २०७६ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्