२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गापा अध्यक्ष र उपाध्यक्षको विवाद

अनिश तिवारी

(सिन्धुपाल्चोक) — जिल्लाका अरु स्थानीय तहभन्दा १४ दिन ढिलो आठौ गाउँसभा गरिरहेको सुनकोसी गाउँपालिकाका जनप्रतिनिधि खुबै हतारिएका देखिन्थे । गाउँसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम सुन्ने जनता माझ उपप्रमुख लक्ष्मी पौडेलले अनभिज्ञता देखाएपछि कार्यक्रमले अर्को मोड लियो ।

गापा अध्यक्ष र उपाध्यक्षको विवाद

‘सबैमा नमस्कारसँगै म माफी माग्न चाहान्छु । मलाई झुक्याएर बनाइएको नीति तथा कार्यक्रमबारे म पूर्ण अनभिज्ञ छु । यसप्रति म जिम्मेवार हुने छैन्,’ गाउँसभाबीच ‘थोरै कुरा राख्छु ’ भन्दै पौडेलले भावविह्वल स्वरमा गुनासो गरिन् ।

गाउँपालिका अध्यक्षलाई आफ्नो परीक्षाबारे जानकारी दिँदादिँदै पनि अनुपस्थित भएको मौका छोपेर नीति तथा कार्यक्रम तयार पारेको उनले आरोप लगाइन् ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्नुअघि राजस्व परामर्श तथा स्थानीय राजस्व परामर्श समितिको बैठक बस्नुपर्ने ऐनमा उल्लेख छ । स्थानीय माझ हुनुपर्ने भेला,छलफल केही पनि नगरिएको उनको भनाइ छ । ‘प्रमुखले यस्ता कुनै कानुनी प्रक्रियाबिना सबैकुरा आफ्नै तरिकाले गर्नुभयो, म आफै गाउँसभा भन्ने फेसबुकबाट थाहा पाएर आए म के गरु तपाईहरु भन्नुस् ?’ उनले प्रश्न गरिन् ।

एकैछिनको मौनता चिर्दै सुनकोसी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसीले उपप्रमुखलाई झर्पार्दै आक्रमक रुपमा उत्रिए । ‘यसको जिम्मा सबै म लिन्छु । उपप्रमुखलाई वास्ता नगरेकै हो । म नै प्रमुख हो । तपाईं पढ्नुस मात्रै,’ उनले आक्रमक स्वरमा यही शब्द दोहोर्‍याए । प्रमुख–उपप्रमुखको असन्तुष्टीपूर्ण जुहारी चलेपछि गाउँसभा एकदमै स्तब्ध बन्यो ।

उपस्थितले कार्यक्रम अगाडि बढाउन अनुरोध गरेपछि भावुक उपप्रमुखले नीति तथा कार्यक्रम रुन्चे स्वरमा वाचन गरिन् । प्रमुख जिसीले त्यसको बदलामा कार्यक्रममै उपाध्यक्षलाई विभिन्न आरोप लगाउँदै गालीगलौजसम्म पुगे । उपप्रमुख हुँदाहुँदै कार्यपालिका सदस्यलाई कार्यभार दिएर विवादित बनेका प्रमुख जिसीले ‘सुनकोसीमा नदी उत्खनन’ र ‘वडाध्यक्षलाई कार्यवाहक’ समाचारको विषयलाई लिएर कान्तिपुरकर्मीमाथि हातपात प्रयास गरेका थिए ।

‘नोट अफ डिसेन्ट’ लेख्दा कुट्न आए

यसअघि धेरै पटक सुनकोसी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसीले आफुलाई कुट्न समेत् आएको उपाध्यक्ष लक्ष्मी पौडेलले कान्तिपुरलाई बताइन् ।

‘यो त सामान्य हो, मैले उहाँको धेरै थर्काइ,धम्की दुर्व्यवहार सहिसकेको छु, सबै कुरामा उहाँको मनमौजी चलाउनु हुन्छ, हामी केवल मुकदर्शक बनेर बस्नुबाहेक विकल्प छैन्,’ उनले भावुक हुँदै भनिन् । स्थानीय ऐनअनुसार आफ्नो संयोजकत्वमा हुनुपर्ने अनुगमन नै नगरी जिसीले सबै योजना र बजेटको फर्छ्यौट गर्ने गरेको उनले सुनाइन् ।

२०७६ जेठ २१ गते सुनकोसी गाउँपालिकाको नियमित बैठकमा गाउँपालिकाको केन्द्र विषयलाई लिएर विवाद मच्चिएको थियो । २०७३ सर्वदलिय भेलाले पायक स्थानमा गाउँपालिकाको केन्द्र सिँयाले निर्धारण गरेको हुँदाहुँदै प्रमुखले आफ्नो अनुकुल कालिकाको शेराबेसी लैजाने भन्दै माइन्युट हस्ताक्षरमा आफै जुटेका थिए ।

उपाध्यक्ष पौडेलले असहमती जनाउँदै माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेख्दा ‘तलाई टिपेर पछार्छु ’भन्दै झम्टिएर प्रमुखले हातपात गर्न खोजेका थिए । ‘त्यसपछि उहाँले सिधै माइन्युट च्यातेर फाल्नुभयो,मलाई खुब थर्काउनुभयो,’उनले भनिन् ।


प्रकाशित : असार २६, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?