दुर्घटनामा गाउँपालिका अध्यक्ष घाइते
काठमाडौँ — धादिङबेंसीबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका सोही गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल घाइते भएका छन् ।
धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नम्बरको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोले मोटरसाइकललाई धेरै परसम्म तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनापछि पनि उक्त जिप नरोकिकन अगाडि बढाएको घटनास्थलमा उद्धारमा संलग्न जीवन सिलवालले बताए । मोटसाइकलमा सवार भएका व्यक्तिले गाडीले ठक्कर दिएपछि अर्कोपट्टि लडेका कारण आफूहरु बाँच्न सफल भएको बताए ।
घाइते अध्यक्ष सिलवाललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा अस्पतालमा पठाइएको छ । दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।
प्रकाशित : असार २६, २०७६ १४:५४