कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जोखिमयुक्त बस्तीमै भूकम्पपीडित

रसुवा जिल्लाका १ हजार २० परिवारमध्ये ६ सय २० ले मात्रै सुरक्षित स्थानमा जग्गा खरिद गरे
बलराम घिमिरे

रसुवा — जोखिमयुक्त बस्तीका भूकम्पपीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन । आफ्नो थातथलोमा पहिरो गएपछि विस्थापित भएर उनीहरू अन्य स्थानमा बसोबास गर्दै आएका छन् । 

जोखिमयुक्त बस्तीमा परेका भूकम्पपीडितमा सबैभन्दा धेरै साविकको हाकु र डाँडागाउँका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरिएको भौगर्भिक अध्ययनले जिल्लाका ७० स्थानका बस्ती जोखिमयुक्त भनी देखाएको छ । जसमध्ये ३० वटा बस्तीलाई पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ । २५ बस्तीलाई भने आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षित गर्न सकिने प्राविधिकले सुझाव दिएका छन् ।


उत्तरगया गाउँपालिकाको करुमर्‍याङ, चिप्लेटी, गोगने, मैलुङ, सिरुचेत, तिरु, पैरेबेसी, लयुङलगायत ठाउँलाई जोखिमयुक्त बस्ती भनिएको छ । गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दोगाउँ, तार्सा, देश्यागाउँ, लाङटाङ, मुण्डुप, सिन्धुम, गुम्चेत, लामाहोटललगायतका बस्ती पहिरोको जोखिममा छन् । कालिका गाउँपालिको राम्चे, गुम्चेत, ग्राङ, प्राङसे लगायतको क्षेत्र जोखिममा रहेको छ ।


आमाछोदिङ्मो गाउँपालिकाको सानो हाकु, पाजुङ, केराबारी, टेताङचे, ब्राप्चे लगायतका गाउँ जोखिमयुक्त बस्ती भनेर प्राधिकरणबाट उल्लेख गरिएको छ । त्यस्तै नौकुण्ड गाउँपालिकाको खाल्चेत, दोक्लाङ, घोर्मु, लाम्राङ, पाटीर्खक, फाम्चेत, साङयुल थाङदोर लगायतका क्षेत्र भौगर्भिक अध्ययनबाट जोखिम देखिएको प्राधिकरणले जनाएको छ ।


धेरैजसो विस्थापित परिवार उत्तरगया–५ बोगटीटार र खाल्टेमा आश्रय लिएर बसेका छन् । प्राधिकरणले रसुवा जिल्लाको जोखिमयुक्त बस्तीका १ हजार २० परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको छ । अहिलेसम्म ६ सय २० परिवारले सुरक्षित स्थानमा बसोबासका लागि जग्गा खरिद गरिसकेका छन् । त्यसमध्ये ४ सय परिवारको स्थानान्तरण हुन बाँकी छ ।


जिल्लामा पर्याप्त र सुरक्षित जग्गा पाउनै मुस्किल भएको भूकम्पपीडित जंगबहादुर तामाङले बताए । ‘अहिले जग्गाको भाउ बढेको छ,’ उनले भने, ‘२ लाखमा चार आना जग्गा किन्न सक्ने अवस्था छैन ।’ जिल्लामा जग्गाको अभाव भएपछि ८५ भन्दा बढी परिवारले छिमेकी जिल्ला नुवाकोटमा गएर जग्गा खरिद गरेका छन् । सुरक्षित स्थानमा बसोबासका लागि जग्गा खरिद गरिसकेका परिवारले पनि अझै घर बनाउन सुरु गरेका छैनन् । करिब १ सय ५० परिवारले मात्र घर बनाउन थालेका छन् ।


घडेरीका लागि योग्य जग्गा खरिद गर्न दुई लाख अनुदान लिइसकेकाहरू एकीकृत बस्तीको प्रक्रियामा रहेकाले घर निर्माणमा ढिलाइ भएको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख दिवस आचार्यले बताए ।


उनीहरू एकीकृत बस्तीमा जाने भएकाले नबनाएको आचार्यले सुनाए । तिरुमा एकीकृत बस्ती निर्माण गर्न सडक खन्ने काम भइसकेको छ । जिल्लाको ४ स्थान लाङ्बु, तिरु, बोगटीटार र पाङलिङमा एकीकृत बस्ती निर्माणको प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने ।


जोखिमयुक्त बस्तीमा परेका तर स्थानान्तरण हुन बाँकी रहेका भूकम्पपीडितलाई राख्नका लागि सुरक्षित र उपयुक्त जग्गा खोज्ने काम पनि भइरहेको आचार्यले बताए । जिल्लाको खाल्टेमा करिब २ सय ६९ परिवार अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । त्यस्तै छिमेकी जिल्ला नुवाकोटको इनारपाटीमा करिब ८४ र सातबिसेमा करिब २० परिवार बसोबास गर्दै आएका छन् ।


सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले जोखियुक्त बस्तीका भूकम्पपीडितलाई जग्गा खोज्ने र २ लाख लिने प्रक्रियाबारे आवश्यक सहयोग गरिरहेको छ । लामो समयदेखि टहरामा बस्दा विस्थापित भूकम्पपीडितको दैनिकी कष्टकर बन्दै गएको छ । रसुवा जिल्लामा १० हजार ३ सय घर निर्माण भएका छन् । पछिल्लो समय जिल्लामा पुनर्निर्माणले गति लिएको छ । जिल्लामा १२ हजार ५ सय १४ लाभग्राही रहेका छन् ।


त्यसमध्ये ११ हजार ७ सय ८५ जनाले पहिलो किस्ताबापत्को ५० हजार बुझिसकेका छन् । दोस्रो किस्ता बुझ्नेको संख्या ११ हजार १ सय ८० रहेको छ । १० हजार ३ सय जनाले घर निर्माण सम्पन्न गरिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?