त्रिभुवन राजपथ र छोटो मार्ग अवरुद्ध

सुवास विडारी

मकवानपुर — हेटौंडाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने त्रिभुवन राजपथ र छोटो मार्गहरु वर्षासँगै आएको पहिरो कारण अवरुद्ध भएका छन् । त्रिभुवन राजपथ, हेटौंडा-फाखेल-काठमाडौं, हेटौंडा-सिस्नेरी-काठमाडौं, कान्तिलोकपथ सडक वर्षात्सँगै खसेको पहिरो कारण अवरुद्ध भएका छन् ।

शुक्रबार विहानको वर्षात्सँगै भीमफेदी गाउँपालिका-१, बाघझोरामा आएको बाढीका कारण त्रिभुनवराजपथ र छोटो मार्गहरु अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईन्द्रसरोवर गाउँपालिका-२, देउराली भन्दाएक किलोमिटर तल शुक्रबार बिहान पानीले लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको भएपनि हाल भने उक्त पहिरो हटाइसकिएको छ ।

अहिले बाटो अवरुद्धहुँदा काठमाडौंबाट हेटौंडा र हेटौंडाबाट काठमाडौं हिँडेका सवारी बाघझोरामा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् । उक्त स्थान हेटौंडाबाट सात किलोमिटर उत्तरतर्फ पर्दछ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गतको इन्द्रसरोवर २ र ३ को सीमा छेपारो गएको पहिरो हटाउन नसक्दा अझै सडक अवरुद्ध नै रहेको छ ।

वर्षाका कारण पूर्णरुपमा सडकमा भएको पहिरो हटाउन नसकेकोले अवरुद्ध बनेको सडक खुलाउन नसकिएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

निरन्तर परेको वर्षासँगै गएको पहिरोले गर्दा सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ अझै सञ्चालनमा आउन सकेको छैन । कान्तिलोक पथअन्तर्गत् भीमफेदी गाउँपालिका-८, गंगटे, कालोपहिरो भन्ने ठाउँमा सोमबार दिउँसो पहिरो र मंगलबार बिहान लेनडाँडा सिमात खोला नजिकै ठुलो ढुङ्गा खस्दा राजपथ अवरुद्ध बनेको हो ।

हेटौंडा-५, गर्दोहीमा वर्षात्सँगै आएको भेलका कारण तीनवटा घर डुवानमा परेका जिल्ला प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक सिंहका अनुसार डुवान क्षेत्रमा प्रहरी परिचालन गरी डुवा प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी, प्रदेश ३ को मुकाम हेटौंडा आसापास रहेका राप्ती, कर्रा, त्रिवेणी, सामरी खोलाको बहाब समेत बढेको छ । वर्षात्सँगै विभिन्न स्थानमा गएको सानासान पहिरोका कारण विद्युत् सेवा अवरुद्ध रहेको छ ।

प्रकाशित : असार २७, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

त्रिभुवन विमानस्थलमा यतिको एटीआर विमान धावनमार्गबाट चिप्लियो, २ जना घाइते [अपडेट]

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लियो ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा 'डेल्टा' नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।

जहाज चिप्लिएको स्थान गत वर्ष विमान बंगलादेश दुर्घटना भएको स्थानबाट लगभग १०० मिटर नजिको रहेको छ।

विमानमा सवार यात्रुहरुमध्ये २ जना घाइते भएको बताइएको छ। उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ।

विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको छ। रनवेमा दमकल तथा एम्बुलेन्स पुगेका छन्।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जहाजको दाइने प्रोपेलर (पंखा) मा केही क्षति पुगेको बताए।

निरन्तरत वर्षा भइरहेकाले जहाजलाई निकाल्न ग्राहो भइरहेको छ। उनले जहाज चिप्लिँदा सवार यात्रुमध्ये एकजना बिरामी रहेको र थप दुईजना यात्रु घाइते हुन पुगेको जानकारी दिए। उनीहरुलाई एम्बुलेन्समा केएमसी लगिएको र हाल अवस्था सामन्य भएको एयरलाइन्सले आफूलाई जनाकारी दिएको क्षत्रीले बताए।

विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। जसका कारण हालसम्म ९ वटा अन्तर्राष्ट्रिय विमानको अवतरण स्थगन गरिएको छ भने। उडान भर्नुपर्ने १० विमानको उडान पनि स्थगित भएको छ।

तस्बिर: अंगद ढकाल


प्रकाशित : असार २७, २०७६ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्