पहिरोमा परी एकको मृत्यु, वीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका–१ को झुल्केमा पहिरोमा परी शुक्रवार दिउँसो एक महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार लगातारको वर्षापछि खसेको पहिरोको कारण ३५ वर्षीय हेमकुमारी सुनुवारको मृत्यु भएको हो ।

गोठमा काम गर्दै गरेको बेलामा पहिरो झरेर बगाएको र स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।


पहिरोमा परी गोठ र त्यहाँ रहेका तीनवटा गाई र केही बाख्रा बगेका छन् । वीपी राजमार्गको ठाउँ ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ । गोलन्जोर गाउँपालिका–५ को सोलाभन्ज्याँङ र खनियाँखर्क नजिक पहिरो खसेर शुक्रवार बिहानैदेखि वीपी राजमार्ग अवरुद्ध बनेको थियो । मेसिनले पहिरो पन्छाएपछि एकतर्फी सडक सञ्चालनमा आएको छ ।


यस्तै, माथिल्लो बारामा समेत पहिरो खसेर सडक अवरुद्ध बनाएको छ । पानी परिरहेकाले पहिरो सफा गर्न कठिनाइ उत्पन्न भएको छ । सुनकोशी गाउँपालिका–१ को कमेरे नजिक खहरेमा आएको बाढीका कारण राजमार्ग अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा राजधानी भित्रिने र बाहिरिने सयौँ सवारी साधन रोकिएका छन् ।


पानी पर्न नरोकिएकाले अवरुद्ध सडक खुलाउन कठिनाइ उत्पन्न भएको छ । त्यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–६ को हैवारमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

प्रकाशित : असार २७, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?