पहिरोले मन्थली–खुर्कोट सडक अवरुद्ध

टीकाप्रसाद भट्ट

रामेछाप — अविरल वर्षापछि आएको पहिरोले मन्थली खुर्कोट सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकाम जोड्ने पुष्पलाल मार्ग अन्तरगत मन्थली–खुर्कोट सडक खण्ड शनिबार पनि खुलाउन सकिएको छैन । शुक्रबार अवरोध पन्छाएर आंशिक रूपमा उक्त सडक खुलाइएपनि राति पहिरो गएपछि पुनः अवरुद्ध भएको हो । 

उक्त सडक खण्डको कुनाउरी, हातिटार लगायतका स्थानमा झरेको पहिरो पन्छाएपनि खुर्कोटको सुनकोसी पुल क्षेत्रको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसीले बताइन् ।

शनिबार बिहानैदेखि सडकखण्डका विभिन्न भागमा पहिरो पन्छाएर ठाउँ ठाउँमा अड्किएका सवारी साधनलाई सुरक्षित रूपमा मन्थली पुर्‍याइएको बताइन् ।

खुर्कोट पुलको उत्तरी भागमा झरेको ठुलो ढुङ्गा हटाउनका लागि मेसिन झिकाइएको छ । जेसिभीले नसक्ने भएकाले उक्त ढुंगालाई ब्रेकर लगाउनुपर्ने अवस्था छ ।

यसैबिच वीपी राजमार्गको माथिल्लो बारामा पनि सडक अवरुद्ध छ । सडकमा झरेको ढुङ्गा हटाउन नसकिएकाले यातायात आवागमन खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ २०:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

माई खोलामा ३ छात्रा बेपत्ता

कान्तिपुर संवाददाता

इलाम — वर्षासँगै माई खोलामा आएको बाढीले बगाएर शनिबार इलाममा ३ जना छात्रा बेपत्ता भएका छन् । जिल्लाको माई नगरपालिका स्थित माई खोलामा आएको बाढीले बगाएर माईनगरपालिका–१ जुवाले भन्ने स्थानका तीनजना विद्यार्थी बेपत्ता भएका हुन् ।


बेपत्ता हुनेमा १४ वर्षीया आकृति लिम्बू र १३ वर्षीया सुनिता साउदेन र १६ वर्षीया निशा सुनुवार रहेका छन्।

बेपत्ता भएका विद्यार्थी सोही नगरपालिकाको वडा नम्बर ६ महमाईमा रहेको माई भगवती माविमा अध्ययनरत विद्यार्थी हुन्। विद्यालयमा अध्ययनरत उनीहरू शुक्रबार परीक्षा लेख्न गएका थिए।

परीक्षा सकेपछि घर फर्कने क्रममा माईखोलामा बाढी आएपछि महमाईमै बास बसेको र शनिबार बिहान घर फर्कने क्रममा खोला तर्दै गर्दा खोलाको सतह बढेपछि उनीहरूलाई बगाएको थियो।

प्रकाशित : असार २८, २०७६ २०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT