कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोरखा दरबार पुननिर्माण- जगमै बित्यो २० महिना

हरिराम उप्रेती

(गोरखा) — पुनर्निर्माणका क्रममा रहेको गोरखा दरबारको जगको काममै २० महिना बितेको छ । निर्माण कम्पनीको चरम लापरबाहीका कारण काम निकै सुस्त छ । 

गोरखा दरबार पुननिर्माण- जगमै बित्यो २० महिना

२०७४ कात्तिक २९ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी पचली सिवाको जेभि कन्ट्रसनले २०७४ पुस २ गते दरबार जगैदेखि भत्काएको छ । २०७६ मंसिर मसान्तभित्र बनाइसक्नुपर्ने सम्झौता रहेकोमा पाँच महिना मात्र बाँकी छँदा कामै सुरु भएको छैन ।


‘हामीले बोलेको सुन्दैनन्,’ स्थानीय रामबहादुर कुंवरले भने, ‘इट्टा, काठ छरपस्ट छन्, निर्माणस्थलमा कामदार देखिँदैनन ।’ दरवार पुनर्निर्माण नहुदा पर्यटकको संख्या पनि घटेको उनले बताए । ‘अहिले मान्छे पनि छैनन्, व्यापार पनि छैन,’ उनले भने, ‘पर्यटक इतिहास हेर्न र अध्ययन गर्न आउने हुन्, यस्तो भद्रगोल अवस्था हेर्न किन आउने ?’ जग निर्माण क्रममा फुटाउनै नपर्ने ढुङ्गा पनि फुटाइएको उनको भनाइ छ । ‘पहरामाथि बनेको दरबार हो, ढुङ्गा फाल्ने भए बुढापाकाले उहिल्यै फाल्थे,’ उनले भने, ‘पहिले जस्तो थियो, त्यस्तै बनाउनुपर्‍यो ।’


यही अवस्था रहे अबको ३ वर्षमा पनि दरावर नठडीने स्थानीय राजकुमार अच्छामीले बताए । ‘कोही कामदार पैसा पाइन भन्दै फर्किएका छन्,’ उनले भने, ‘कामदार नै कम छन्, कसरी छिटो काम हुनु ?’ भूकम्पले चर्किएपछि ४ करोड ३७ लाख रुपैयाँ लागतमा पुनर्निर्माण योजना अघि सारिएको हो । पुरानै स्वरूपमा बनाउन आवश्यक काष्ठकलाका सामग्री, झिँगटी र इँट्टा सुरक्षित राखिएको छ । यो दरबारबाट शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायणसम्मले शासन गरेको इतिहास छ ।


ठेकेदारलाई चाडो काम सक्न बारम्बार ताकेता गरिरहेको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले बताए । ‘लगातार काम भए दरवार ठडीन मात्र अझै डेढ वर्ष लाग्ला,’ उनले भने । काठ अभावमा झन्डै २ महिना रोकिएको काम अहिले सुरु भएको उनको भनाइ छ । जग निर्माणपछि चाहिने चाहिने थाम, लकासी लगायत सामाग्री वनाउन काठमाडौँबाट कामदार आएका छन् ।


अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ । निर्धारित समयमै काम सक्ने निर्माण कम्पनीका म्यानेजिङ डाइरेक्टर सुशीलबाबु श्रेष्ठले दावी गरे । ‘पुरानो दरबार भत्काएर स्टोर गर्न ५ महिना लाग्यो’ उनले भने, ‘फाउन्डेशन बलियो बनाउन पनि समय लाग्यो । हेर्दा ढिलो देखिए पनि काम धेरै भएको छ ।’


दरबारसँगै रहेको कालिका मन्दिरको पनि प्राविधिकहरूले ३ साताअघि स्थलगत अध्ययन गरेका छन् । पुनर्निर्माण गर्ने वा रेक्ट्रोफिटिङ (मर्मत) गर्ने निर्क्योल भइनसकेको कट्टेलले बताए । ‘रिपोर्ट आइसकेको छैन,’ उनले भने ।


कालिका मन्दिरको गारोको केही भाग चर्किएको छ भने छानाको झिँगटी बाँदरले छरपस्ट पारेको छ । छाना जोगाउन अहिले झिँगटी माथि जस्ता राखिएको छ । दरवार परिसरमै रहेको सितल पाटीको झिगटी बाँदरले झारेपछि त्रिपाल ओढाइएको छ । आइतबार जिल्ला रेडक्रसले त्रिपाल उपलब्ध गराएको हो । दमै पाटीमा भने गोरखा दरबार हेरचाह अड्डाले त्रिपाल खरिद गरेर ढाकेको छ ।

प्रकाशित : असार ३०, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?