२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

त्रिभुवन राजपथ र छोटो मार्ग पुनः सञ्चालनमा

सुवास विडारी

मकवानपुर — अविरल वर्षाका कारण सोमबार मध्यरातबाट बन्द रहेको हेटैंडा–काठमाडौं जोड्ने दुईवटा सडक पुनः सञ्चालनमा आएको छ ।
त्रिभुवन राजपथ र  हेटौंडा–फाखेल–काठमाडौं सडक सोमबार मध्यान्हबाट सञ्चालनमा आएको हो ।

आइतबार बिहानबाट सञ्चालनमा आएका दुवै मार्ग सोमबार मध्यरातमा पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फाखेल र सिस्नेरी सडक अवरुद्ध भएपछि हेटौंडाबाट अधिकांश सवारी त्रिभुवन राजपथ हुँदै गुड्ने गरेका थिए । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका–१, गुम्बाचोकमा गएको पहिरो प्रहरीले पन्छाएको थियो ।

अविरल वर्षाका कारण अवरुद्ध भई आइतबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको हेटौंडा–फाखेल–हुमाने काठमाडौं सडक सोमबार रातिबाट फेरि बन्द भएको थियो । इन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला र हुमानेमा पहिरो गएपछि हेटौंडा–फाखेल–हुमाने काठमाडौं सडक पुनः अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार लेदोमाटोसँगै पहिरो गएको सडक खण्डको अवरोध पन्छाएसँगै हाल एकतर्फी रुप उक्त मार्ग सञ्चालन भएको छ । अझै हेटौंडा–सिस्नेरी–काठमाडौं र कान्तिलोकपथको विभिन्न स्थानमा गएको पहिरो पन्छाउँन नसक्दा एक हप्तादेखी दुवै सडकखण्ड पूर्णरुपमा बन्द अवस्थामा रहेका छन् ।

बाढी र वर्षात्का कारण हालसम्म मकवानपुरमा ज्यान गुमाउनेको संख्या आधा दर्जन पुगिसकेको छ । विशेष गरी सोमबार राति मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका, इन्द्रसरोबार र भीमफेदी गाउँपालिकामा आएको अबिरल वर्षात्का कारण धेरै बाली नालीसहित घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३०, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?