४३ किलो चरेससहित ७० वर्षीया भारतीय पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले चितवनमा ७० वर्षीया एक भारतीय महिलालाई ४३ किलो चरेससहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले सोमबार राति सवा १० बजे रत्ननगर नगरपालिका–२ बाट भारत मोतिहारी जिल्ला घर भएकी नुरजाहा खातुनलाई नियन्त्रणमा लिएको हो ।

रत्ननगरमा उनी आफ्नो छोरीको घरमा बस्ने गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायणण कोइरालाले बताए।

टाँडी इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष आचार्यको टोलीले खानतलास गर्दा ४३ किलो चरेस बरामद गरेको कोइरालालले बताए। बरामद ४३ किलो चरेस र महिलालाई इलाका प्रहरी कार्यालय टाँडीमा नै राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। चरेसलाई बाक्लो लेदो बनाएर चारवटा जरकिनमा राखेको अवस्थामा बरामद गरेको हो।

प्राय प्याकेट बनाएर भारत लैजादा फेला पर्ने गरेकोमा यो पटक जरकिनमा भेटिएको छ। तस्करी गर्ने नयाँ तरिका अपनाउन यसो गरेको हुन सक्ने डिएसपी कोइरालाले बताए। यस बारे पूर्ण अनुसन्धान बाँकी नै रहेको डिएसपी कोइरालाले बताए।

प्रकाशित : असार ३१, २०७६ ०८:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फेरि नयाँ स्टक एक्सचेन्ज

यज्ञ बञ्जाडे

काठमाडौँ — पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउने घोषणा गरेको छ । सोमबार आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोर्डले यस्तो खुलासा गरेको हो ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

‘नेप्सेको संस्थागत सुधारको साथै निजी क्षेत्रमा अर्को स्टक एक्सचेन्ज स्थापना गर्न दिने नीतिगत व्यवस्था भएअनुसार यस कार्यलाई अगाडि बढाउने,’ बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।

सेयर बजारलाई थप व्यावहारिक र प्रतिस्पर्धी बनाउन अर्को एक्सचेन्ज कम्पनी आवश्यक देखिएको बोर्डका प्रवक्ता नीरज गिरीले बताए । ‘वस्तु विनिमय बजारमा दुईवटा एक्सचेन्जलाई अनुमति दिने निर्णय भएको छ,’ उनले भने, ‘त्यसकै आधारमा सेयर बजारमा पनि अर्को एक्सचेन्ज थप्ने नीति पुनः ल्याइएको हो ।’ अर्थतन्त्रको आकार र पुँजी बजारको विस्तारका आधारमा नयाँ एक्सचेन्ज आवश्यक देखिएको उनले बताए । नयाँ कम्पनी अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधियुक्त हुने भएकाले पुँजी बजारको आधुनिकीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने उनको दाबी छ ।

निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज थप्ने प्रस्ताव नयाँ भने होइन । यसअघि पनि बोर्डले यसबारेमा प्रक्रिया अघि बढाइसकेको छ । ती सबै प्रक्रिया निरर्थक भएका थिए ।

अहिले फेरि सोही योजना अघि सारिएको हो । यसपालिको घोषणा विगतको भन्दा भिन्दै खालको छ । यसअघिका नीतिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभावकारी रूपमा काम गर्न नसकेर नयाँ ल्याउनुपरेको बताउँदै आएको बोर्डले यसपटक भने नेप्सेको संस्थागत सुधारलाई पनि समेटेको छ ।

नयाँ एक्सचेन्जका लागि बोर्डले दशकअघिदेखि नै प्रक्रिया थालेको थियो । २०६६ सालमा शूरवीर पौड्याल बोर्ड अध्यक्ष हुँदा नयाँ एक्सचेन्ज थप्न अनुमतिपत्रका लागि आवेदन आहवान गरिएको थियो । त्यतिबेला ४ वटा कम्पनीको आवेदन परेको थियो । अर्थ मन्त्रालयका तत्कालीन सहसचिव लालमणि जोशीको संयोजकत्वमा एक्सचेन्ज कम्पनी थप गर्नेबारे अध्ययन गर्न समिति बनाइएको थियो । यही क्रममा टोलिले मेलसियालगायत राष्ट्र भ्रमण पनि गरेको थियो ।

त्यतिबेला समितिले पहिलो चरणमा नेपाल स्टक एक्सचेन्जलाई सुधार गर्ने र दोस्रो चरणमा नयाँ कम्पनी भित्र्याउने सुझाव दिएपछि प्रक्रिया रोकिएको बोर्डका पूर्वअध्यक्ष पौड्यालले बताए । ‘करिब ४० वटा सूचीकृत कम्पनीको लगानीमा ४ वटा एक्सचेन्ज कम्पनीका लागि आवेदन आएको थियो,’ उनले भने, ‘तत्कालीन समयमा अर्थ मन्त्रालय पनि खासै सकारात्मक नभएकाले प्रक्रिया अघि नबढेको हो ।’

सरकारी लगानीमा सञ्चालित नेप्सेलाई सरकारले एकाधिकारबाट प्रतिस्पर्धामा लान नचाहेकै कारण नयाँ एक्सचेन्ज आउन नसकेको पौड्यालको भनाइ छ । ‘सरकारले नेप्सेको एकाधिकार तोड्नै चाहँदैन,’ उनले भने, ‘यसकारण नेप्सेमा रहेको राष्ट्र बैंक र अर्थ मन्त्रालयको सेयर पनि बिक्री भएको छैन ।’

राज्य नियन्त्रित अवस्थामा नेप्सेबाट प्रभावकारी रूपमा काम हुन नसक्ने उनले बताए । ‘सरकारले नेप्सेलाई आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनाउन पाएको छ,’ उनले थपे, ‘अनि किन निजीकरण गरोस् र नयाँ आउन देओस् ।’ दोस्रो बजारमा पहिलो नियामक निकाय (फन्टलाइन रेगुलेटर) नेप्से नै भएकाले यसलाई सक्षम प्रतिस्पर्धी र आधुनिक बनाउनुपर्ने उनको सुझाव छ ।

बोर्डले एक वर्षअघि नै निजी क्षेत्रको लगानीमा नयाँ एउटा एक्सचेन्जलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । सोही निर्णयको आधारमा बोर्डले अर्थ मन्त्रालयको सहमिति पनि मागेको थियो । यसबारेमा अर्थ मन्त्रालयबाट ‘ग्रिन सिग्नल’ नपाएपछि बोर्ड पछि हटेको थियो । आगामी वर्षको नीति तथा कार्यक्रममा यसलाई फेरि उठाइएको हो ।

‘धितोपत्र बजार सञ्चालन नियमावली २०६४’ अनुसार एक्सचेन्ज कम्पनी स्थापनाका लागि न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ हुने र आवश्यकताअनुसार बोर्डले तोक्न सक्ने व्यवस्था छ । यसका आधार नयाँ कम्पनीका लागि न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोक्ने तयारी बोर्डले गरेको थियो । ‘बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र धितोपत्र बजारको सेयर ग्रहण गर्न सक्नेछ,’ नियमावलीमा भनिएको छ, ‘कुनै एक कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको कुल सेयर पुँजीको १० प्रतिशतभन्दा बढी अंश ग्रहण गर्न पाउने छैन ।’

२०३३ सालमा सेक्युरिटी खरिद–बिक्री केन्द्र स्थापना भएपछि सरकारी ऋणपत्रको दैनिक खरिद–बिक्रीको व्यवस्थाबाट धितोपत्र बजारको संस्थागत विकासको सुरुआत भएको हो । उक्त केन्द्रलाई धितोपत्र खरिद–बिक्री ऐन, २०४० लाई ०४९ मा संशोधन गरी २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) मा रूपान्तरण गरिएको थियो । हालसम्म पनि यो संस्था सरकारी स्वामित्वको रूपमा सञ्चालित छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममार्फत पुँजी बजार सुधारका लागि बोर्डले विभिन्न कार्यक्रम अघि बढाएको छ । जसमध्ये बोर्डको संस्थागत तथा नियमन क्षमताको अभिवृद्धि गर्दै धितोपत्र तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, बजार पूर्वाधारको विकाससँगै बजार सहभागीको कार्यक्षेत्र, स्तर तथा व्यावसायिकतामा सुधार ल्याउने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने तथा वित्तीय साक्षरताको स्थितिलाई सुदृढ गर्नेलगायत लक्ष्य बोर्डले तय गरेको छ ।

बैंकले जस्तै बिमा कम्पनीले पनि सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने व्यवस्था ल्याइने भएको छ । ‘सामूहिक लगानी योजनाको विकास विस्तार र प्रवर्द्धनका लागि सम्झौतित बचत परिचालन गर्ने बिमा कम्पनीको सहायक कम्पनीमार्फत सहभागी हुन सक्ने व्यवस्था गर्ने,’ बोर्डले भनेको छ । क्रेडिट रेटिङ व्यवसायलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन शुल्क पुनरावलोकन तथा संस्थाको रेटिङजस्ता व्यवस्थासहित आधारभूत सुधार गर्ने योजना पनि बोर्डको छ ।

वित्तीय लगानीकर्ता/ग्राहकको संरक्षणसम्बन्धी व्यवस्थालाई सुदृढ गर्दै वित्तीय समावेशी नीति तर्जुमा गर्ने, एक नेपाली एक डिम्याट खातासम्बन्धी नीतिलाई थप प्रभावकारी बनाउने, सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको (बल्क कारोबार) व्यवस्था गर्ने ।

सूचीकृत वास्तविक क्षेत्रका कम्पनी, जलविद्युत् क्षेत्रका कम्पनी तथा सामूहिक लगानी कोषले बोर्डमा पेस गर्ने विवरण प्रवाहका लागि प्रारूप तयार गर्ने कार्यक्रम पनि बोर्डले सार्वजनिक गरेको छ ।

प्रकाशित : असार ३१, २०७६ ०८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT