१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आर्थिक वर्ष सकिने अघिल्लो दिन बजेट

नगेन्द्र अधिकारी

(काभ्रे) — जिल्लाका ४ स्थानीय तहले चालु आर्थिक वर्ष सकिन एक दिनअघि मात्रै वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी पारित गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै पेस गर्नुपर्ने बताए पनि त्यसको बेवास्ता भएको हो ।

२८ करोड ७७ लाखको बजेट अंक प्रस्तुत गरेको चौरीदेउराली गाउँपालिकाले योजनागत बजेट पनि विनियोजन गरेको छैन ।


सोमबार नै बजेट प्रस्तुत गरेका बनेपा, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाले एकै दिनमा पारित गरेका छन् । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं बादेले पर्याप्त छलफल भइसकेकाले एकै दिनमा पारित गरिएको तर्क गरे । नगरसभामा प्रतिनिधित्व गर्ने दलको विवादका कारण पाँचखालमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने मिति धकेलिँदै आएको थियो ।


नगरसभाको औपचारिक सुरुवात गरेको बेथानचोकले बजेट भने सोमबार मात्रै प्रस्तुत गरेको थियो । यसअघि ४१ करोड ८१ हजार बजेट अंक मात्रै प्रस्तुत गरेको भुम्लु गाउँपालिकाले पनि सोमबार मात्रै बजेट तथा आर्थिक विधेयक पारित गरेका हो । वडागत सिलिङ तोकेको बजेट नमोबुद्ध नगरपालिकाले आइतबार मात्रै पारित गरेको छ । तेमाल गाउँपालिकाले पनि आइतबार मात्रै बजेट पारित गरेको हो ।


चौरीदेउराली गाउँपालिकाले अझै बजेटमाथि छलफल चलाएको छैन । अध्यक्ष दीनानाथ गौतम छोरोको बिहेमा व्यस्त भएकाले पनि बजेटले अन्तिम रूप पाउन नसकेको हो । ‘विधिवत् रूपमा गाउँसभा सकायौं, बजेट प्रस्तुत हुन मात्रै बाँकी छ, अहिले वडा समितिको बैठक राखिरहेको छु,’ प्रवक्तासमेत रहेका वडा नं ५ का अध्यक्ष राजकुमार गौतमले भने, ‘वर्षाको समय पनि भयो, अध्यक्षको छोराको बिहेले पनि थोरै समस्या त पारेको हो तर त्यो मात्रै कारण हैन, अघिल्लो वर्षको बजेट कार्यान्वयन गर्न पनि समय लागेकोले केही ढिला भएको हो ।’


प्रदेश र संघबाट आउने अनुदान कटौती हुने डरले स्थानीय तहले असार १० आसपासमा नीति तथा कार्यक्रम र बजेट अंक प्रस्तुत गरेर औपचारिकता पुरा गरेका थिए । धुलिखेल नगरपालिका र महाभारत गाउँपालिकाले मात्रै तोकिएको मितिमा प्रस्तुत गरी पारित गरेका हुन् ।


बनेपामा कांग्रेसको बहिष्कार

बनेपा नगरको बजेट प्रस्तुत र पारित गर्ने कार्यसूची भएको पाँचांै अधिवेशनको तेस्रो बैठक नेपाली कांग्रेसकातर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कांग्रेसको अनुपस्थितिबीच बजेट पारित भएको छ । ७२ सदस्यीय नगरसभामा कांग्रेसका ५ वडाअध्यक्षसहित २१ सदस्य छन् ।


नगरस्तरीय योजना छनोटमा सहभागी नगराएको, कांग्रेस निर्वाचित वडामा कम बजेट विनियोजन गरेको, दुई तिहाइको दम्भ प्रस्तुत गरेको, दीर्घकालीन योजना नीति तथा कार्यक्रममा परे पनि बजेटमा समावेश नभएको, नगरको मुख्य समस्याको रूपमा रहेको खानेपानी, फोहोरमैला व्यवस्थापनको विषय सम्बोधन हुने अवस्था नदेखेकाले सहभागी नभएको वडा २ का अध्यक्ष हरिशरण घिमिरे जनाए ।


बजेट प्रस्तुत गर्ने उपप्रमुख रेखा सापकोटा दाहालले संघ, प्रदेश र नगरस्तरीय योजना परेका वडामा रकम केही कम विनियोजन भएको स्विकारिन् । नगरप्रमुख लक्ष्मीनरसिं बादेका अनुसार, १४ वटै वडालाई पूर्वाधार विकास र आपत्कालीन कोषका लागि न्यूनतम ४० लाख विनियोजन भएको छ । त्यसबाहेक भौगोलिक अवस्थिति, सुगमता, जनसंख्याका आधारमा विनियोजन गरेको उनले दाबी गरे ।

प्रकाशित : श्रावण १, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?