कृषि आधुनिकीकरणका लागि  पाँच करोडका यन्त्र

सुवास बिडारी

(मकवानपुर) — प्रदेश ३ सरकारले कृषिलाई आधुनिकीकरण गर्न करिब पाँच करोड रुपैयाँ खर्चेर कृषि यन्त्रहरू खरिद गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिलाई आधुनिकीकरण गर्दै विषादीमुक्त बनाउने नीतिअनुरूप माटो परीक्षण यन्त्रलगायत सामग्री खरिद गरेको हो ।

मन्त्रालयले करिब एक करोड ३३ लाख रुपैयाँमा चारवटा भेटनरी एम्बुलेन्स, एक करोड २५ लाख रुपैयाँ खर्चेर माटो परीक्षण गर्ने पाँच वटा मेसिन, एक करोड ७५ लाख रुपैयाँमा विषादी परीक्षण गर्ने पाँचवटा मेसिन र ८० लाखका लगानीमा माटो परीक्षण गर्ने भ्यान खरिद गरेको मन्त्रालयले जनायो ।
प्रदेश सरकारले वर्ष ०७५/७६ को नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्षको अन्तिममा विभिन्न जिल्लालाई वितरण गर्ने गरी सामग्री खरिद गरे पनि चारवटा भेटनरी एम्बुलेन्स भने कुन जिल्लालाई वितरण गर्ने अझै टुंगो नलागेको मन्त्रालयका प्रवक्ता निर्मलकुमार गदालले बताए । उनका अनुसार मन्त्रालयले प्रदेशभरको १३ जिल्ला हेर्ने गरी करिब एक करोड ३३ लाख रुपैयाँ खर्चेर भेटनरी एम्बुलेन्स खरिद गरेको हो ।

‘हामीले मन्त्रालय मातहतमा राखेर एम्बुलेन्स सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं । तर, सञ्चालन कार्यविधि भने बनेको छैन,’ उनले भने, ‘एम्बुलेन्सभित्र पशुको उपचारका लागि आवश्यक प्राथमिक औषधि रहने छन् । हामीले प्रत्येक एम्बुलेन्समा एउटा डाक्टरको समेत व्यवस्था गर्ने छौं ।’ उनले आगामी आर्थिक वर्षमा पनि भेटनरी एम्बुलेन्स खरिद गर्ने र प्रदेशभर रहेका भेटनरी अस्पताललाई समेत उपलब्ध गराउने तयारी मन्त्रालयले गरिरहेको जनाए ।

‘एम्बुलेन्समा डाक्टर र पशुको उपचारका लागि आवश्यक पर्ने प्राथमिकता औषधिसहितको टोलीलाई प्रदेशभर हेर्ने गरी व्यवस्था मिलाइने छ,’ उनले भने, ‘यसका लागि छिट्टै सञ्चालनको कार्यविधि बनेर बाँकी कामको प्रक्रिया अगाडि बढाइने छ ।’

उनका अनुसार प्रदेशका पाँचवटा जिल्लामा विषादी अवशेष नियमन प्रयोगशाला स्थापना र सञ्चालन गर्न पाँचवटा विषादी परीक्षण मेसिन खरिद गरिएको हो ।

उक्त मेसिन कृषि ज्ञान केन्द्र चितवन, माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडा, कृषि ज्ञान केन्द्र ललितपुर तथा कृषि ज्ञान केन्द्र काभ्रेलाई वितरण गरिने छ । यसैगरी, माटो परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन गर्न विभिन्न पाँच जिल्लाका स्थानीय तहलाई माटो परीक्षण मेसिन हस्तान्तरण गरिने छ । चितवनको खैरहनी नगरपालिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिका, नुवाकोटको विदुर गाउँपालिका, काभ्रेको पाँचखाल नगरपालिका र धादिङको सिद्वलेख गाउँपालिकालाई हस्तान्तरण गरिने छ ।

‘मन्त्रालयले सहयोग गरेको स्थानीय तह र जिल्लामा माटो तथा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने हाम्रो लक्ष्य रहेको छ,’ गदालले भने । उनका अनुसार माटो र विषादी परीक्षण
प्रयोगशाला नभएको स्थानमा ८० लाख रुपैयाँ खर्चेर किनिएको प्रयोगशालासहितको भ्यानले सहयोग गर्ने छ ।

अघिल्लो आर्थिक वर्षमा विशेष गरी उत्पादनको आधारमा अनुदान वितरण र १० जिल्लामा शीतभण्डार निर्माणमा केन्द्रित गरेको मन्त्रालयले आगामी आर्थिक वर्ष ०७६/७७ मा कृषिमा यान्त्रिकीकरणमा जोड दिइने उनले बताए । गदालका अनुसार मन्त्रालयलेकाठमाडौं उपत्यकाभित्रको तीन जिल्लाबाहेक अन्य जिल्लामा शीतभण्डार निर्माणको तयारी अगाडि बढाइसकेको छ । प्रदेश सरकारले ५२ करोड रुपैयाँ बराबरको लागतमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइरहेको छ ।

प्रकाशित : श्रावण १, २०७६ १२:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आर्थिक वर्ष सकिने अघिल्लो दिन बजेट

नगेन्द्र अधिकारी

(काभ्रे) — जिल्लाका ४ स्थानीय तहले चालु आर्थिक वर्ष सकिन एक दिनअघि मात्रै वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी पारित गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै पेस गर्नुपर्ने बताए पनि त्यसको बेवास्ता भएको हो ।

२८ करोड ७७ लाखको बजेट अंक प्रस्तुत गरेको चौरीदेउराली गाउँपालिकाले योजनागत बजेट पनि विनियोजन गरेको छैन ।

सोमबार नै बजेट प्रस्तुत गरेका बनेपा, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाले एकै दिनमा पारित गरेका छन् । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं बादेले पर्याप्त छलफल भइसकेकाले एकै दिनमा पारित गरिएको तर्क गरे । नगरसभामा प्रतिनिधित्व गर्ने दलको विवादका कारण पाँचखालमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने मिति धकेलिँदै आएको थियो ।

नगरसभाको औपचारिक सुरुवात गरेको बेथानचोकले बजेट भने सोमबार मात्रै प्रस्तुत गरेको थियो । यसअघि ४१ करोड ८१ हजार बजेट अंक मात्रै प्रस्तुत गरेको भुम्लु गाउँपालिकाले पनि सोमबार मात्रै बजेट तथा आर्थिक विधेयक पारित गरेका हो । वडागत सिलिङ तोकेको बजेट नमोबुद्ध नगरपालिकाले आइतबार मात्रै पारित गरेको छ । तेमाल गाउँपालिकाले पनि आइतबार मात्रै बजेट पारित गरेको हो ।

चौरीदेउराली गाउँपालिकाले अझै बजेटमाथि छलफल चलाएको छैन । अध्यक्ष दीनानाथ गौतम छोरोको बिहेमा व्यस्त भएकाले पनि बजेटले अन्तिम रूप पाउन नसकेको हो । ‘विधिवत् रूपमा गाउँसभा सकायौं, बजेट प्रस्तुत हुन मात्रै बाँकी छ, अहिले वडा समितिको बैठक राखिरहेको छु,’ प्रवक्तासमेत रहेका वडा नं ५ का अध्यक्ष राजकुमार गौतमले भने, ‘वर्षाको समय पनि भयो, अध्यक्षको छोराको बिहेले पनि थोरै समस्या त पारेको हो तर त्यो मात्रै कारण हैन, अघिल्लो वर्षको बजेट कार्यान्वयन गर्न पनि समय लागेकोले केही ढिला भएको हो ।’

प्रदेश र संघबाट आउने अनुदान कटौती हुने डरले स्थानीय तहले असार १० आसपासमा नीति तथा कार्यक्रम र बजेट अंक प्रस्तुत गरेर औपचारिकता पुरा गरेका थिए । धुलिखेल नगरपालिका र महाभारत गाउँपालिकाले मात्रै तोकिएको मितिमा प्रस्तुत गरी पारित गरेका हुन् ।

बनेपामा कांग्रेसको बहिष्कार
बनेपा नगरको बजेट प्रस्तुत र पारित गर्ने कार्यसूची भएको पाँचांै अधिवेशनको तेस्रो बैठक नेपाली कांग्रेसकातर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कांग्रेसको अनुपस्थितिबीच बजेट पारित भएको छ । ७२ सदस्यीय नगरसभामा कांग्रेसका ५ वडाअध्यक्षसहित २१ सदस्य छन् ।

नगरस्तरीय योजना छनोटमा सहभागी नगराएको, कांग्रेस निर्वाचित वडामा कम बजेट विनियोजन गरेको, दुई तिहाइको दम्भ प्रस्तुत गरेको, दीर्घकालीन योजना नीति तथा कार्यक्रममा परे पनि बजेटमा समावेश नभएको, नगरको मुख्य समस्याको रूपमा रहेको खानेपानी, फोहोरमैला व्यवस्थापनको विषय सम्बोधन हुने अवस्था नदेखेकाले सहभागी नभएको वडा २ का अध्यक्ष हरिशरण घिमिरे जनाए ।

बजेट प्रस्तुत गर्ने उपप्रमुख रेखा सापकोटा दाहालले संघ, प्रदेश र नगरस्तरीय योजना परेका वडामा रकम केही कम विनियोजन भएको स्विकारिन् । नगरप्रमुख लक्ष्मीनरसिं बादेका अनुसार, १४ वटै वडालाई पूर्वाधार विकास र आपत्कालीन कोषका लागि न्यूनतम ४० लाख विनियोजन भएको छ । त्यसबाहेक भौगोलिक अवस्थिति, सुगमता, जनसंख्याका आधारमा विनियोजन गरेको उनले दाबी गरे ।

प्रकाशित : श्रावण १, २०७६ १२:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT