बाढीले पुल भत्कायो

मकवानपुर — वर्षासँगै आएको बाढीले धरान–चतरा–हेटौंडा सडक आयोजनाअन्तर्गत मकवानपुर र सिन्धुलीको सिमानामा निर्माणाधीन पुल भत्किएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको पूर्वी क्षेत्रको वाग्मती खोलामा बन्दै गरेको पुलमा क्षति भएको हो । 

आयोजनाका प्रवक्ता तथा इन्जिनियर केशव ओझाका अनुसार ढलान गरेर राखिएको अवस्थाका टेको खोलाले बगाएको थियो । ‘करिब ६५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ,’ उनले भने, ‘पुलमा ११ स्ल्याब हुन्छन् जसमध्ये एउटा बगाएको र एउटामा सामान्य क्षति पुगेको देखिन्छ ।’ हेटौंडा बजारबाट करिब ५५ किलोमिटर पूर्वमा पर्ने पुलको ठेक्का स्वच्छन्द निर्माण सेवा कम्पनी लिएको छ ।


करिब २२ करोड रुपैयाँ लागतमा २०७७ साल जेठ महिनामा पूरा गर्ने गरी पुल निर्माण भइरहेको हो । पुलको लम्बाइ करिब ४ सय ५ मिटर रहेको प्रवक्ता ओझाले जानकारी दिए ।


उनका अनुसार निर्माणाधीन सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको छ । ‘नयाँ माटो कटिङ भएका कारण केही स्थानमा पहिरो खसेको छ । जसले गर्दा सडकलाई प्रत्यक्ष असर गरेको छ,’ उनले भने, ‘हामीले पहिरो पन्छाउन थालिसकेका छौं भने हाम्रो टोली सडकको अवस्था बुझ्न फिल्डमा पनि खटिसकेको छ ।’  झन्डै ३ सय १८ किमि लामो धरान–चतरा–हेटौंडा सडकको निर्माण पूर्वी र पश्चिम गरी दुई भागमा विभाजन गरिएको छ । मकवानपुर क्षेत्रलाई पश्चिम र सुनसरी क्षेत्रलाई पूर्व गरी विभाजन गरिएको हो ।


सडकको पश्चिमी खण्डतर्फ ३३ वटा र पूर्वी खण्डतर्फ ४६ पुल निर्माण हुने छन् । पश्चिम खण्डअन्तर्गत मकवानपुरमा हालसम्म २० पुलको निर्माण पूरा भइसकेको छ भने १० वटा अन्तिम चरणमा छन् । बाटोको रेखांकनका कारण अझै २ पुलको निर्माण सुरु भएको छैन ।


पूर्वतर्फ ३३ पुलमध्ये ३२ वटा जेटीआईसी, अनक र लुम्बी जेभीले निर्माण गरिरहेका छन् । नयाँ आर्थिक वर्षभित्र सडक र पुल दुवैतर्फको काम सकिने दाबी आयोजनाको छ । उनका अनुसार पुलतर्फ ७५ प्रतिशत र सडकतर्फ ५५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ । धरान–चतरा सडक मकवानपुरमा ४९ किमि, सिन्धुलीमा १ सय ४० किमि, उदयपुरमा ११० किमि र सुनसरीमा १८ किलोमिटर पर्छ ।


आव २०६४/२०६५ देखि सुरु भएको योजनामा सरकारले बर्सेनि ८ करोडदेखि २५ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको छ । गत आर्थिक वर्षमा सरकारले करिब तीन अर्ब रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण २, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?