१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

करेसामा जलकुम्भी

भान्सा र बाथरुमबाट निस्कने पानीलाई जलकुम्भीले शुद्ध बनाउने भएकाले भरतपुरका घरघरमा लगाइँदै 
रमेशकुमार पौडेल

चितवन — जलकुम्भी झार जलाशयका लागि खतरनाक बन्दै गएको छ । तालतलैया, खोलानालालाई झपक्क ढाकेको हुन्छ यसले । जलकुम्भी भरिएपछि पानीभित्र जीव र जलचर राम्रोसँग हुर्कन पाउँदैनन् ।

करेसामा जलकुम्भी

तालतलैया नै सुकाउ सक्नेसम्मको दुर्गुण हुन्छ यसमा । यस्तो झारलाई कसले हुर्काउने बढाउने गर्नु ? सकेसम्म उखेल्ने र फ्याँक्ने नै गर्छन् । भरतपुरका केही घरको करेसामा भने जलकुम्भी हुर्काउन सुरु गरिएको छ ।


भरतपुर महानगरपालिका–७ कृष्णपुर दीपज्योति टोलमा छ मनीष सापकोटाको घर । उनको घरवरपर निकै हरियाली छ । चौरमा दुबो छ । सिजनअनुसारका फलफूलका बोट छन् । रुद्राक्षको अजंगको बोट नै घरको आडमा छ । सापकोटाले दुई महिनाअघि जलकुम्भी झार बोकेर ल्याए । छपक्कै हरियाली भएको घरमा जलकुम्भी ल्याउँदा छिमेकी छक्क परे । ‘बोटबिरुवाको के कमी थियो र यस्तो झार बोकेर आएको समेत भने नि,’ सापकोटाले सुनाए ।


उनले जलकुम्भी ल्याउनुको उद्देश्य घरमा बिरुवाको प्रजाति थप्नुभन्दा पनि हरियालीलाई चम्काउनु थियो । भान्सा र स्नान घर (बाथरुम) बाट निस्केको पानी शुद्ध बनाउन उनले जलकुम्भीको प्रयोग गरेका छन् । झन्डै तीन हजार लिटर पानी अट्ने एउटा ट्यांकी बनाएका छन्, जहाँ भान्सा र बाथरुमको फोहोर पानी आएर जम्मा हुन्छ ।


त्यसमाथि उनले जलकुम्भी झार राखेका छन् । ‘साबुन मिसिएको फोहोर पानी ट्यांकीमा आएर जम्मा भएपछि जलकुम्भी झारको जराले त्यसलाई छान्ने काम गर्दो रहेछ । पानी भरिँदै गएपछि सफा पानी ओभरफ्लो भएर बाहिर निस्कन थाल्छ । त्यसरी बाहिर निस्केको पानी २० मिटर पर नौ फिट गहिरो इनारजस्तो खाल्डोमा जम्मा गरेर राख्ने गरिन्छ,’ सापकोटाले बेलीबिस्तार लगाए । एक दिनमा जलकुम्भीले छानेको कम्तीमा दुई हजार लिटर पानी जम्मा हुने गर्छ ।


‘पहिला भान्साको र बाथरुमको पानी बगैंचा, तरकारी र बोटबिरुवामा हाल्नै मिल्ने थिएन,’ सापकोटाले भने, ‘जलकुम्भी राखेपछि बाहिर सफा पानी आउने गर्छ । त्यो पानी राख्दा बोटबिरुवालाई कुनै हानि भएको छैन । राम्रैसँग हुर्केका छन् ।’


पहिला उनले खानेपानीको धारामा आउने पानी करेसाबारी र बगैंचामा प्रयोग गर्दथे । अहिले रोकियो । ‘खानेपानी बोर्डले बाँडेको धाराको पानी बोटबिरुवामा हाल्ने, भान्साको पानी खेर जाने अवस्था थियो,’ उनले भने, ‘जलकुम्भी राखेपछि यो समस्या हल भयो ।’


जलकुम्भीबाट पानी शुद्ध बनाउने ट्यांकी निर्माणमा १८ हजार रुपैयाँ खर्च भएको थियो । त्योमध्ये १५ हजार रुपैयाँ उनले स्थानीय सरकारबाट अनुदान पाउने भएका छन् । जुन रकम प्रदेश सरकारले उपलब्ध गराएको हो ।


प्रदेश–३ का प्रदेशसभा सदस्य सांसद विजय सुवेदीका अनुसार जलकुम्भी झारले पानी शुद्ध बनाउने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छ । ‘तालतलैयामा टाउको दुखाइ बनेको यो जलकुम्भी घरमा ल्याएर पानी शुद्ध बनाउन सकिने भएपछि मेरो निर्वाचन क्षेत्रमा केही नमुना योग्य काम गरौं भन्ने लाग्यो र पानी प्रशोधन गर्ने यस्तो काममा स्थानीयलाई संलग्न गराइएको हो,’ सांसद सुवेदीले भने ।


उनको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुरको २, ४, ५, ७, १०, ११ र १२ वडाका १४ टोलमा वातावरण सुधारसम्बन्धी योजनाहरू सुरु भएको छन् । जसमध्ये ६ वटा वडाका एक एक घरमा तत्कालका लागि पानी शुद्धीकरण गर्न जलकुम्भी राखेको ट्यांकी निर्माण भएका छन् । जलकुम्भी लगाएको पानी ट्यांकीवरपर भुसुना र लामखुट्टे आउने पो हुन् कि भन्ने पीर लाग्न सक्छ ।


‘भुसुना र लामखुट्टे आएको चाल मैले पाएको छैन,’ सापकोटाले भने, ‘तर आउने पो हुन् कि भनेर एउटा नेट (जाली) ल्याएको छु । एक पटक ल्याएको नेटले तीन वर्ष काम गर्छ ।’ बुधबार प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल सापकोटको घर पुगेर जलकुम्भीबाट भए गरेको कामका बारेमा बुझेका थिए ।

प्रकाशित : श्रावण २, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?