१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्यान्सरसँग लड्दै जनताको सेवा

मकवानपुर — उमेरले ३९ वर्षकी भइन् रुपा खुलाल । उनी हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य हुन् । हेटौंडा–१३ मा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी खुलाललाई क्यान्सर रोगले सताएको ३ वर्ष भयो ।

ब्रेस्ट क्यान्सरसँग लड्दै जनताको काम गर्दै गाउँ–सहर गर्दै आएकी खुलाल विगत केही समयदेखि भने थलिएकी छन् ।


‘दुवै ब्रेस्टको किमो गरेपछि जनताको काम भनेर हिँड्न पाएको छैन,’ आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘मर्न त मनै छैन । जसरी पनि निको भएर अगाडि बढ्नुपर्छ भन्नेमा छु । तर, उपचारका लागि राम्रो डाक्टरसँग सम्पर्क हुन सकिरहेको छैन ।’ २०७० सालदेखि पतिसँग अलग्गिएर दुई छोरीका साथमा बस्दै आएकी उनले हालसम्म उपचारको क्रममा करिब १६ लाख रुपैयाँ खर्च गरिसकेको बताइन् ।


‘अंशमा आएको तीन कठ्ठामध्ये एक कठ्ठा बेचेर उपचार गरिसकेको छु । बाँकी जग्गा छोरीको नाममा रहेको छ,’ उनले भनिन् । उनकी एउटी छोरी २० वर्षकी र अर्को १२ वर्षकी छन् । ‘छोरी पढाउँदै, घरको काम गरेर जनताको काममा समेत सहभागी हुन भ्याउँथें,’ उनले भनिन्, ‘मलाई केही भइहाल्यो भने मेरा छोरीहरूको बिजोग हुन्छ ।’ उनी भाडाको कोठामा छोरीहरूसँग बस्दै आएकी छन् ।


उनले चितवनको नारायणी सामुदायिक र भरतपुर क्यान्सर अस्पतालमा उपचार गरेको बताइन् । ‘सरकारी अस्पतालमा सोचेजस्तो सुविधा नहुने रै’छ । आवश्यक खर्चको अभावमा उपचारमा समस्या भइरहेको छ,’, उनले भनिन् । क्यान्सर अस्पतालका डाक्टरले भारतीय क्यान्सर रोगका विज्ञ डाक्टरसँग सम्पर्क गराइदिने आश्वासन दिएकाले छिट्टै निको हुने आशा पलाएको उनले सुनाइन् । दुवै ब्रेस्टमा ६/६ वटा किमो दिइसकेको उनको उपचारका लागि अझै कति खर्च लाग्ने यकिन नभएको उनले बताइन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?