१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हेटौंडामा रगत अभाव, १० युनिटभन्दा कम संकलन

मकवानपुर — हेटौंडामा रगतको अभाव भएको छ । हेटौंडास्थित रक्तसञ्चार केन्द्रका अनुसार हाल दैनिक करिब २० युनिट रगतको माग भइरहेकोमा आवश्यक रगतको उपलब्धता नहुँदा समस्या भइरहेको छ ।

‘अहिले हामीले मागअनुसारको रगत बिरामीलाई उपलब्ध गराउन सकेका छैनौं । हामीले हाम्रो सम्पर्कमा रहेका नियमित अर्थात् इमर्जेन्सी रक्तदाताबाट आवश्यक रगत संकलन गरिरहेका छौं,’ केन्द्र हेटौंडाका इन्चार्ज टंक दाहालले भने । उनका अनुसार हाल दैनिक दस युनिट रगत संकलनसमेत हुन सकेको छैन ।


असार र साउन महिना विपदको समय भएकाले रगतको माग अझै बढी हुने गरेको छ । ‘इमर्जेन्सी रक्तदातालाई हामीले फोन गरेर आवश्यकताअनुसार बोलाउने गरेका छौं,’ उनले भने । उनका अनुसार हेटौंडामा इमर्जेन्सी रक्तदाताका ८० जना रहेका छन् । हेटौंडामा दैनिक सात युनिट र चितवनमा उपचार गर्ने मकवानपुर जिल्लाका बिरामीलाई करिब १५ युनिट रगतको माग हुने गरेको उनले जानकारी दिए । ‘मकवानपुरबाट चितवन उपचारका लागि गएका बिरामीलाई समेत हामीले रगत उपलब्ध गराउँदै आएका छौं । तर, हाल रगतको अभाव भएपछि हामीले उपलब्ध गराउन सकेका छैनौं,’ उनले भने ।


उनका अनुसार रगतको चरम अभाव भएसँगै हेटौंडामा क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संगठनलाई रक्तदान कार्यक्रम आयोजना गर्न केन्द्रले आग्रह गरेको छ । ‘हाम्रो आग्रहअनुसार असार महिनामा दुईवटा रक्तदान कार्यक्रम भयो । जसले हामीलाई केही सहयोग पुग्यो । अन्य संघसंस्थालाई समेत भनेका छौं । सायद सबैले रक्तदान कार्यक्रम आयोजना गरिदिएको खण्डमा रगतको अभाव पूर्ति हुन्छ ।’


उनका अनुसार असार र साउन महिनामा संघसंस्था तथा कर्मचारीहरू आ–आफ्ना काममा व्यस्त हुने भएका कारण सधैं यो समयमा रगतको अभाव हुने गरेको भए पनि यसपटक धेरै नै अभाव भएको बताए । ‘गत वर्षको तुलनामा यस वर्ष विपद्को मौसममा रगतको ज्यादै अभाव देखियो,’ उनले थपे ।


उनका अनुसार केन्द्रले रगतको उपलब्ध गराएबापत् आठ सय ५० रुपैयाँ सेवा शुल्क लिने गरेको छ । ‘हामीले रगत संकलन गरेपछि सम्पूर्ण रोगको परीक्षण गर्नुपर्ने हुन्छ । जसले गर्दा सेवाशुल्क लिन बाध्य भएका हौं ।’ उनले रगतको सम्पूर्ण परीक्षण गर्ने व्यवस्था राज्य तहबाट भएको खण्डमा निःशुल्क आवश्यकताअनुसार उपलब्ध गराउन सकिने बताए ।


२०७५/०७६ मा मकवानपुर जिल्लामा २ हजार ७ सय ३९ युनिट रगत संकलन भएकोमा २ हजार ३९ माग रहेको थियो । गत आवमा ७३ वटा संस्थाले रक्तदान गरेको दाहालले जानकारी दिए । ‘रक्तदान गर्नेको संख्यासँगै माग पनि बढिरहेको छ,’ उनले भने । उनका अनुसार आव ०७४/७५ मा कुल २ हजार ४ सय युनिट रगत संकलन भएको थियो ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?