कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

५ अर्ब ११ करोड खर्च भएन

नगेन्द्र अधिकारी

काभ्रे — ढिलो अख्तियारी आएका कारण जिल्लामा करोडौं विकास बजेट खर्च हुन नसकेर फ्रिज भएको छ । आर्थिक बर्षको अन्तिमतिर कार्यक्रम र बजेटसहितको अख्तियारी आएपछि कार्यान्वयन हुन नसकेको हो । 

कोष तथा लेखा नियन्त्रण कार्यालय काभ्रेका अनुसार संघ तथा प्रदेश सरकारको चालु र पुँजीगत र स्थानीय सरकारको चालु खर्चमध्येबाट ५ अर्ब १० करोड ९२ लाख ६६ हजार ४ सय ९९ रुपैयाँ खर्च हुन नसकेको हो । संघअन्तर्गतका कार्यालयको १ अर्ब २० करोड २५ लाख २५ हजार ६ सय २२ पुँजीगत र प्रदेशअन्तर्गतका कार्यालयको ९६ करोड ६३ लाख ६८ हजार २ सय २८ पुँजीगत बजेट खर्च भएको छैन ।


संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएका १० योजनामध्ये ७ करोडका ५ योजनामा ठेक्का नै आह्वान भएन । मंसिर ३ मै अख्तियारी आएको भकुन्डेबेंसी–खरदारपाटी–कानुपर–तेमाल–याङबेल–मेच्छे सडक, दोलालघाट–चौरी–गुराँसे सडक, तीनपिप्ले–बोहोरे दोभान सडक, लाँकुरीभन्ज्याङ–पनौती–नमोबुद्ध–दाप्चा सडक र भक्तपुरको तेलकोट–पञ्चमहालक्ष्मी मन्दिर–छालिङ–साँखु सडकको फाइल आर्थिक वर्षको अन्त्यतिर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय काभ्रेमा आएकाले ठेक्का लगाउन नसकिएको कार्यालयले जनाएको छ ।


प्रदेशको सडक तथा पूर्वाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत ५ करोड बजेट विनियोजन भएको लाँकुरीभन्ज्याङ्ग–पनौती–नमोबुद्ध–दाप्चा सडकमा ठेक्का नै आह्वान भएन । सोही कार्यक्रमअन्तर्गत सूर्यविनायक(१,३ र ४ अन्तर्गत पर्ने दक्षिणबाराही मन्दिरदेखि सुरु गरी काठमाडौं स्कुल अफ ल, बालकोट पानीट्यांकी सलम्पाखा हुँदै सिरुटारसम्म बाटो स्तरोन्नति, ग्राभेलिङ र कालोपत्रे गर्नका लागि विनियोजन भएको ५ करोड रकममध्येबाट १ करोडभन्दा बढी रकम फ्रिज भएको छ । ०७६ वैशाख ८ मा आएको सम्भावित प्रादेशिक सडकका ९ योजनामध्ये ३ ठेक्का र ६ उपभोक्ता समितिमार्फत काम भए पनि कुनै पनि पूरा भएका छैनन् ।


संघीय सरकारले वैशाख ३० गते अख्तियारी पठाएको सडक र पुल निर्माण काभ्रेतर्फका १० योजनामध्ये ७ वटाको रकम फ्रिज भएको छ । २ योजना सम्पन्न भएका छन् भने एक योजनाको आधा मात्रै काम भएको पूर्वाधार विकास कार्यलय काभ्रेका सबइन्जिनियर वासुदेव दाहालले जानकारी दिए ।


सांसदका योजनाको प्रगति कमजोर

आर्थिक वर्षको अन्त्यमा संसद् छलेर ‘चोर बाटो’ बाट प्रदेशसभा सदस्यहरूलाई बाँडिएको विकास बजेटको प्रगति कमजोर देखिएको छ । २१ योजनाको १० करोड ४९ लाख ९१ हजारमध्ये २ करोड ७९ लाख २० हजार करोड फ्रिज भएको छ । वैशाख १० र जेठ ७ गते गरी दुई पटकमा अख्तियारी आएका ती सडकको प्रगति निराशाजनक छ । पूर्वाधार विकास कार्यालयअनुसार कुनै योजनामा १५ प्रतिशत काम मात्र भएको छ ।


कार्यालयका अनुसार, भक्तपुरको चाँगुनारायण नगरपालिका ८ स्थित भन्ज्याङ्ग गणेशस्थान सडक कालोपत्रको काम १५ प्रतिशत मात्रै पूरा भएको छ । पाँचखाल सिमाना–मसरखोला–भीडाबारी–देउराली–चरुवा हुँदै बीपी राजमार्ग जोड्ने सडकको भौतिक प्रगति २५ प्रतिशत मात्रै छ । काम हुन नसकेकाले ४९ लाख ९९ हजारमध्ये १२ लाख मात्रै भुक्तानी भएको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?