गाउँ जोड्ने ५५ सडक अबरुद्ध

‘ग्रामिण भेगका कच्ची सडक बर्खासँगै बन्द हुन थालेका छन् ,कतैभने मर्मतसम्भारपछि संञ्चालनमा ल्याएको छ’
अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षातले जिल्लाभरका ग्रामीण भेगका सडक भास्सिएर बन्द हुन थालेका छन् । जिल्ला समन्वय समितिका अनुसार सदरमुकामबाट विभिन्न गाउँ जोड्ने ५५ वटा सडकमा धेरै बर्खालगत्तै अवरुद्ध हुने अवस्थामा पुगेका छन् ।

गाउँ जोड्ने ५५ सडक अबरुद्ध

जिल्लाभरमा २५ सय किलोमिटर ग्रामीण सडकमा पाँच सय किलोमिटर ग्राभेल र अन्य प्रमुख सडकमा दुई सय किलोमिटर कालोपत्रे गरिएको छ ।


‘ग्रामीण भेगका कच्ची सडक बर्खासँगै बन्द हुन थालेका छन्, कतै भने मर्मतसम्भारपछि सञ्चालनमा ल्याएको छ,’ चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्र झाले भने । नयाँ खुलेका सडक र अरनिको राजमार्ग, लामोसाँघु चरिकोट सडक खण्डको केही भागमा पहिरोले हिलाम्मे बनाएको उनले सुनाए । ‘यात्रुलाई सास्ती नहोस् भनेर सवारीसाधन आउजाउ गर्नका लागि जहिले पनि अवरोध हटाउने तयारी गरिरहेका छौं,’ उनले भने ।


जिल्लाका उत्तर पूर्वी भेगका सबै ग्रामीण सडकखण्ड बर्खा सुरु भएसँगै बन्द हुँदै गएका छन् । भोटेकोसी गाउँपालिको मार्मिङ, तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टीका गाउँमा पुग्ने सबै सडक वर्षासँगै पहिरोले पुरिएका छन् । भूकम्पले छियाछिया बनाएकाले सीमावर्ती गाउँका सडकमा पैदल यात्रासमेत जोखिमपूर्ण बनेको छ ।


बाह्रबिसे–तातोपानी २६ किलोमटिरको दूरीमा दसकिलो, सिरिसे, जम्बु, झिर्पू, डाकालाङ, कोदारीजस्ता स्थानमा वर्षासँगै पुराना पहिरो फेरि खस्न थालेका छन् । अरनिको राजमार्गकै जुरे, बलेफीमा अझै सुक्खा पहिरो रोकिएको छैन । ‘यातायात त टाढाको कुरा ,पैदल यात्रासमेत सम्भव छैन, सबैतिर समस्यैसमस्या हुन्छ,’ सुनकोसी गाउँपालिका टिमुरेगाउँका पदम तामाङले भने । बर्खा

लागेपछि यहाँका गाउँका सबै सडक सुक्खा पहिरोले बन्द हुने गरेको सुनाउँदै उनले बर्सेनि लाखौं खर्चेर मर्मत गरिए पनि प्रभावकारी हुन नसकेको दुःखेसो गरे ।


‘गर्मीमा धुलाम्मे, बर्खामा हिलाम्मे हुन्छ, सास्ती भोग्नुपर्ने हामी गाउँलेले नै हो,’ उनले भने । चिनियाँ कम्पनी सीआरसीसीले पुनर्निर्माण गरेको कोदारी राजमार्गको बसेरी लिपिङ खण्ड क्रमशः बर्खे वर्षातसँगै क्षतिग्रस्त हुँदै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर ,चोकटी, घोर्थली पुग्ने सडक वर्षाले भास्सिएर बन्द हुन थालेका छन् ।


बाह्रबिसे नगरपालिकाअन्तर्गतका गाती, घुम्थाङ, कर्थली, राम्चेदेखि इन्द्रावती गाउँपालिकाको माझीगाउँ जोड्ने ग्रामीण सडक हिलो, पहिरोले अवरुद्ध बनाएको छ । यसैगरी भूकम्पबाट हिमाली गाउँका गोरेटो लथालिंग भएकाले आवतजावतमै समस्या पाइएको छ ।

मध्य र पश्चिम भेगका लेकाली बस्ती पुग्ने कच्ची सडकका गोरेटो भास्सिएर क्षतविक्षत भएका छन् । मध्यभेगका लोल्चे, गुम्बा, सेलाङ, पाङताङका लेकाली बस्तीका बासिन्दा मारमा परेका छन् । जुगल गाउँपालिकाको सेलाङबाट गोल्च जाने गोरेटो बिग्रिएपछि बोल्दे, सिमपानीजस्ता धेरै बस्तीमा आउनजानसमेत समस्या भएको छ ।


भोटेकोसी गाउँपालिकाको मार्मिङ ह्याङ्लेका स्थानीय बाटो छ्यादीको बाढीले बगाएपछि समस्यामा परेका छन् ।


छोटो सडकमार्ग सुचारु

मकवानपुर– अविरल वर्षाका कारण सातायता अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने दुवै छोटो मार्ग सुचारु भएका छन् । हेटौंडा–सिस्नेरी–काठमाडौं र हेटौंडा–फाखेल–काठमाडौं दुवै सडक खण्ड आइतबारदेखि सुचारु भएको हो । विभिन्न खण्डमा गएको पहिरो पन्छाएसँगै दुवै मार्ग सञ्चालनमा आएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार तत्काल कान्ति लोकपथ भने सुचारु हुन समस्या छ । ‘कान्तिलोक पथका विभिन्न स्थामा ठूलाठूला ढुंगासहितको पहिरो खसेको छ । जसको कारण तत्काल खुल्ने अवस्था देखिँदैन,’ उनले भने । उनका अनुसार उक्त सडक निर्माणकै क्रममा रहेको र डाँडाहरू कटिङ भएका कारण धेरै ठाउँमा पहिरो गएको हो । कान्ति लोकपथ असारको दोस्रो सातायता अवरुद्ध छ । यसैगरी पहिरो पन्छाउने क्रममा इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेको महुरीभीरमा पुरिएको स्काभेटर निकालिएको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?