कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खगेरी नहरमा पानीको खडेरी

दुई मिटर पानी हुनुपर्ने नहरमा अहिले जम्मा ३० सेन्टिमिटर मात्रै पानी छ
रमेशकुमार पौडेल

चितवन — तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले विसं. २०१६ मा शिलान्यास गरेको खगेरी नहरमा मध्य बर्खामा समेत पानीको खडेरी हुन थालेको छ । दुई मिटर पानी हुनुपर्ने नहरमा अहिले जम्मा ३० सेन्टिमिटर मात्रै पानी छ । पश्चिम चितवनको ६ हजार बिघा खेतलाई सिँचाइ गर्ने नहरमा पानी नहुँदा रोपाइँ नै प्रभावित भएको छ । 

खगेरी नहरमा पानीको खडेरी

‘घोलहरूमा कहीँ कतै यस्सो खेत रोपियो होला नभए नहरमा पानी नहुँदा ६ हजार बिघामा यो पटक रोपाइँ नै सुरु हुन सकेको छैन । खेतमा पानी पुर्‍याउनै सकिँदैन,’ खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङले भने । पूर्वी चितवनको खगेरी खोलालाई रत्ननगर ९ टिकौली कपरखोरी नजिक बाँध बाँधेर नहर लगिएको छ ।


यो नहरले भरतपुर महानगरपालिकाभित्र पर्ने पश्चिम चितवनको गीतानगर, पटिहानी, जगतपुर, पार्वतीपुर, मंगलपुर, शारदानगर, गुञ्जनगर र शारदानगरसम्म सिँचाइ हुन्छ । समितिका अध्यक्ष गुरुङका अनुसार नहर २४ सालदेखि सञ्चालनमा छ । पानीको संकट यो वर्षभन्दा अघि कहिल्यै भएको थिएन ।


‘तीन चार वर्षयता लगातार पानी घटदै आएको हो । तर यो वर्ष त अचाक्लि नै भयो,’ बाँधस्थलमा कार्यरत खगेरी नहरको गेट अप्रेटर नारायणबहादुर गुरुङले भने । उनी १५ वर्षदेखि कार्यरत छन् । उनका अनुसार हिउँदमा एकदम सुक्खा हुँदा पनि नहरमा २० सेन्टिमिटर पानी हुन्थ्यो । अहिले मध्यबर्खामा जम्मा ३० सेन्टिमिटर पानी हुनु भनेको शून्य बराबरजस्तै भएको उनले बताए ।


‘पहिला पहिलाको कुरा गर्न्हुन्छ भने, त हिउँदमै १५० सेन्टिमिटर पानी हुने नहर हो यो । साउन लागेपछि दुई सय मिटर पुग्थ्यो । अनि रोपाइँ मज्जाले चालु हुन्थ्यो,’ गेट अप्रेटर गुरुङले भने । विगतमा नहरमा भदौको तेस्रो सातासम्म दुई मिटरभन्दा कम पानी नहुने उनले बताए । यस्तै अवस्था रहे आउँदो वर्ष नहर नै सुक्ने हो कि भन्ने चिन्ता उनलाई छ ।


खगेरी नहर प्रणाली नेपालकै सबैभन्दा सजिलो र सफल प्रणाली भएको समिति अध्यक्ष गुरुङ बताउँछन् । ‘तर खगेरी खोलाको मुख्य जलाधार क्षेत्रमा लगातार भएको वन विनाशले नहरको अस्तित्व नै संकटमा पर्न थालेको छ,’ उनले भने । खगेरी खोलाको मूल स्रोत काली खोला, बुङखोला, थाङखोला हुन् । ती खोलाको सिरानमा लगातार जस्तो वन फँडानी भएको अध्यक्ष गुरुङले बताए ।


‘खगेरीको मुख्य जलाधार क्षेत्रभित्रै पर्ने सगुनटोलको घना जंगल फाँडेर निकुञ्जको बस्ती पदमपुर स्थानान्तरण गरिएपछि पानीको संकट पर्न थालेको हो,’ उनले भने । पानीको स्रोत र मुहान संरक्षणमा चाँडै ध्यान नदिए साढे २२ किलो मिटर लम्बाइको नहरमा पानी नै नहुने दिन आउन धेरै वर्ष कुर्न नपर्ने निरास हुँदै उनी बताउँछन् । खगेरी नहरले सिँचाइ मात्रै गर्दैन । यसैको आडमा प्रसिद्ध बीस हजारी ताल पनि छ ।


सरकारी निकाय कृषि ज्ञान केन्द्र डिभिजन कार्यालय भरतपुरका प्रवक्ता माधव पौडेलका अनुसार चितवनमा अन्यत्र लगभग रोपाइँ सकिएको छ । तर भरतपुर महानगरपालिका क्षेत्रभित्र ४० प्रतिशतको हाराहारीमा मात्रै रोपाइ भएको छ । महानगरमा १३ हजार हेक्टरको हाराहारीमा धान खेती हुन्छ । खगेरी र नारायणी लिफ्ट यहाँका मुख्य सिँचाइ प्रणाली हुन् ।


खगेरीले मात्रै झन्डै एक तिहाइमा सिँचाइ हुन्छ । ‘खगेरी नहर चलेको छैन । नारायणी लिफ्ट चले पनि नहर प्रणालीभन्दा बाहिरका खेतहरूमा आकाशेपानीले खेती हुन्छ । पानी यो वर्ष कम परेको छ । यी यावत् कारणहरूले गर्दा भरतपुरभित्र धान रोपाइँ निकै कम छ,’ केन्द्रका प्रवक्ता पौडेलले भने ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?