कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सरकारी अनुदानबिना ठडिँदै एकीकृत बस्ती

धुर्मुस–सुन्तलीको अगुवाइमा मेलम्चीको गिरानचौरमा, श्वेता खड्काले चौतारा साँगाचोकगढीको झ्याडी टोलमा र एसओएस बालग्रामको सहयोगमा इन्द्रावती १२ भीमटारमा सामूहिक आवास बनिसकेका छन् 
अनिश तिवारी

सिन्धुपाल्चोक — ‘एक गाउँपालिकामा एउटा एकीकृत बस्ती’ नीति लिएको सरकारले अनुदान छुट्याए पनि सरकारी सहयोगबिना बस्ती ठडिँदै छन् । सरकारी प्रक्रिया झन्झटिलो भएपछि जिल्लाभर अनुदान नलिईकन धमाधम एकीकृत बस्ती बन्न थालेका हुन् । 

सरकारी अनुदानबिना ठडिँदै एकीकृत बस्ती

जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन) को अध्ययन तथ्यांकअनुसार जिल्लाभर विभिन्न संस्कृति, समुदाय समेटेर झन्डै २५ एकीकृत बस्ती बनेका छन् । ‘निर्माणाधीन बस्तीमध्ये दुई बस्तीले मात्रै सरकारी अनुदान लिएर बनाइरहेका छन्,’ कार्यान्वयन इकाइका प्रमुख सन्तोस निरौलाले भने, ‘प्रक्रियामा आएर सरकारी अनुदान लिन सूचना दिइसकेका छौँ ।’ सरकारी अनुदानको मापदण्डअनुरूप ग्रामीण क्षेत्रमा ४ लाख, हिमाली भेगमा ५ लाख र सहरी भूभागमा भए एक घरबराबर ३ लाख पूर्वाधारको रकम पाउने उनले सुनाए ।


केही बनिसकेका र धेरै बन्दै गरेका एकीकृत बस्तीमा अनिवार्य भूकम्पप्रतिरोधी र न्यूनतम १० घर हुनुपर्ने मापदण्ड राखिएको छ । मेलम्ची नगरमा बनिरहेका जरायोटार र हेलम्बु तेम्बाथानको हृयोल्मो एकीकृत बस्तीमा मात्रै सरकारी अनुदान प्रयोग भएको छ । ‘सरकारी प्रक्रियामा लामो समयपछि आउने पूर्वाधार अनुदानले एकीकृत बस्ती निर्माणमा असहज देखियो,’ ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने । विस्थापित परिवारका लागि सेलाङ, हेलम्बु र बाह्रबिसेमा एकीकृत बस्ती ठड्याइसकेको उनले बताए ।


सरकारी मापदण्डमा व्यक्तिगत कित्ताकाँटजस्ता अनेक समस्या भएको एकीकृत बस्तीका अभियन्ता बताउँछन् । ‘त्यसैका कारणले सबै आफ्नै हिसाबमा बस्ती निर्माणमा जुट्नका लागि बाध्य भए, हामीले ऋणमा बनायौँ,’ माझी एकीकृत बस्तीका अभियन्ता यज्ञराज कार्कीले भने ।


उनले बल्ल सरकारी प्रक्रिया सकेर एकीकृत आवास अनुदान रकम ल्याउने तयारीमा लागेको प्रस्ट्याए । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा मेलम्चीको गिरानचौरमा ६५ परिवारले सुविधासम्पन्न घर र एउटा सामुदायिक भवनसहित ६६ भवन पाए ।


त्यसपछि क्रमशः जिल्लाभर एकीकृत बस्तीको लहर नै चल्यो । एसओएस बालग्रामको सहयोगमा १ सय ७७ परिवारका लागि इन्द्रावती– १२ भीमटारमा बनेको एकीकृत बस्ती पनि राष्ट्रपति भण्डारीले हस्तान्तरण गरिन् । अहिले एकीकृत बस्तीको लहर अभिनेत्री श्वेता खड्कादेखि गैरसरकारी संस्थासम्म पुगेको छ ।


खड्काले चौतारा साँगाचोकगढीको झ्याडी टोलमा माझी एकीकृत बस्ती उभ्याइन् । विभिन्न एकीकृत बस्तीसहित गैरसरकारी संस्थाको सहयोगमा झन्डै ५ हजार भूकम्पपीडितको घर बनिसकेको कार्यान्वयन एकाईले जनाएको छ । जसमा झन्डै ८८ हजार ९ सय भूकम्पपीडितमध्ये ७० हजारले आवास बनाइसकेका छन् ।


भूकम्पपीडितको गुनासो

हास्य कलाकार धुर्मुस–सुन्तलीको अगुवाइमा मेलम्चीको गिरानचौरमा बनेको एकीकृत बस्ती होस् या अभिनेत्री श्वेता खड्का, गैरसरकारी संस्थाले बनाएको बस्ती । जिल्लाभरका दुई दर्जनभन्दा बढी चिटिक्क देखिने एकीकृत बस्तीप्रति स्थानीयको गुनासो बढ्दै गएको छ । ‘बस्तीका घर सानो, परिवार र कृषिमैत्री नभएको गुनासो पाइएको छ,’ कार्यान्वयन एकाईका सुजन केसीले भने ।

प्रकाशित : श्रावण ९, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?