कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाभग्राही १३८% कायम

कान्तिपुर संवाददाता

काभ्रे — राष्ट्रिय जनगणना ०६८ को घरधुरी संख्याको १३८ प्रतिशतसम्म भूकम्पपीडित लाभग्राही कायम भएका छन् । अन्यत्र घर भएका, एकै परिवारका धेरै जना र सामान्य क्षतिका भएकोले पनि फर्जी विवरण पेस गरेका कारण शतप्रतिशतभन्दा बढी घरधुरीमा क्षति भएको विवरण आएको हो ।

०६८ को जनगणनाअनुसार, काभ्रेको घरधुरी संख्या ८० हजार ७ सय २० थियो । विभिन्न चरणमा काभ्रेमा ९८ हजार १९ घरधुरी सर्वेक्षण भएकोमा गुनासो फर्स्योट र प्रबलीकरणसमेत गरी ८३ हजार ३ सय ६५ लाभग्राही कायम भएका छन् ।


चौरीदेउराली गाउँपालिकामा सबैभन्दा धेरै १ सय ३८ प्रतिशत घरधुरी लाभग्राही कायम भएका छन् । ०६८ मा ४ हजार ६ सय ६४ घरधुरी रहेको चौरीदेउरालीमा ६ हजार ४ सय १७ लाभग्राही कायम भएका छन् । ‘०६८ सालको जनगणनामा भएका घरधुरीभन्दा पनि धेरै लाभग्राही कायम भए,’ अुनदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार हेर्ने जिल्ला आयोजना कार्यान्वयन एकाईका सूचना व्यवस्थापनविज्ञ मिलन श्रेष्ठले भने, ‘४ वर्षको अवधिमा केही प्रतिशत घरधुरी बढेको त हुन सक्छ तर अनुदान लिनकै लागि अस्वाभाविक नै वृद्धि भएको देखिन्छ ।’


मण्डनदेउपुरमा १२६ प्रतिशत घरधुरी लाभग्राही कायम भएका छन् । २०६८ सालको जनजणना अनुसार ७ हजार ३ सय २८ घरधुरी रहेको मण्डनदेउपुर नगरपालिकाका साविक गाविसहरूमा अहिले ९ हजार २ सय ३७ लाभग्राही छन् । जिल्ला आयोजना कार्यान्वयन एकाईका अनुसार, भुम्लुमा १२१ प्रतिशत, बेथानचोकमा १२२, खानीखोलामा १ सय २१, पाँचखालमा ११७, नमोबुद्धमा ११६, रोशीमा १०९ र महाभारतमा १०२ प्रतिशत घरधुरी लाभग्राही कायम भएका छन् ।


भुम्लुमा १०७७, बेथानचोकमा ७७६, खानीखोलामा ४९२, पाँचखालमा १ हजार ४ सय १६, नमोबुद्धमा १ हजार ७५ प्रतिशत र रोशीमा ५३७ घरधुरी वृृद्धि भएका छन् । तेमालमा २०६८ सालको जनगणनाको ९९ प्रतिशत, पनौतीमा ९१ प्रतिशत, धुलिखेलमा ८५ प्रतिशत र बनेपामा ५९ प्रतिशत घरधुरी भूकम्पपीडित आवास अनुदान लाभग्राही कायम भएका छन् ।


५३ सयको अझै गुनासो

३ पटकको गुनासो फर्स्योटबाट १५ हजार ६ सय ३२ भूकम्पपीडित लाभग्राहीको सूचीमा समावेश गरे पनि अझै ५ हजार ३ सय ८६ जनाले गुनासो गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार १५ गतेसम्मको म्याद दिएर सबै वडामा इन्जिनियर खटाएर गुनासो संकलन गरेको थियो ।


जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका अनुसार, मण्डनदेउपुरमा ९७४, पनौतीमा ८५७, रोशीमा ७०३, नमोबुद्धमा ४८६, धुलिखेलमा ४५५, पाँचखालमा ४३२, चौरीदेउरालीमा ३५९, महाभारतमा २७४, बेथानचोकमा २५५, खानीखोलामा २०६, भुम्लुमा १८२, बनेपामा १४४ र तेमालमा ५९ जनाले लाभग्राही सूचीमा नपरेको भन्दै गुनासो गरेका छन् ।


एउटै प्रकृतिको क्षति भएका घर लाभग्राही सूचीमा परेको, फर्जी पीडितको पनि सरकारले पैसा फिर्ता नगराएको कारण गुनासो भर्नेको संख्या बढेको हो । फर्जी पीडितले गुनासो भरे पनि वास्तविक पीडित भने लाभग्राही सूचीमा छुटेको छुट्यै छन् ।

प्रकाशित : श्रावण १२, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?